एआई चिप बूमः १० खर्ब डलर क्लबमा छिरे एसके हाइनिक्स र माइक्रोन
सारांश
- एआई डेटा सेन्टरको विस्तारले सेमिकन्डक्टर उद्योगमा उछाल आएको छ, जसले एसके हाइनिक्स र माइक्रोनलाई १० खर्ब डलर बजार पुँजीकरण क्लबमा पुर्याएको छ ।
- एसके हाइनिक्सको शेयर मूल्य यस वर्ष तीन गुणाभन्दा बढीले बढेको छ भने माइक्रोनको शेयर मूल्यमा पनि तीव्र वृद्धि आएको छ ।
- सामसङ इलेक्ट्रोनिक्स पनि मे महिनामा १० खर्ब डलर क्लबमा प्रवेश गरेको थियो, जसले एआई चिप निर्माणमा ठूलो भूमिका खेलेको छ ।
सोल । कृत्रिम बौद्धिकता (एआई) डेटा सेन्टरहरूको तीव्र विस्तारसँगै सेमिकन्डक्टर उद्योगमा ठुलो उछाल आएको छ । चिपको मागमा भइरहेको वृद्धिसँगै चिप निर्माता कम्पनीहरू एसके हाइनिक्स र माइक्रोन पहिलो पटक १० खर्ब डलर बजार पुँजीकरण भएका कम्पनीको सूचिमा पुगेका छन् ।
बुधबार दक्षिण कोरियाली कम्पनी एसके हाइनिक्सको शेयर मूल्य १० प्रतिशतले बढ्यो । यस वर्षको सुरुवातदेखि कम्पनीको सेयर मूल्य तीन गुणाभन्दा बढीले बढिसकेको छ । एसके हाइनिक्स एआई चिप निर्माणमा अग्रणी एनभिडियाको महत्त्वपूर्ण आपूर्तिकर्ता हो । अमेरिकी मेमोरी चिप निर्माता माइक्रोन टेक्नोलोजिजको शेयर मंगलबार करिब २० प्रतिशतले बढेको थियो । लगानी बैंक यूबीएसले कम्पनीको शेयर मूल्यको लक्ष्य तीन गुणाले बढाएपछि माइक्रोनको शेयरमा तीव्र वृद्धि आएको थियो ।
योसँगै यी दुवै कम्पनी अब १० खर्ब डलर बजार पुँजीकरण भएका अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरू अमेजन, एप्पल, माइक्रोसफ्ट, अल्फाबेट र मेटालगायत कम्पनीहरूको सूचिमा पुगेका छन् । एआई उपकरण सञ्चालन गर्न चाहिने उच्च क्षमताका चिपहरूको विश्वव्यापी माग तीव्र रूपमा बढेकाले यस क्षेत्रसँग सम्बन्धित कम्पनीहरूको सेयर मूल्यमा पछिल्लो समय उछाल आइरहेको छ । पछिल्ला वर्षहरूमा माग अत्यधिक बढेपछि मेमोरी चिपको विश्वव्यापी अभावसमेत सिर्जना भएको छ ।
यसअघि मे महिनामा दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्स पनि १० खर्ब डलर क्लबमा प्रवेश गरेको थियो । ताइवानी चिप निर्माता टीएसएमसीपछि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो एशियाली कम्पनी सामसङ बनेको हो । सेमिकन्डक्टर उत्पादनमा सामसङ ठुलो कम्पनी हो र यसको ग्राहकमा एनभिडिया पनि पर्छ ।
सामसङका कर्मचारी युनियनले पारिश्रमिक सम्झौताको पक्षमा मतदान गरेपछि सम्भावित हडताल टरेको छ, जसका कारण बुधबार कम्पनीको सेयर ६ प्रतिशतभन्दा बढीले बढ्यो । यतिबेला सामसङको बजार मूल्य करिब झन्डै १३ खर्ब ४० अर्ब डलर छ । यसैबिच दक्षिण कोरियाको प्रमुख शेयर परिसूचक कोस्पीले पनि नयाँ कीर्तिमानी उच्च स्तर छोएको छ ।
एआई क्षेत्रमा भएको तीव्र लगानीबाट सबैभन्दा ठुलो फाइदा एनभिडियालाई भएको मानिएका छ । कम्पनी अक्टोबरमा ५० खर्ब डलर बजार पूँजीकरणमा पुग्ने विश्वकै पहिलो कम्पनी बनेको थियो । यद्यपि केही लगानीकर्ताले एआई क्षेत्रको शेयरमा बबल अर्थात् मूल्य वृद्धिको फोका बन्न सक्ने चेतावनी दिएका छन । एआईसँग सम्बन्धित कम्पनीहरूको मूल्य वास्तविक क्षमताभन्दा अत्यधिक बढेको हुन सक्ने चिन्ता उनीहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण