बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘म्यान अफ द वर्ल्ड २०२६’ नेपालको प्रतिनिधित्व गर्न प्रकाश उडे फिलिपिन्स

बुधबार, १३ जेठ २०८३, १२ : ३७
बुधबार, १३ जेठ २०८३

सारांश

  • ‘म्यान अफ द वर्ल्ड २०२५’ विजेता प्रकाश चौहान ‘म्यान अफ द वर्ल्ड २०२६’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न फिलिपिन्स प्रस्थान गरेका छन् ।
  • यो अन्तर्राष्ट्रिय प्रतियोगिता जुन २८ देखि जुलाई ६ सम्म फिलिपिन्समा आयोजना हुनेछ, जसमा ३५ भन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन् ।
  • चौहानले नेपालको कला, संस्कृति, पर्यटन र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्य लिएर प्रतियोगितामा सहभागी हुने बताएका छन् ।

काठमाडौँ । ‘म्यान अफ द वर्ल्ड नेपाल २०२५’ विजेता प्रकाश चौहान प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्न बुधबार फिलिपिन्स प्रस्थान गरेका छन् । प्रतियोगिता जुन २८ देखि जुलाई ६ सम्म फिलिपिन्समा आयोजना हुँदैछ, जहाँ विश्वका ३५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन् । यस प्रतियोगितामा चौहान नेपालका एकमात्र प्रतिनिधि हुन् ।

चौहानले ‘मिस्टर नेपाल २०२५’ अन्तर्गत प्रदान गरिने तीन प्रमुख उपाधिमध्ये ‘म्यान अफ द वर्ल्ड नेपाल २०२५’ उपाधि जित्दै यो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका हुन् ।

उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस्टर नेपालका सीईओ तथा ‘म्यान अफ द वर्ल्ड’ नेपालका नेशनल डाइरेक्टर रवि धमला, ‘मिस्टर नेपाल वर्ल्ड २०२५’ हिमाञ्चल राज केसी, ‘मिस्टर ग्लोबल नेपाल २०२५’ गिरीश रत्न शाक्य, सन्तोष लोक्षुम, आयुष दुलाललगायतका व्यक्तित्वहरूले विजयी शुभकामना सहित बिदाइ गरेका थिए ।

फिलिपिन्स प्रस्थानअघि चौहानले आफू प्रतियोगितामा सहभागी हुन मात्र नभई नेपालको कला, संस्कृति, पर्यटन तथा पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्य लिएर जाने बताए । उनले भने, ‘यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, विभिन्न देशका प्रतिनिधिहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पनि हो । म नेपालको हिमाल, भगवान बुद्धको जन्मभूमि तथा नेपाली संस्कृतिबारे विश्वसामु परिचित गराउँदै नेपाल भ्रमणका लागि आमन्त्रण गर्नेछु ।’

प्रस्थानअघि सामाजिक सञ्जालमार्फत केही तस्बिर सार्वजनिक गर्दै चौहानले लेखेका छन्, ‘नेपाल विश्व मञ्चमा चम्किन तयार छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप