शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
कोशी प्रदेश सभामा लफडाः

रोस्ट्रम कब्जा गर्न पुगेका राजेन्द्र राई भन्छन्– हनुमानजस्तो भए सबै तोडफोड गरिदिन्थेँ

बुधबार, १३ जेठ २०८३, १५ : ५१
बुधबार, १३ जेठ २०८३

सारांश

  • कोशी प्रदेश सभाको बैठकमा विपक्षी दलका सांसद राजेन्द्र राईले रोष्ट्रममा पुगेर माइक तान्ने र फाल्ने प्रयास गरे ।
  • सभामुखले नीति तथा कार्यक्रम बहुमतले पास भएको घोषणा गरेकोमा नेकपाले आपत्ति जनाएको छ ।
  • सांसद राईले आफू रोष्ट्रममा बोल्नका लागि गएको तर प्रहरीले रोकेको बताए ।

विराटनगर । कोशी प्रदेश सभाको बुधबारको बैठक तनावमय बन्यो । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विपक्षीहरूले आफ्नो असहमति र सभामुखको कार्यशैलीप्रति आक्रोश पोख्ने क्रममा पूर्वमुख्यमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद राजेन्द्र राईले रोस्ट्रममै पुगेर कब्जा गर्ने प्रयास गरे ।

विपक्षी दलहरूको अवरोधका बाबजुद सभामुख अम्बरबहादुर विष्टले बैठक अघि बढाउन खोजेपछि राईले रोस्ट्रममा चढेर माइक तान्ने र फाल्ने प्रयास गरेका थिए । सो घटनापछि रातोपाटीसँग कुरा गर्दै राईले आफ्नो आक्रोश थाम्न नसकेको र आफू ‘हनुमान’ जस्तो शक्तिशाली भएको भए सबै तोडफोड गरिदिने बताए ।

‘तपाईं रोष्ट्रममा किन जानु भएको हो ? तलैबाट विरोध गर्दा हुँदैनथ्यो ?’ भनी सोधेको प्रश्नमा राईले आफू रोष्ट्रममा बोल्नका लागि गएको बताए ।

‘होइन, रोष्ट्रममा माथि नै बोल्नु पर्‍यो, माथि नै गएर कुरा राख्ने, बोल्ने भनेर गएको, तर पुलिसले दिएन,’ उनले भने ।

मंगलबार पारित भएको नीति तथा कार्यक्रमको प्रक्रियाप्रति नेकपाको मुख्य आपत्ति छ । विपक्षीले विरोध गर्दागर्दै पनि सभामुखले सर्वसम्मत पारित भएको घोषणा गरेकोमा नेकपाले आपत्ति जनाएको हो ।

‘सभामुखले सर्वसम्मतले पास भएको होइन, बहुमतले पास भएको हो भनिदिनुपर्‍यो । धेरै ठुलो कुरा केही छैन । हामीले ७२ घण्टाको समय मागेको थियौँ, त्यसमा सम्झौता गरेर जाँदा पनि उहाँले सर्वसम्मत भन्नुभयो, जुन झुट हो,’ राईले भने, ‘हामीले त विपक्षमा मतदान गरेका थियौँ, संशोधन हाल्ने थियौँ । मुख्यमन्त्रीले बोलेको कुरामा फेरि बोल्न पाइन्थ्यो, तर त्यो ठाउँ दिइएन । सभामुखले नै बहुमतले पास भएको हो सर्वसम्मतिले होइन भनी घोषणा गरिदिनुपर्छ ।’

बुधबारको बैठकमा राजेन्द्र राईले रोस्ट्रममा पुगेपछि बैठक केही समयका लागि स्थगित गरिएको थियो । अहिले उक्त विषयमा सभामुखले सबै दलसँग परामर्श गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप