सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

समग्रमा पर्यटक बढ्दा थाइल्याण्डबाट आउने घटे

शनिबार, १६ जेठ २०८३, १५ : २३
शनिबार, १६ जेठ २०८३

सारांश

  • थाइल्याण्डस्थित नेपाली दूतावासले नेपालमा थाई पर्यटकको सङ्ख्यामा आएको कमीलाई सम्बोधन गर्न स्थानीय पर्यटन व्यवसायीहरूसँग छलफल गरेको छ ।
  • राजदूत धनबहादुर ओलीले नेपाल र थाइल्याण्डबीचको सम्बन्धलाई पर्यटनमार्फत बलियो बनाउन र नयाँ व्यावसायिक साझेदारीको सम्भावना पहिचान गर्न छलफल उपयोगी भएको बताए ।
  • सन् २०१३ मा ४०,९६९ पर्यटक थाईल्याण्डबाट नेपाल आएकामा सन् २०२५ मा यो सङ्ख्या घटेर ३०,२४३ पुगेको तथ्याङ्कले देखाएको छ ।

काठमाडौँ । थाइल्याण्डमा रहेको नेपाली दूतावासले नेपालमा थाई पर्यटकको सङ्ख्यामा आएको कमीलाई सम्बोधन गर्न र पर्यटन प्रवर्द्धनका लागि त्यहाँका स्थानीय पर्यटन व्यवसायीहरूसँग विशेष छलफल गरेको छ । 

गत शुक्रबार सम्पन्न भएको उक्त छलफल कार्यक्रममा नेपालको तर्फबाट विभिन्न १८ वटा र थाइल्याण्डको तर्फबाट ६३ वटा पर्यटनसम्बन्धी विभिन्न कम्पनी तथा संस्थाहरू सहभागी थिए ।

छलफलका क्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले दुवै देशका निजी क्षेत्रबिच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न, नयाँ साझेदारीको सम्भावना पहिचान गर्न तथा पर्यटन प्रवर्द्धनका लागि नयाँ ढोकाहरू खोल्न यो छलफलले महत्त्वपूर्ण भूमिका खेलेको बताए । नेपाल र थाइल्याण्डबlचको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा जनस्तरको गहिरो सम्बन्धलाई थप बलियो बनाउन पर्यटनले पुलको भूमिका खेलेको उनले उल्लेख गरे । 

राजदूत ओलीले थाई व्यवसायीहरूलाई नेपालका विविध पर्यटन गन्तव्य, बौद्ध तीर्थस्थल, हिमाली साहसिक पर्यटन, प्रकृति तथा सांस्कृतिक सम्पदाहरूको बारेमा विस्तृत जानकारी गराएका थिए । उनले नेपाल भ्रमणका विविध सम्भावनाहरू, विशेष गरी लुम्बिनी, जनकपुर, काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्र, सगरमाथा क्षेत्र, अन्नपूर्ण पदमार्ग, वन्यजन्तु पर्यटन, योग तथा वेलनेस पर्यटन, विवाह पर्यटन, फिल्म पर्यटन र पर्वतीय साहसिक गतिविधिहरूका बारेमा समेत प्रकाश पारेका थिए ।

कार्यक्रममा दूतावासका उपनियोग प्रमुख मोतिबहादुर श्रीसले नेपालका पर्यटकीय आकर्षणहरू प्रस्तुत गर्नुका साथै नेपाल र थाइल्याण्डबिच पछिल्लो १३ वर्षको पर्यटक आदानप्रदान सम्बन्धी आधिकारिक तथ्याङ्क प्रस्तुत गरेका थिए । उक्त तथ्याङ्क अनुसार पछिल्लो समय नेपालका लागि थाइल्याण्डका पर्यटकको सङ्ख्या घटेको पाइएको छ । 

समग्र रूपमा नेपालमा भित्रिने कुल पर्यटकहरूको सङ्ख्यामा वृद्धि भए पनि थाइल्याण्डबाट पर्यटनका लागि विदेश जाने कुल सङ्ख्या, नेपालको पर्यटकीय सम्भावना तथा १३ वर्षअघि थाइल्याण्डबाट नेपाल गएका पर्यटकहरूको सङ्ख्याको तुलनामा हाल नेपाल आउने थाई पर्यटकको सङ्ख्या निकै न्यून रहेको छ ।

प्रस्तुत गरिएको तथ्याङ्क अनुसार सन् २०१३ मा थाइल्याण्डबाट नेपाल आउने पर्यटकको सङ्ख्या ४० हजार ९६९ रहेको थियो । 

तर, १३ वर्षपछि अर्थात् सन् २०२५ मा आइपुग्दा केवल ३० हजार २४३ जना थाई पर्यटकले मात्र नेपाल भ्रमण गरेको देखिएको छ । यो गिरावटलाई चिन्ताजनक रूपमा लिँदै दूतावासले थाई पर्यटकहरूलाई पुनः नेपालतर्फ आकर्षित गर्न र ऐतिहासिक धार्मिक सम्बन्धलाई उपयोग गर्दै बौद्ध धर्मीहरूलाई लुम्बिनी ल्याउन व्यवसायीहरूसँग सहकार्य तीव्र बनाउने योजना अघि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप