बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एमाले र माओवादीको चालमा मिसिँदा कांग्रेसले आफ्नै चाल बिर्सियो : आङ्देम्बे

‘संसद्मा सङ्ख्याभन्दा मुद्दा र विचार ठुलो हो, सङ्ख्याको बलमा नाङ्गो नाच चल्दैन’
शनिबार, १६ जेठ २०८३, १६ : २२
शनिबार, १६ जेठ २०८३

सारांश

  • कांग्रेस नेता आङ्देम्बेले संसद्मा पार्टीको सङ्ख्याभन्दा मुद्दा र विचार महत्त्वपूर्ण हुने बताएका छन् ।
  • उनले विगतमा सत्ता प्राप्तिका लागि एमाले र माओवादीसँग सहकार्य गर्दा कांग्रेसले आफ्नो मौलिक पहिचान गुमाएको स्वीकार गरेका छन् ।
  • आङ्देम्बेले कांग्रेसको गुमेको पहिचान फिर्ता ल्याउन सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर सङ्गठन निर्माणमा लाग्न आह्वान गरेका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले संसद्मा पार्टीको सङ्ख्याभन्दा पनि त्यहाँ उठाइने मुद्दा र विचार बढी महत्त्वपूर्ण हुने बताएका छन् । ललितपुरमा आयोजित नेपाल थारु सङ्घको अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्मा कांग्रेसको सङ्ख्या कम भए पनि आफूहरूले उठाउने जनसरोकारका मुद्दाहरू शक्तिशाली हुने बताएका हुन् । 

सङ्ख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने उल्लेख गर्दै उनले संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने प्रस्ट पारे ।

नेता आङ्देम्बेले कांग्रेसभित्र विगतमा संसद् र पार्टीलाई अलग-अलग ढङ्गले हेर्ने तथा दुवैबिच दुरी बढाएर पार्टीलाई कमजोर बनाउने सोच हाबी हुन खोजेको बताए । त्यस्ता प्रवृत्तिलाई निस्तेज पार्दै अहिले पार्टी र संसद्लाई एउटै सोच र ट्र्याकमा अघि बढाउने वातावरण निर्माण गरिएको उनको दाबी छ । 

उनले भने, ‘नेपाली कांग्रेसले झन्डै झन्डै बिर्सिन खोजेको एउटा त्यो पाटो थियो, संसद् र पार्टीलाई छुट्टै बनाएर पार्टीलाई बुमर्‍याङ बनाउने वा संसद् एकादेशको कथा जस्तो, पार्टी अर्कै देशको जस्तो बनाउने सोच र प्रवृत्ति हाबी हुने कोसिस भइरहेको थियो । यी सम्पूर्ण सोच र प्रवृत्तिहरूलाई निस्तेज बनाएर संसद् र पार्टी एउटै ट्र्याकबाट हिँड्ने वातावरण हामीले बनाएका छौँ ।’ 

संसदीय अनुभवमा आफूहरू केही कमजोर जस्तो देखिए पनि पार्टी र संसद्बिचको आपसी सहकार्य र समन्वयमार्फत संसद्भित्र सिर्जना भएका समस्याहरूको निष्कर्ष खोज्ने काम भइरहेको उनले बताए । संसद्मा लोकतान्त्रिक मूल्य–मान्यता स्थापित गर्न कांग्रेसले निरन्तर आवाज उठाइरहने बताउँदै उनले सङ्ख्याको भरमा नाङ्गो नाच नाच्नेहरूलाई मुद्दाको वजन ठुलो हुन्छ भन्ने कुरा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे ।

यसैबिच, उनले पार्टीको आन्तरिक जीवन र विगतका राजनीतिक गल्तीहरूका बारेमा पनि गम्भीर समीक्षा गरे । विगतमा सत्ता प्राप्तिका लागि कहिले एमाले र कहिले माओवादी केन्द्रसँग सहकार्य गर्दा कांग्रेसले आफ्नो मौलिक पहिचान नै गुमाएको उनले स्वीकार गरे । 

उनले आक्रोश र चिन्ता व्यक्त गर्दै भने, ‘सत्ता प्राप्ति गर्नको लागि सुरु गरिएको यात्राले कहिले एमालेको चालमा ढल्किन पुग्यौँ, कहिले माओवादीको चालमा मिसिन पुग्यौँ । यी दुवैको चालमा मिसिँदा हामीले हाम्रो चाल बिर्सिन पुग्यौँ ।’ कांग्रेसको मूल चरित्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा हिमाल, पहाड, तराई-मधेसका विविध संवेदनालाई समेट्ने रहेको र यो नै कांग्रेसको एकीकृत भावना भएको उनले प्रस्ट पारे ।

विगतमा कांग्रेस खल्तीको जस्तो सङ्कुचित बनेको भए पनि आज खल्तीबाट बाहिर निस्केर हेर्दा सुन्दर संसार देखिएको र यो संसार नै कांग्रेसको असली भूमि भएको उनले टिप्पणी गरे । कांग्रेसको पहिचान हराएको नभई त्यसलाई खोज्ने सोच र हातहरू मात्र हराएकाले अब एकजुट भएर गुमेको पहिचान फिर्ता ल्याउनुपर्नेमा उनले जोड दिए । वर्तमान पार्टी नेतृत्वसँग कांग्रेसलाई पुनःजागृत गर्ने पूर्ण जोस, जाँगर र हुटहुटी रहेकाले सबै नेता तथा कार्यकर्तालाई आ-आफ्नो ठाउँबाट ब्युँझिएर सङ्गठन निर्माणमा लाग्न उनले आह्वान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप