बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

फिल्म छायांकनका क्रममा अभिनेता विजय बराल घाइते, सुटिङ स्थगित

शनिबार, १६ जेठ २०८३, १८ : ०४
शनिबार, १६ जेठ २०८३

सारांश

  • चलचित्र 'सिन्दुरे जात्रा'को छायांकनका क्रममा अभिनेता विजय बराल घोडाबाट खसेर घाइते भएका छन् ।
  • पर्वतको कुस्मामा छायांकनका क्रममा दाहिने हातको नाडीको जोर्नीमा चोट लागेका बराललाई कम्तीमा ३५ देखि ४० दिन आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।
  • अभिनेता घाइते भएपछि चलचित्रको छायांकन असार १५ गतेपछि मात्र सुरु हुने भएको छ ।

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् ।

पर्वतको कुस्मामा छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो ।

गत जेठ १ गतेदेखि कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो ।

करिब १५ दिनको कार्यतालिका सकेर बुधबार एक दृश्यका लागि घोडा चढ्ने क्रममा सन्तुलन बिग्रँदा बराल दुर्घटनामा परेका हुन् । निर्माण टिमका अनुसार उनको दाहिने हातको नाडीको जोर्नीमा फ्याक्चर देखिएपछि पोखरामा प्राथमिक उपचार र प्लास्टर गरिएको छ ।

मुख्य कलाकार नै घाइते भएपछि चलचित्रको छायांकन हाललाई पूर्ण रूपमा रोकिएको छ । निर्देशक सरोज पौडेलले कलाकारको स्वास्थ्य नै पहिलो प्राथमिकता भएको बताए ।

‘विजयजीको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो । चिकित्सकको सल्लाहअनुसार उहाँलाई कम्तीमा ३५ देखि ४० दिन पूर्ण आरामको आवश्यकता छ,’ पौडेलले भने, ‘त्यसैले बाँकी छायांकन अब आगामी असार १५ गतेपछि मात्र सुरु हुनेछ ।’

यस्तै अभिनेता विजय बरालले काम गर्ने क्रममा अचानक भएको दुर्घटनाले टिमको सेड्युल प्रभावित भएकोमा दुःख व्यक्त गरेका छन् । उनले भने, ‘अहिले डाक्टरको निगरानीमा छु र केही हप्ताको आरामपछि पुनः काममा फर्किनेछु ।’

बरालले आफ्नो स्वास्थ्यका कारण अन्य केही चलचित्रको छायांकन तालिकामा पनि फेरबदल हुन सक्ने संकेत गरेका छन् ।  सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेको मुख्य भूमिका रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप