आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

कोभिडपछि खुम्चिएको राजस्व आगामी आर्थिक वर्ष २० प्रतिशतले बढाउने लक्ष्य, ‘महानगरको सूत्र सङ्घमा लागू गर्ने’

आइतबार, १७ जेठ २०८३, १६ : ००
आइतबार, १७ जेठ २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा राजस्व सङ्कलनको लक्ष्यलाई लिएर गरिएको आलोचनाको खण्डन गरेका छन् । 

कोभिड–१९ पछि राजस्व वृद्धिदर वार्षिक ८–९ प्रतिशतमा खुम्चिएको अवस्थामा आगामी वर्ष यसलाई २० प्रतिशतले बढाउने लक्ष्य राखिएको भन्दै उनले यसलाई महत्त्वाकाङ्क्षी तर सम्भव’कदमको रूपमा व्याख्या गरे। 

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले भने, “राजस्व सङ्कलनमा हामीले महत्त्वाकाङ्क्षी लक्ष्य राखेका छौँ । कोभिडपछि ८–९ प्रतिशतले मात्र बढिरहेको राजस्वलाई अब २० प्रतिशत पुर्‍याउँछौँ भनेका छौँ । यो हाम्रो ठुलो परीक्षण हुनेछ ।” 

बजेटमा आगामी आर्थिक वर्षका लागि १५ खर्ब ८० अर्ब राजस्व सङ्कलनको लक्ष्य राखिएको छ, जसलाई लिएर कतिपयले ‘घटेको राजस्व कसरी त्यति पुग्ला ?’ भन्दै संशय व्यक्त गरेका छन् ।

तर अर्थमन्त्री वाग्लेले बाह्य ऋण कम लिइएको र अनुदान पनि ६२ अर्ब हाराहारी मात्र रहेकोले विकास र चालु खर्च धान्न राजस्व नै बढाउनुपर्ने बाध्यता रहेको स्पष्ट पारे । 

राजस्व बढाउने आधारबारे प्रस्ट पार्दै अर्थमन्त्रीले काठमाडौँ महानगरपालिकाको उदाहरण दिए । “मैले प्रधानमन्त्रीज्यूलाई सोधेँ, यो (२० प्रतिशत राजस्व वृद्धि) सम्भव होला त ? उनले भने– मैले महानगरमा हुँदा ३–४ अर्बबाट १२ अर्ब पुर्‍याइदिएको थिएँ ।” 

यद्यपि, महानगर र सङ्घीय सरकारको स्केल (स्तर) सयौँ गुणा फरक भए पनि ‘इन्टेग्रिटी’ (इमानदारी), ‘कम्पिटेन्स’ (सक्षमता) र डिजिटलाइजेसन (प्रविधिकरण) मार्फत यो लक्ष्य हासिल गर्न सम्भव रहेको मन्त्री वाग्लेको दाबी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप