प्रधानमन्त्रीले कुन तथ्य र प्रमाणका आधारमा नेपालले भारतीय भूमि मिचेको बताए ?
सारांश
- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालले भारतीय भूमि मिचेको अभिव्यक्ति दिएपछि आलोचना सुरु भएको छ ।
- सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्यता नभएको र नेपालले भारतको जमिन नमिचेको बताएका छन् ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र एमालेले सरकारको स्पष्ट धारणा माग्दै तथ्यविनाको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालले भारतीय जमिन मिचेको अभिव्यक्ति दिएसँगै आलोचना सुरु भएको छ ।
प्रधानमन्त्रीजस्तो गरिमामय र जिम्मेवार पदमा बसेको व्यक्तिले संसद्को रोस्टमबाटै 'नेपालले पनि अरूको सीमा मिचेको छ' भन्नु अत्यन्तै गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति भएको सरोकारवालाहरूको भनाइ छ ।
ऐतिहासिक दस्ताबेज, नक्सा र तथ्यहरूले नेपालको सीमा मिचिएको र मिच्ने काम छिमेकी पक्षबाट भएको देखिन्छ । तर प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने ठाउँमा उल्टै आफ्नै देशलाई दोषी देखाउनुले राष्ट्रिय हितमाथि गम्भीर आघात पुर्याएको सरोकारवालाहरूको भनाइ छ ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ नेपालले भारतीय जमिन मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा कुनै सत्यता नरहेको जिकिर गरे ।
‘प्रधानमन्त्रीले आज संसदमा बोलेको मैले पनि सुनेँ’, श्रेष्ठले रातोपाटीसँग भने, ‘नेपालले भारतको जमिन मिचेको र अतिक्रमण गरेको छैन ।’
तराई क्षेत्रमा क्रस होल्डिङ अकुपेसन अर्थात सीमापार जोतकमोत दक्खल भएको कुरालाई प्रधानमन्त्रीले त्यसरी बुझ्न नहुने श्रेष्ठको भनाइ छ ।

‘दक्खल भनेको सीमा क्षेत्रमा यताकाले उताको केही जमिन प्रयोग गर्ने र उताकाले यताको पनि भोग चलन गरेको अर्थमा बुझ्नुपर्छ । तर त्यसलाई जमिन मिचेको भन्न सकिँदैन’, श्रेष्ठको भनाइ छ । उनले त्यसको उदाहरणका रूपमा पर्साको सिरसिया नदी आसपासको अवस्था हेर्न सकिने बताए ।
‘सिरसिया नदी बाङ्गोटिङगो भएर बग्दा नेपालको भारततर्फ र भारतले नेपालतिरको जमिन भोगचलनको दक्खल भएको छ’, श्रेष्ठले भने, ‘त्यसलाई मिचिएको भन्न मिल्दैन ।’ उनले यसबारेमा परराष्ट्रसचिवका रूपमा शंकरदास बैरागी भएका बेला दक्खलबारे केही छलफल समेत भएको बताए ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल एमालेले यसबारे सरकारको स्पष्ट धारणा आउनुपर्ने भन्दै तथ्यविना बोलिएको हो भने रेडर्कबाट हटाउन माग गरेका छन् ।
उनीहरूले यति गम्भीर र संवेदनशील विषयमा सरकारले सत्य तथ्य सार्वजनिक गर्दै संसद् र नेपाली जनतालाई जानकारी गराउनुपर्ने बताएका हुन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्रले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने भन्दै नेपालले पनि भारतीय सीमा मिचेको बताएका थिए ।
‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको धेरै स्थानमा जमिन मिचेको रहेछ’, प्रधानमन्त्री शाहले भनेका थिए । त्यसक्रममा उनले सीमा विवादको विषयमा कूटनीतिक माध्यममार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएका थिए । त्यतिमात्रै होइन प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवादमा बेलायतलाई समेत पत्राचार गरिएको बताए । उनले भने, ' यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्गल्याण्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहँदाखेरि यसमा चाहिँ इङ्गल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।'

प्रधानमन्त्री शाहको यही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेसकी प्रमुख सचेतक वासना थापा र एमालेका भूमिका लिम्बु सुब्बासहित यज्ञबहादुर बोगटीलगायतले प्रष्टता खोजेका हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीले नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ’ भन्नुभयो । कहाँनेर मिचिएको हो यसबारे छिटो भन्दा छिटो अवगत गराइयोस्’ कांग्रेस सांसद थापाले भनिन्, ‘यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राखिनपर्यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’
त्यस्तै एमाले सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीले आइतबारको प्रश्नोत्तरका क्रममा नेपालले भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्तिले नेपाल भारत सीमासम्बन्धी विषयमा गम्भीर अन्योल पैदा गरेको बताइन् । ‘तसर्थ प्रधानमन्त्रीज्यूले उल्लेख गर्नुभएको भारतीय भूमि कुन स्थान, क्षेत्र वा सीमाखण्डसँग सम्बन्धित हो ? उक्त भनाइको तथ्यगत आधार र प्रमाण के हुन् ?’, सांसद सुब्बाले प्रश्न गरिन् । साथै उनले के यो नेपाल सरकारको आधिकारिक धारणा हो ? वा व्यक्तिगत अभिव्यक्ति मात्र हो ? भनेर प्रस्ट पार्न आग्रह गरिन् ।
‘सीमासम्बन्धी कुनै विवादित विषय भएको भए त्यसको समाधानका लागि सरकारले के कस्ता कूटनीतिक पहल गरिरहेको छ ? यस संवेदनशील विषयमा संसद् र नेपाली जनतालाई स्पष्ट र आधिकारिक जानकारी गराउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउँछु’, सुब्बाले ध्यानाकर्षण गराइन् । नेकपाका सांसद युवराज दुलालले नेपालले सीमा मिचेको थाहा नभएको भन्दै रेकर्डबाट हटाउन माग गरे ।

‘हाम्रो राष्ट्रिय ज्ञानमा नेपालले कतै सीमा मिचेको विषय उल्लेख छैन । अतः यो कूटनैतिक संवेदनशीलताको सवाल समेत भएकाले अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दछु’, दुलालको माग थियो ।
अर्का नेकपाका सांसद रमेश मल्लले प्रधानमन्त्री शाहले मुलुकको राष्ट्रिय अखण्डताका मूलभूत सिद्धान्तमा आँच आउने अभिव्यक्ति दिएको त्यसलाई सामान्य मान्न नसकिने बताए ।
‘जिम्मेवार व्यक्तिले सदनबाट जे बोल्नुभएको छ यो सामान्य विषय होइन’, मल्लले भने, ‘उहाँ (प्रधानमन्त्री)ले इन्फरमल कुराकानीमा राखेका विषयजस्तो सम्झिएजस्तो छ । तर यो कुरा धेरै नै गभीर छ ।’
मल्लले कुनै पनि मुलुकका सरकार प्रमुख वा राष्ट्र प्रमुखले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेका छौ भनेर भन्छन् भन्ने आफूले विश्वास नगर्ने बताए ।
‘प्रधानमन्त्रीजीको यो अभिव्यक्तिलाई करेक्सन गर्नुपर्छ र रेकर्डबाट हटाउनुपर्छ’, मल्लको माग थियो ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्रीजस्तो गरिमामय र जिम्मेवार पदमा बसेको व्यक्तिको तथ्यहीन भनाइले सीमा सुरक्षामा अहोरात्र खटिएका सुरक्षाकर्मी, ऐतिहासिक प्रमाण सङ्कलन गर्ने विज्ञहरू र आम देशभक्त नेपाली जनताको भावनाको अपमान गरेको बताए ।
‘राष्ट्रिय स्वाधीनता र सिमाना जस्तो संवेदनशील विषयमा राज्यको प्रमुखबाटै यस किसिमको अपरिपक्व र भ्रमपूर्ण धारणा आउनु राष्ट्रिय आत्मसमर्पणवादको पराकाष्ठा हो’, आचार्यले भने, ‘सरकारले तुरुन्तै यो भनाइ सच्याउँदै संसद् र आम जनतासामु माफी माग्नुपर्छ र देशको हित अनुकूल स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ । राष्ट्रियताको सवालमा कुनै पनि सम्झौता वा अस्पष्टता किमार्थ स्वीकार्य छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चौबिस घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण