आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
रास्वपा सभापतिको भारत भ्रमण

दुई देशबिच चिसिएको सम्बन्ध सुधार्ने अवसर, प्रधानमन्त्रीको अभिव्यक्तिपछि कति सहज ?

आइतबार, १७ जेठ २०८३, १९ : ००
आइतबार, १७ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दुई दिने भारत भ्रमणमा जान लागेका छन् ।
  • प्रधानमन्त्री बालेन शाहका कारण चिसिएको भारतसँगको सम्बन्ध सुधारका लागि लामिछानेको भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ ।
  • यो भ्रमणमा लामिछानेले भारतीय प्रधानमन्त्री मोदी लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि (सोमबार) भारत भ्रमणमा जाने भएका छन् । भारत सरकारको नेतृत्व गरेको भारतीय जनता पार्टीको निमन्त्रणमा लामिछानेले दुई दिने भ्रमण गर्नेछन् । 
केही दिनअघि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रास्वपाका सभापति लामिछाने आफ्नै ढंगले भारत भ्रमणमा जान लागेको जानकारी गराएका थिए । 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग सभापति लामिछानेको भारत भ्रमणको कुनै सम्बन्ध नरहेको प्रस्ट पारेका थिए । 

प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने तयारी गरिरहँदा अचानक स्थगित भएको थियो, तर अब भने प्रधानमन्त्री आबद्ध रहेको दलका सभापति भारत भ्रमणमा जाँदै छन् । यसबारे परराष्ट्र मामिलाका जानकारहरू सभापति लामिछानेको भारत भ्रमण ‘कन्ट्रोल ड्यामेज’का लागि भइरहेको बताउँछन् । भारतसँग नेपालको सम्बन्ध पछिल्लो समय चिसिएको र त्यसकै सुधारका लागि लामिछाने जान लागेको उनीहरूको बुझाइ छ । 
नेपाल–भारत–चीन मामिलाका जानकार एवं नेपाल इन्स्टिच्यु फर इन्टरनेसनल कोअपरेसन एन्ड इगेन्जमेन्टका अनुसन्धान निर्देशक प्रोमद जयसवाल प्रधानमन्त्री बालेनका कारण दुई देशबिच चिसिएको सम्बन्ध सुधार गर्न सभापति लामिछानेको भारत भ्रमणले काम गर्ने बताउँछन् । 

‘लामिछानेलाई भाजपाले धेरै पहिला भ्रमणका लागि निमन्त्रणा दिएको थियो,’ जयसवाल भन्छन्, ‘तर प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको समय नमिलेका कारण ढिलो भइरहेको थियो ।’ तर अहिले भने मोदीसँग सभापति लामिछानेको भेट हुने उनले बताए । 

यद्यपि सभापति लामिछाने भारत भ्रमणलाई महत्त्वपूर्ण मान्न सकिए पनि सबैथोक त्यही मात्र नहुने उनको बुझाइ छ । 

बालेनको अभिव्यक्तिले दिने सन्देश

यसैबिच आइतबार प्रतिनिधिसभाको बैठकमा एक्कासि प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री बालेनले आफू र आफ्नो पार्टी एक वर्षसम्म सुशासनमा केन्द्रिति हुने बताएका छन् । उनको उक्त अभिव्यक्तिबाट यस अवधिमा कुनै पनि देशको भ्रमण नहुने बुझ्न सकिन्छ । तर भारत परम्परालाई कायम राख्न प्रधानमन्त्री बालेनलाई भारत भ्रमण गराउन चाहन्छ । यस्तोमा सभापति लामिछनेको भारत भ्रमणले ती सम्बन्धहरू सुधार हुन सक्ने अपेक्षा राखिएको छ । 

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको लागि निम्ता दिएका थिए । औपचारिक निम्ता दिन आफ्ना विदेश सचिव विक्रम मिस्रीलाई नेपाल पठाएका थिए, तर यता प्रधानमन्त्री बालेनले मिस्रीलाई समय दिएनन्, र अन्तिम समयमा आएर भ्रमण स्थगित भएको थियो । 

यस घटनालाई भारतले गम्भीर रूपमा लिएको छ । नेपाल–भारत सम्बन्धबारे जानकार एक भारतीय विदेश मामिलाका विज्ञ भन्छन्, ‘मिस्री विदेश सचिवका रूपमा मात्र होइन, प्रधानमन्त्री मोदीको दूतका बनेर नेपाल भ्रमणमा हुनुहुन्थ्यो, बालेन शाहले इग्नोर गर्नु भनेको मोदीको अपमानजस्तै हो ।’ यसलाई भारतले निकै गम्भीर रूपमा लिएको र यी सबै विषय मिलाउने काम सभापति लामिछानेको भएको उनले बताए । 

यो सरकार गठनपछि पहिलो पटक उच्चस्तरीय भ्रमण भारतबाटै सुरु हुँदै छ । अर्थात् सभापति लामिछानेको यो भ्रमणले भारतसँग कुनै प्रकारको सम्बन्ध बिगार्न नचाहेको देखाउँछ । यस विषयमा नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनी भन्छन्, ‘प्रधानमन्त्री बालेनका कारण भारतसँगको सम्बन्धमा केही चिसोपना आएको थियो, त्यसलाई न्यानो बनाउने काम सभापति लामिछानेबाट हुनसक्छ ।’ 

झण्डै दुई तिहाइ बहुमतप्राप्त सरकारको नेतृत्वकर्ता पार्टीका सभापति भारतको भ्रमण गर्नु भनेको सरकारको पनि रिप्रजेन्टजस्तो भएको मुनी बताउँछन् । ‘भारतले पनि रविको भ्रमणलाई उत्सुकतापूर्वक हेरेको छ,’ उनले भने । 

विदेश मामिलाका जानकार जयसवाल थप्छन्, ‘नेपालको तर्फबाट यो पहिलो भ्रमण हो, यो भ्रमणमा कुनै गम्भीर विषयमा कुरा हुँदैन, एक अर्काको कुरा बुझ्ने कुरा हुन्छ, सम्बन्ध सुधारका आयामहरू खोज्ने प्रयास हुन्छ, पुनः हुने अर्को भ्रमणमा एजेण्डामा कुरा हुन सक्छ ।’

नेपाल–भारत सीमा विवादका कारण दुई देशबिच सम्बन्धमा चिसोपना आएको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई समेटेर नेपालको नक्सा संशोधन भएको थियो, जसमा भारत चिढिएको थियो । यसै कारण ओलीले आफ्नो कार्यकालको पछिल्लो समयमा भारतको भ्रमण गर्नसमेत सकेनन् । 

तर बालेन प्रधानमन्त्री भएपछि पनि यही विषय मुद्दा दोहोरिएको छ । भारत र चीनले लिपुलेक हुँदै व्यपार गर्नुका साथै मनोसरोवरको यात्रा पनि गर्ने सहमति गरेका छन् । त्यसमा नेपालले आफ्नो भूमि अन्य देशले प्रयो गर्न नपाइने भन्दै स्पष्ट पारिसकेको छ । 

नेपालको भनाइप्रति भारतले पनि जवाफ फर्काएको थियो । 

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेनले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद कूटनीति संवादको माध्यमबाट समाधान गर्ने र त्यसका लागि बेलायतसँग पनि कुराकानी भइरहेको बताएका छन् । 

भारतमा शासन गरिरहेको बेलायतले छाड्ने बेला सीमाबारे गरेको सहमतिका विषयमा उसैसँग कुरा गर्ने नेपालले तयारी गरिरहेको छ । कहाँसम्म भूमि कस्तो थियो ? ती विषयमा बेलायतसँग कुराकानी भइरहेको प्रधानमन्त्रीले संसद्मा भनेका छन्  

नेपालले पठाएको कूटनीतिक नोटको जवाफ दिँदै भारतले पनि विभिन्न समयमा भएका सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान चाहेको भनेको छ । प्रधानमन्त्री बालेनले पनि संवादमार्फत समाधान गर्नुपर्ने धारणा राखेका छन् । 

यसले सभापति लामिछानेको भारत भ्रमणलाई सहज बनाएको जानकारहरू बताउँछन् । भ्रमणका क्रममा सभापति लामिछाने भारतीय प्रधानमन्त्री मोदी, विदेश मन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाल, भाजपाका अध्यक्षलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । रास्वपा स्रोतका अनुसार सभापतिसँग पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरा पनि साथमा जानेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप