बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रमको विवादित अभिव्यक्ति

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलहरूको विरोध, रास्वपा चुपचाप

सोमबार, १८ जेठ २०८३, १७ : २१
सोमबार, १८ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भएको छ ।
  • प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि स्पष्टीकरण माग्दै बजेटमाथिको छलफलमा अवरोध गरेको छ ।
  • सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यो विषयमा मौन छ भने पार्टीका नेताहरूले परराष्ट्र मन्त्रालयको विज्ञप्ति नै आफ्नो धारणा भएको बताएका छन् ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपालले पनि छिमेकी मुलुक भारतको सीमा मिचेको भन्दै संसदमा दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक रूपमा प्रश्नोत्तरका लागि रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले सांसदहरूले उठाएको प्रश्नको जबाफ दिने क्रममा ‘भारतले नेपालको जग्गामात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेका थिए ।

बालेनको यही अभिव्यक्ति अहिले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भारी भएको छ । प्रधानमन्त्रीको सो विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले कडा विरोध जनाएका छन् ।

यसै विषयमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार बिहान विपक्षी दलहरूको बैठक बोलाएको थियो । बैठकले प्रधानमन्त्रीले नै देशको सीमामाथि धावा बोलेकाले प्रस्टीकरण दिनुपर्ने माग गरेको छ ।

सोही बैठकको निर्णय अनुसार नै सोमबार सदनमा विपक्षी दलहरूले पटक–पटक अवरोध गरे । विपक्षी दलहरूको विरोधका कारण आर्थिक वर्ष २०८३÷०८४ को बजेटमाथि छलफल प्रभावित भएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिक क्षेत्रमै ठुलो तरङ्ग उत्पन्न भएको बेला सभामुख डोलप्रसाद अर्यालले ‘प्रतिनिधि सभा नियमावली, २०८२’ जबर्जस्ती अनुमोदन गराउने क्रममा आइतबार रातिसम्म सदनमा मुठभेड निम्तिएको थियो ।

सदनमा अराजक गतिविधि गर्ने विपक्षी दलहरूका सांसदहरूलाई कारबाही गर्ने उद्देश्यसहित सभामुख अर्यालले छानबिन समिति गठन गरेका छन् । उनले आइतबार भएको घटनाको मुचुल्का समेत तयार पारिएको जनाएका छन् ।

विपक्षी दलहरूले गरे छुट्टाछुट्टै विरोध

देशकै कार्यकारी प्रमुखले राष्ट्रियतालाई आँच पुर्‍याउने गरी अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले छुट्टाछुट्टै विज्ञप्ति निकालेर विरोध जनाएका छन् । यद्यपि सत्तारुढ दल रास्वपा भने यो विषयमा मौन देखिएको छ । सभापति रवि लामिछाने भारत भ्रमण जानुअघि सोमबार बिहान बसेको सचिवालय बैठकमा पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कुनै छलफल नभएको नेताहरूले जिकिर गरेका छन् । कोषाध्यक्ष लिमा अधिकारीले बैठक महाधिवेशन केन्द्रित भएकाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल नभएको दाबी गरिन् ।

‘बैठकमा महाधिवेशन केन्द्रित रहेर छलफल भयो । प्रधानमन्त्रीको विषयमा कुनै प्रश्न उठेन । उहाँ (बालेन)को अभिव्यक्ति सम्बन्धमा परराष्ट्र मन्त्रालयले नै प्रस्ट पारिसकेको छ’, रातोपाटीसँग अधिकारीले भनिन्, ‘राष्ट्रियताको विषय कुनै पार्टी विशेषको होइन । परराष्ट्र मन्त्रालयले जे विज्ञप्ति निकालेको छ, त्यही हाम्रो धारणा हो ।’

सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विज्ञप्ति निकालेर विरोध जनाएको छ ।

‘देशकै प्रधानमन्त्रीको तहबाट यस्तो राष्ट्रहित विरोधी र कूटनीतिक मर्यादा विपरितको गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद् विषय हो । प्रधानमन्त्रीको यस अभिव्यक्तिप्रति नेपाली कांग्रेस खेद व्यक्त गर्दै घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

अर्को विपक्षी दल नेकपा एमालेले राज्यको कार्यकारी प्रमुखबाट राष्ट्रघाती अभिव्यक्ति आउनु अत्यन्त दुःखद् भएको बताएको छ । महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा देश र जनतासँग माफी माग्नुपर्ने प्रस्ट पारेको छ ।

एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यको कार्यकारी प्रमुखको जिम्मेवार पदमा आसिन व्यक्तिबाट ऐतिहासिक यथार्थ र अकाट्य प्रमाणविपरीत यस्तो राष्ट्रघाती अभिव्यक्ति आउनु अत्यन्त दुःखद् छ ।’

यता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र भोग चलन वा अदलबदल फरक विषय भएको भन्दै प्रधानमन्त्रीले ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले पनि भारतको जमिन कब्जा गर्‍यो भन्नु गम्भीर राष्ट्रघात भएको बताएको छ ।

‘भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो’, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी नयाँ दल श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोध गरेको छ । पछिल्लो समय प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति आक्रामक देखिँदै आएको श्रम संस्कृति पार्टीले विज्ञप्तिमार्फत उनको सो अभिव्यक्तिलाई ‘राष्ट्रघाती बदनियत’को संज्ञा दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालले भारतको सीमा धेरै ठाउँमा मिचेको भन्नुले हाम्रो सीमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रधानमन्त्री र यो सरकार प्रतिबद्ध नरहेकोप्रति श्रम संस्कृति पार्टी र तमाम नेपाली जनता घोर अपत्ति सहित विरोध व्यक्त गर्दछौँ ।’

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आधिकारिक विज्ञप्ति निकालेको छैन, तर नेताहरूले उनको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । राप्रपाले सदनमा भने विरोध जनाएको छ । राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको बताइन् ।

‘प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्तिमा ठुलो आपत्ति छ’, उनले भनिन्, ‘प्रधानमन्त्रीले संसदमा आएर नेपालले अर्को देशको भूमि मिचेको छ भन्नुभयो । यो अत्यन्त गम्भीर छ ।’

  • विवादकै बिच रवि भारत भ्रमणमा

विवाद साम्य नहुँदै सभापति लामिछाने पाँचदिने भारत प्रमणमा निस्कनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा सोमबार नयाँदिल्ली पुगेका उनले उच्चपदस्थ राजनीतिज्ञ तथा कूटनीतिज्ञसँग भेटघाट गर्ने कार्यक्रम छ ।

पछिल्लो समय छिमेकी मुलुकसँग नेपालको सम्बन्ध चिसिएको चर्चा चलिरहेको बेला लामिछानेको भ्रमणले सम्बन्ध सुधार हुने विश्वास लिइएको छ । उनका साथमा रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य, प्रवास विभाग प्रमुख तथा सचिवालय सदस्य दिपक बोहरा, श्रीमती निकिता पौडेल र स्वकीय सचिव प्रदिप आचार्य पनि भ्रमणमा सहभागी छन् । रास्वपाका एक नेताका अनुसार लामिछानेको भ्रमण सम्बन्ध सुधारका लागि केन्द्रित छ ।

‘सभापतिको भारत भ्रमणले सरकारलाई कुनै अप्ठ्यारो पर्दैन । आन्तरिक शक्ति सन्तुलनमा पनि कुनै फेरबदल आउँदैन । भाजपाले पहिल्यै निमन्त्रणा गरेको थियो । भ्रमणका लागि अहिले उपयुक्त समय भएकाले उहाँ जानुभएको हो । यो नितान्त दुई पार्टीबिच सम्बन्ध सुधार र आपसी सहकार्यका लागि भ्रमण भएको हो’, रातोपाटीसँग ती नेताले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप