शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सभामुख र राष्ट्रिय सभा अध्यक्षद्वारा सगरमाथा आरोही सांसद सम्मानित

मङ्गलबार, १९ जेठ २०८३, १४ : ०२
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • सभामुख देवप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदको लोगो अंकित झण्डासहित सगरमाथा आरोहण गर्ने सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरेका छन्।
  • सांसद शेर्पाले सभामुख अर्यालकै अनुमतिमा जेठ १३ गते संसदको झण्डासहित सगरमाथाको सफल आरोहण गरेका थिए।
  • शेर्पाले संघीय संसदको गरिमा बढाउन र नेपालको गौरवसँग जोडिएको सगरमाथाको महत्वलाई विश्वभर चिनाउन आफूले यो यात्रा तय गरेको बताए।

काठमाडौँ। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरेका छन्। 

मंगलबार सिंहदरबारमा एक विशेष कार्यक्रमको आयोजना गरी उनीहरूले सांसद शेर्पालाई सम्मान गरेका हुन्। 

हिमाल आरोहणको क्षेत्रमा नयाँ नयाँ कीर्तिमान कायम गर्दै आएका सांसद शेर्पाले सभामुख अर्यालकै अनुमतिमा संसदको झण्डासहित गएको जेठ १३ गते बुधबार बिहान ५:४० बजे सगरमाथाको सफल आरोहण गरेका थिए। सभामुख अर्यालले नै सांसद शेर्पालाई उक्त आरोहणका लागि बिदाइ गरेका थिए। 

सम्मान कार्यक्रममा बोल्दै सांसद शेर्पाले संघीय संसदमा सांसदको रूपमा आएपछि यसको गरिमालाई अझ उच्च बनाउने चाहना बमोजिम आफूले संसदको लोगो अंकित झण्डासहित सगरमाथा यात्रा तय गरेको बताए। विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालका लागि विश्वभर चिनाउने गौरव भएको उल्लेख गर्दै उनले नेपालमा रोजगारीको अवसर सिर्जना गर्न पनि हिमालको ठूलो योगदान रहेको चर्चा गरे।

सांसद शेर्पाले भने,‘संघीय संसदमा आईसकेपछि यसको गरिमालाई संसदको झण्डालाई सगरमाथाको शिखरमा लगेर फहराउने एउटा इच्छा मनमा जाग्यो । र मैले सभामुखज्युलाई रिक्वेष्ट गरेँ । उहाँले सहर्ष स्वीकार गर्नुभयो । र नेपालमा हरेक नेपालीले सगरमाथा हिमाल मात्रै नभएर यो हाम्रो अस्तित्वसँग, गौरवसँग जोडिएको विषय छ ।’ भाग्यवश आफू जस्तो साधारण गाउँबाट आएको मानिसलाई पनि सगरमाथाले गर्दा देशमै बस्ने र थुप्रै रोजगारी सिर्जना गर्ने अवसर मिलेको उनले बताए। सगरमाथा आरोहण, जलवायु परिवर्तन वा हिमाली क्षेत्रमा हुने दुर्घटना जुनसुकै विषय पनि संसारभर समाचार बन्ने गरेको उनको भनाइ छ।

पर्वतारोहण क्षेत्रमा ‘मिङ्मा डेभिड’ नामले समेत चिनिने ३७ वर्षीय सांसद शेर्पा एक परिचित नाम हो। उनले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो आरोहीको कीर्तिमान समेत आफ्नो नाममा सुरक्षित गरेका छन्। 

उनी २०८२ सालको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट जनजाति समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप