मनसुनजन्य स्वास्थ्य जोखिम सामना गर्न देशभर ‘र्यापिड रेस्पोन्स टिम’ तयारी अवस्थामा
सारांश
- मनसुनजन्य स्वास्थ्य जोखिम सामना गर्न स्वास्थ्य मन्त्रालयले देशभरका सबै स्थानीय तहहरूमा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीसहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको छ ।
- मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरूसँग समन्वय गरी मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य समस्याको सामना गर्न विशेष कार्ययोजना बनाएको छ ।
- सरकारले मनसुनको समयमा रोग नियन्त्रण र रोकथामका लागि जनचेतना अभिवृद्धि अभियानलाई पनि प्राथमिकता दिएको छ ।
काठमाडौँ । मनसुन सुरु हुन तीन हप्ता मात्रै बाँकी रहँदा मौसमजन्य स्वास्थ्य समस्या हुन नदिन स्वास्थ्य मन्त्रालयले देशभरका सबै स्थानीय तहहरूमा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीसहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको जनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरूसँग समन्वय गरी मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य समस्याको सामना गर्न विशेष कार्ययोजना बनाएको छ । उक्त कार्ययोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको उनको भनाइ छ । उनले बढ्दो तापक्रम, आद्र्रता र निरन्तर वर्षाका कारण विभिन्न प्रकारका सङ्क्रामक रोग फैलिने सम्भावना उच्च रहने उल्लेख गर्दै त्यसको प्रतिकार्यका लागि सरकार तयारी अवस्थामा रहेको बताए । उनले मनसुनको समयमा खानेपानीको स्रोतहरू दूषित हुनसक्ने, बाढी तथा डुबानका कारण फोहोर पानी खानेपानीको मुहानमा मिसिन सक्ने तथा सरसफाइ व्यवस्थापन प्रभावित हुनसक्ने भएकाले स्वास्थ्य चुनौती थप जटिल बन्न सक्ने बताए ।
उनले यी जोखिमलाई मध्यनजर गर्दै सरोकारवाला निकायहरूसँग सहकार्य गरी राष्ट्रिय स्तरमा मनसुन पूर्वतयारी कार्ययोजना लागू गरिसकिएको बताए ।
उनले मनसुनजन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा अन्य आपतकालीन उपकरणको व्यवस्थापनलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए । उनले सरकारले मनसुनको समयमा रोग नियन्त्रण र रोकथामका लागि जनचेतना अभिवृद्धि अभियानलाई पनि प्राथमिकता दिएको बताए । व्यक्तिगत सरसफाइ, परिवार तथा समुदायको स्वच्छता, खाद्यान्नको सुरक्षित भण्डारण, स्वच्छ खानेपानीको प्रयोग र वातावरणीय सरसफाइका विषयमा नागरिकलाई सचेत गराउन स्थानीय तहसँगको समन्वयमा कार्यक्रमहरू सञ्चालन भइरहेको समेत अधिकारीको भनाइ छ ।
उनले भने, ‘हामी मनसुन सक्रिय हुने अवस्थामा छौँ । पानी परिरहेको छ । तापक्रम समेत बढ्दै गएको अवस्था छ । आद्रता आउँदै गर्दा हाम्रा खानाहरू समेत बिग्रिएर खाद्य विषाक्तता हुने खालका जोखिमहरू छन् । हामीले समग्रतामा जनस्वास्थ्यका हिसाबले हेर्ने हो भने पानीको सङ्क्रमणको कारण हुने समस्याहरू, किटजन्य सङ्क्रमणको समस्याहरू, तापक्रमका कारणले हुने समस्याहरू आउन सक्ने भएको कारण स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् व्यवस्थापनसँग काम गर्ने सम्बन्धित अरू निकायहरूसँग समन्वय गरेर राष्ट्रिय रूपमै मनसुनको पूर्वतयारी कार्ययोजना बनाएको छ । सरकारका सबै निकायहरू यसमा सामेल हुनुहुन्छ । यसबाहेक मनसुन आउन लागेको समय भएकोले नागरिक आफैँले व्यक्तिगत र आफू वरिपरिको वातावरण सफा राख्न सकेनौँ भने सङ्क्रमण र रोगको जोखिम धेरै हुने भएकोले सरसफाइमा विशेष ध्यान दिन समेत हामीले सबै नागरिकलाई विशेष आग्रह पनि गर्न चाहन्छौँ ।’
सहायक प्रवक्ता अधिकारीले नागरिकलाई उमालेर वा शुद्धीकरण गरिएको पानी मात्र पिउन, बासी तथा असुरक्षित खाना नखान, फलफूल तथा तरकारी राम्ररी सफा गरेर मात्र सेवन गर्न तथा कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण