बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशी एसएसपीमा बढुवा

बुधबार, २० जेठ २०८३, १२ : २५
बुधबार, २० जेठ २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका छन् ।
  • महानगर कार्यपालिकाले गत जेठ ३ गते नै जोशीलाई एसएसपी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
  • पदमा बढुवा भएपछि नवनियुक्त एसएसपी जोशीले यो बढुवाले आफूलाई महानगरको सेवामा थप समर्पित हुन ऊर्जा दिएको बताए ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका छन् । महानगर कार्यपालिकाको निर्णयअनुसार नगर प्रहरीको कमान्ड सम्हाल्दै आएका जोशीलाई  एसपीबाट बढुवा गरेर पूर्ण जिम्मेवारी दिइएको हो । 

महानगर कार्यपालिकाले गत जेठ ३ गते नै जोशीलाई एसएसपी पदमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज दर्ज्यानी चिन्ह पाएका हुन् । 

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थितिमा उनलाई  प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

३ दशकमा सईबाट एसएसपी 

विष्णुप्रसाद जोशीको महानगर प्रहरीमा तीन दशकभन्दा लामो व्यावसायिक यात्रा रहेको छ । उनले वि.सं. २०५० साल भदौ १४ गते नगर प्रहरी सई (नायव निरीक्षक) पदबाट सेवा सुरु गरेका थिए । उनले वि.सं.२०६३ सालमा नगर प्रहरी निरीक्षक इन्स्पेक्टर पदमा बढुवा गएका हुन् । २०७० सालमा नगर प्रहरी नायव उपरीक्षक (डीएसपी) को जिम्मेवारी पाएका थिए । 

यस अघि २०७३ सालमा नगर प्रहरी उपरीक्षक (एसपी) पदमा पुगेका थिए ।  पदोन्नति पछि रातोपाटीलाई प्रतिक्रिया दिँदै नवनियुक्त एसएसपी जोशीले यो बढुवाले आफूलाई महानगरको सेवामा थप समर्पित हुन ऊर्जा दिएको बताए । ‘महानगरपालिकाको कार्यपालिकाले आफ्नो लामो समयको कार्यसम्पादनलाई मूल्याङ्कन गरी गरेको यो निर्णयले समग्र नगर प्रहरी बलकै मनोबल उच्च बनाउने विश्वास गरेको छु,’ उनले भने ।  

काठमाडौँ महानगरपालिकाका तत्कालीन नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन लडेपछि एसपी जोशीलाई निमित्तको जिम्मेवारी दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप