‘नेपाल भारतबिच मनमुटाब गराएर विध्वंस मच्चाउने हर्कत नगर्नुस्, राजीनामा दिनुस्’
सारांश
- राष्ट्रिय सभाको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहले भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्तिलाई कपोलकल्पित, आधारहीन र राष्ट्रघाती भन्दै राजीनामाको माग गरेका छन् ।
- सांसद विश्वकर्माले प्रधानमन्त्री शाहले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने यकिन तथ्याङ्क र प्रतिवेदनसहित राष्ट्रिय सभामा उपस्थित भएर जवाफ दिन चुनौती दिएका छन् ।
- उनले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सुस्ता क्षेत्रमा भारतीय सीमा बलले नेपाली भूमिमा हस्तक्षेप गरेको र विकास निर्माण कार्य रोकेको आरोप लगाएका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहहको राजीनामा माग गरेका छन् । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री शाहले राष्ट्रघात गरेको आरोप लगाउँदै तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन् ।
सांसद विश्वकर्माले प्रधानमन्त्रीले प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ नदिएर कपोलकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप लगाए । प्रधानमन्त्रीले दिएको ‘नेपालले भारतको भूमि अतिक्रमण गरेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै उनले त्यसको कुनै तथ्यगत आधार नरहेको दाबी गरे । प्रधानमन्त्रीको उक्त भनाइले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि गम्भीर आँच पुगेको र यो अभिव्यक्ति विखण्डनकारी एवं आत्मसमर्पणवादी भएको उनको जिकिर छ ।
उनले प्रधानमन्त्रीसँग नेपालले भारतको कुन भूभाग, कहाँ र कति अतिक्रमण गरेको हो भन्ने यकिन तथ्याङ्क सार्वजनिक गर्न माग गरे । साथै, उक्त जानकारी कुन प्रतिवेदनमा आधारित हो भन्ने स्पष्ट पार्दै सम्बन्धित प्रतिवेदनसहित राष्ट्रिय सभामा उपस्थित भएर जवाफ दिन उनले चुनौती समेत दिए ।
बैठकमा बोल्दै सांसद विश्वकर्माले भने, ‘प्रधानमन्त्रीले सांसदको सोधेको प्रश्नको उत्तर दिन छाडेर नसोधिएको प्रश्नको झुट्टो कुराको पोको फुकाउनुभयो । म प्रधानमन्त्री भएपछि मात्रै थाहा पाए, नेपालीले पनि भारतको मिचिएको रहेछ, भन्नुभयो । हालसम्म नेपाल र भारतलाई थाहै नभएको, सीमा विज्ञले समेत जानकारी नपाएको, कहीँ कतैबाट पनि पुष्टि नभएको कपोकल्पित, आधारहीन, नाङ्गो नाटकीय अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन, नेपालको हित विपरीत बोलेर राष्ट्रघात गर्नुभयो । प्रधानमन्त्रीको विखण्डनकारी अभिव्यक्तिको घोर आपत्ति र निन्दा गर्दछु ।’
उनले थपे, ‘भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच पुर्याउने कार्य प्रधानमन्त्रीबाट भएको छ, यस्तो राष्ट्रघाती प्रधानमन्त्रीलाई त्यही कुर्सीमा टाँसिरहने अधिकार छैन, विखण्डनकारी र आत्मासर्मपणवादी प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ । प्रधानमन्त्री बालेन्द्र साहलाई म सोध्न चाहन्छु, प्रधानमन्त्रीज्यू नेपालले भारतको जमिन कुन कुन स्थानमा, कति जग्गा अतिक्रमण गरेको छ ? राष्ट्रिय सभामा उभिएर यकिन तथ्याङ्कको माग गर्दछु । तपाईले प्राप्त गरेको तथ्याङ्क कुन प्रतिवेदनको हो ? त्यो प्रतिवेदनसहित राष्ट्रिय सभामा उपस्थित भएर जवाफ दिनुहोला ।’
सांसद विश्वकर्माले प्रधानमन्त्रीको सोही अभिव्यक्तिको उक्साहटमा परेर सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा हस्तक्षेप गरेको आरोप समेत लगाए । उनका अनुसार नारायणी नदीमा निर्माणाधीन तटबन्ध रोक्न भारतीय पक्षले दबाब दिएका कारण हाल निर्माण कार्य अवरुद्ध भएको छ । विदेशी फौज प्रयोग गरेर नेपालको विकास निर्माण कार्य रोक्नु अर्को राष्ट्रघात र नाङ्गो लम्पसारवाद भएको उनको भनाइ छ ।
नेपाल र भारतबिचको सम्बन्ध हाल चिसिएको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीका सभापतिलाई दूतका रूपमा भारत पठाएको भन्दै विश्वकर्माले त्यसलाई ‘चाकडीबाज’ को संज्ञा दिए । उनले लिपुलेक क्षेत्रमा भारतले चीनसँगको व्यापारिक नाका सञ्चालन गरेर नेपालमाथि हस्तक्षेप गरिरहेको उल्लेख गरे । भारतले नेपालको ६ हजार २ सय ६२ हेक्टर भूमि कब्जा गरेको दाबी गर्दै सांसद विश्वकर्माले नेपालले हालसम्म इतिहासमा कुनै पनि देशको भूमि अतिक्रमण नगरेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण