मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले वैधानिकता गुमाइसकेको धवलशमशेर राणाको दाबी

बुधबार, २० जेठ २०८३, १६ : ३८
बुधबार, २० जेठ २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवलशमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिकता गुमाएको दाबी गरेका छन् ।
  • डा. राणाले पार्टीको विधान अनुसार थपिएको ६ महिनाको समय सीमा समेत गत जेठ १९ गते समाप्त भइसकेकाले पार्टी वैधानिक सङ्कटमा परेको उल्लेख गरेका हुन् ।
  • उनले नेतृत्वको अकर्मण्यताका कारण पार्टीका साथीहरूले धमाधम पार्टी छोडिरहेको र विश्वासको सङ्कट चुलिएको जिकिर गरेका छन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा.धवलशमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिकता गुमाएको दाबी गरेका छन् । 

एक अपिल जारी गर्दै डा.राणाले पार्टीको विधान अनुसार थपिएको ६ महिनाको समय सीमा समेत गत जेठ १९ गते समाप्त भइसकेकाले पार्टी वैधानिक सङ्कटमा परेको उल्लेख गरेका हुन् । 

डा.राणाका अनुसार राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल गत मङ्सिरमै समाप्त भएको थियो । त्यसपछि एक वर्षअघि नै उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा गठित महाधिवेशन सुझाव समितिले निर्वाचन ढिला भए मङ्सिरमा र चाँडो भए जेठ महिनाभित्रै महाधिवेशन गर्न सुझाव दिएको थियो । सोही अनुसार केन्द्रीय समितिले ६ महिना म्याद थप गरे पनि सो अवधि हिजो जेठ १९ गते पूरा भएको राणाको जिकिर छ।

राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीका कारण पार्टीले आफ्नो साख गुमाउँदै गएको आरोप लगाएका छन् । ‘अधिवेशनको तालिका तयार पार्ने जिम्मा मलाई दिइएको र म जिम्मेवारीबाट पन्छिएको भन्ने अध्यक्षको अभिव्यक्ति हास्यास्पद र दुष्प्रचारपूर्ण छ,’ राणाले भने, ‘आफ्नो कमजोरी अरूको थाप्लोमा हालेर चोखो बन्ने गैरजिम्मेवारीपूर्ण शैलीले पार्टीको वैचारिक मूल्य–मान्यता धरापमा परेको छ।’

राणाले नेतृत्वको अकर्मण्यताका कारण पार्टीका साथीहरूले धमाधम पार्टी छोडिरहेको र विश्वासको सङ्कट चुलिएको जिकिर गरेका छन्। 

उनले अध्यक्षको ‘भ्रमपूर्ण शब्दजाल’ मा नपर्न कार्यकर्ताहरूलाई आग्रह गर्दै अब सम्पूर्ण राष्ट्रवादी शक्ति र मनहरू मिलेर नयाँ अभियानमा जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप