शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’

शुक्रबार, २२ जेठ २०८३, १० : १५
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • अभिनेत्री रेखा थापाले दुई दशकभन्दा लामो फिल्म यात्रापछि रङ्गमञ्चमा 'मीरा' नाटकबाट अभिनय गरेकी छन्।
  • उनले रङ्गमञ्चलाई साधनाको रूपमा अनुभव गरेकी छन् र यसले आफ्नो कला यात्रामा नयाँ ऊर्जा थपेको बताएकी छन्।
  • रङ्गमञ्चको अनुभवले आफूभित्रको कलाकारिताको अहङ्कार मेटिएको र अभिनय थप परिपक्व बनेको उनको भनाइ छ।

रेखा थापा नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री हुन् । फिल्म क्षेत्रमा निर्माता तथा निर्देशकको रूपमा समेत परिचित उनले सौन्दर्य प्रतियोगिता हँुदै चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा डेब्यु गरिन् । आफ्नो दुई दशकभन्दा लामो फिल्म यात्रामा उनले झन्डै सयभन्दा बढी फिल्म अभिनय गरिसकेकी छन् । अभिनेत्रीलाई परम्परागत र सहायक भूमिकाबाट उठाएर हिरोसरह पुर्‍याउने श्रेय उनलाई नै जान्छ । ‘किस्मत’, ‘हिम्मत’, ‘हिफाजत’, ‘काली’, ‘रामप्यारी’ र ‘कसले चोर्‍यो मेरो मन’ जस्ता फिल्ममा उनले हिरोगिरी प्रस्तुत गरेकी थिइन् ।

रेखा पछिल्लो समय रङ्गमञ्च (थिएटर)मा देखिएकी थिइन् । ‘मीरा’ नामक नाटकमा अभिनय गरेकी उनले थिएटरलाई साधनाको रूपमा अनुभव गरेकी छन् । रङ्गमञ्चको यो यात्राले आफ्नो कला यात्रामा नयाँ ऊर्जा थपेको उनको बुझाइ छ ।

प्रस्तुत छ, अभिनेत्री रेखा थापासँग रातोपाटीले थिएटर अभिनयको विषयमा गरेको कुराकानीको सम्पादित अंशः

  • पहिलो पटक रङ्गमञ्चमा काम गर्दाको अनुभव कस्तो रह्यो ?

एकदमै रमाइलो र चुनौतीपूर्ण रह्यो । कलाकार भइसकेपछि जीवनमा एकपटक रङ्गमञ्चको अनुभव लिनैपर्ने रहेछजस्तो मलाई लाग्यो । थिएटरमा आफैँलाई जीवन्त रूपमा भेट्ने र चिन्ने एउटा राम्रो ठाउँ रहेछ ।

  • फिल्म क्षेत्रको लामो यात्रा र सफलतापछि रङ्गमञ्चमा पनि काम गर्नुपर्छ भन्ने हुटहुटी केले दियो ?

मैले ‘मीरा’ नाटकबाट रङ्गमञ्च सुरु गरेकी हुँ । पहिलो कुरो, त्यो नाटकको मलाई दिएको चरित्र (क्यारेक्टर) मन पर्‍यो । अर्को कुरा, मलाई पनि आफैँलाई एकपटक अभिनय पुनर्जागृत गर्नु थियो । मानिसलाई सफलताको एउटा उचाइमा पुगिसकेपछि ‘म नै सर्वेसर्वा हुँ’ भन्ने भ्रम हुन सक्छ । नाटकको अफर मेरालागि म वास्तवमै अब्बल कलाकार हुँ कि होइन भनेर आफैँलाई जाँच्ने र चिन्ने एउटा राम्रो मौका थियो ।

फिल्मको काँचको पर्दामा भन्दा भिन्न, यहाँ दर्शककै अगाडि जमिनमा उभिएर जीवन्त अभिनय गर्नुपर्ने हुन्छ । यसले मलाई प्रत्यक्ष रूपमा आफैँसँग साक्षात्कार गरायो । थिएटरमा आफ्नो दर्शक र द्रष्टा आफैँ भएको महसुस हुँदोरहेछ ।

फिल्ममा छोटो समयको लागिमात्र अभिनयमा डुब्न पाइन्छ, तर रङ्गमञ्चमा पूरै समय त्यो चरित्रको जीवन जिउन पाइँदो रहेछ ।
  • फिल्म र रङ्गमञ्चको अभिनयमा के फरक पाउनुभयो ?

फिल्ममा ‘कट’ गर्दै टुक्रा–टुक्रामा अभिनय गर्नुपर्छ, तर मलाई पहिलेदेखि नै एकै शटमा लगातार अभिनय गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । नाटकमा त्यो सुविधा पाइने भएकाले निकै मज्जा आयो । अभिनयमा मलाई जहिले पनि लाज महसुस हुन्थ्यो, नाटकमा अभिनय गर्दा त्यो पनि हट्यो । फिल्मजस्तो नभई नाटकमा दर्शकको सामुन्ने प्रत्यक्ष अभिनय गर्नुपर्ने भएकाले सुरुको दिनमा मलाई अलिकति असहज र सङ्कोच पनि महसुस भएको थियो । ‘म के गरिरहेकी छु, मलाई अभिनय आउँछ कि आउँदैन, मलाई यो आवश्यक थिएनजस्ता कुराले केही समय द्विविधा पनि बनायो । तर पछि जब दर्शकहरूको ठुलो उपस्थिति र उत्साह देखेँ, टाढा–टाढाबाट रेखा थापा हेर्न आएको भनेर दर्शकको प्रतिक्रिया सुनेँ । तब मलाई यो त आफैँलाई चिन्ने र भेट्ने ठाउँ पो रहेछ भन्ने महसुस भयो ।

नाटकमा एउटा फरक खालको नशा र जीवन्तता हुँदो रहेछ । फिल्ममा छोटो समयको लागिमात्र अभिनयमा डुब्न पाइन्छ, तर रङ्गमञ्चमा पूरै समय त्यो चरित्रको जीवन जिउन पाइँदो रहेछ । रङ्गमञ्च एउटा नशा हो । रङ्गमञ्चमा पूरै एउटा चरित्रको जीवन बाँच्न पाइन्छ । त्यो यसको उत्कृष्ट पक्ष हो ।

  • के रहेछ रङ्गमञ्च ?

मेरो बुझाइमा रङ्गमञ्च नितान्त साधना हो । यहाँ आफूलाई प्रस्तुत गर्नु चानचुने कुरा होइन । नाटक प्रदर्शनका क्रममा मैले १५ दिनसम्म आफैँलाई एउटा साधकका रूपमा महसुस गरेँ । यसले मलाई परिमार्जित हुने अवसर दियो र रङ्गमञ्चप्रतिको मेरो दृष्टिकोण नै बदलिदियो । त्यो नाटकको अवधिभर मैले आफूले आफैँलाई एउटा साधक भएको महसुस गरेँ । रङ्गमञ्चप्रति यस अगाडि मेरो एक किसिमको दृष्टिकोण थियो, त्यो फेरियो ।

  • फिल्ममा जस्तो नाटकमा ‘रिटेक’को सुविधा हुँदैन, यसले अभिनयमा कत्तिको दबाब सिर्जना गर्‍यो ?

दबाबभन्दा पनि सुरुमा अलिकति सङ्कोच बढी थियो । व्यक्तिगत रूपमा भन्नुपर्दा सानी भान्जीलाई घरमा छोडेर आउनुपर्ने भएकाले मनमा अलिकति छटपटी भने हुन्थ्यो । तर अन्ततः नतिजा निकै राम्रो र सुखद् रह्यो ।

  • फिल्म र नाटकको चरित्र निर्वाहमा भिन्नता पनि पाउनुभयो कि ?

निकै भिन्नता छ । चलचित्रमा अभिनय गर्दा ‘कट’हुने सुविधा हुन्छ । रियाक्सन मिलेन भने फेरि आँशु वा हाँसो निकाल्न सकिन्छ, तर नाटक लाइभ हुने भएकाले त्यहाँ कुनै ‘कट’ हुँदैन । आँशु, हाँसो, रोदन सबै कुरा तत्कालै र निरन्तर रूपमा आउनुपर्छ । मैले जीवनमा धेरै फिल्म गरेँ, तर नाटक गर्दाजस्तो जीवन्त सन्तुष्टि र मज्जा कतै पनि पाएकी थिइनँ ।

  • नाटकमा दर्शकहरूको प्रतिक्रिया कस्तो रह्यो ?

दर्शकबाट प्रतिक्रिया पनि राम्रो लाग्यो । नाटकमा दर्शकको प्रतिक्रिया तुरुन्तै सुन्न पाइने हुनाले आफ्नो अभिनयलाई भोलिपल्टै सुधार्ने मौका मिल्छ । यसरी खारिँदै जाँदा नाटकको अन्तिम शोसम्म पुग्दा त क्यारेक्टर नै निकै माझिएर उत्कृष्ट बनिसक्दो रहेछ ।

जब हामी त्यो चरित्रमा भिज्न थाल्छौँ, तब सबै संवाद र हाउभाउ स्वतः आफैँभित्रबाट प्रस्फुटित हुन थाल्छन् ।
  • कतिपयले फिल्मका कलाकारको नाटक प्रवेशलाई अभिनय सिक्ने वर्कशपका रूपमा हेरेका छन्, के त्यो हो र ?

मैले आफ्नो अभिनय सुधार्नका लागि नाटक गरेकी होइन, ममा कुनै पनि चरित्र निर्वाह गर्न सक्ने आत्मविश्वास फिल्म क्षेत्रमा आउँदादेखि नै थियो । तर मैले जीवनमा कहिल्यै अभिनयको औपचारिक कक्षा वा साधना गरेकी थिइनँ । जे थियो, त्यो प्राकृतिक उपहार (गड गिफ्ट) नै थियो । नाटकमा काम गर्दा मैले आफूलाई पुनः मूल्याङ्कन गर्ने र आफ्नो कलालाई पुनर्जागृत (रिभाइभ) गर्ने अवसर पाएँ ।

  • नाटकको लामो संवाद र निरन्तरको मुभमेन्टले कलाकारलाई कत्तिको कठिन बनाउँछ ?

पटक्कै कठिन हुँदैन, यसले त झन् ऊर्जा दिने काम गर्छ । नाटकको प्रदर्शनअघि हामी १०–१५ दिन निरन्तर रिहर्सलमा बस्छौँ । जब हामी त्यो चरित्रमा भिज्न थाल्छौँ, तब सबै संवाद र हाउभाउ स्वतः आफैँभित्रबाट प्रस्फुटित हुन थाल्छन् । सुरुका दिनमा केही असहजता थियो । म स्टार भइसकेँ, अब के पाउनु थियो भन्ने अहङ्कार थियो । बिस्तारै आफूभित्रको कलाकारिताको अहङ्कार मेटिएको अनुभव भयो, जसको आनन्द अमूल्य छ ।

  • नाटकको सफल मञ्चनपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?

निकै राम्रो प्रतिक्रिया पाएँ । फिल्म क्षेत्रका धेरै निर्माता र निर्देशकहरू पनि नाटक हेर्न आउनुभएको थियो । मैले नाटकमा दोहोरो भूमिका (१८–२० वर्षकी युवती र वर्तमानको प्रौढ महिला) निर्वाह गरेकी थिएँ, जसलाई सबैले निकै रुचाउनुभयो र सकारात्मक प्रतिक्रिया दिनुभयो ।

  • नाटकको यो अनुभवले आगामी दिनमा फिल्म छनौटमा पनि मद्दत पुर्‍याउला नि, हैन ?

मेरो अहिलेसम्मको कला यात्रामा ‘स्क्रिप्ट छनोट’ भन्ने शब्द र अभ्यास नै छैन । म आफूलाई जस्तोसुकै कथा र स्क्रिप्टमा पनि ढाल्न सक्ने कलाकार मान्छु । लेखकले आफ्नो सिर्जना नराम्रो होस् भनेर लेखेको हुँदैन । त्यसैले, मलाई अफर आएका फिल्महरू समय मिलेसम्म र पारिश्रमिक तथा अन्य कुराहरू अनुकूल भएसम्म म स्वीकार गर्छु । जस्तोसुकै स्क्रिप्टलाई पनि न्याय गर्नु नै कलाकारको वास्तविक खुबी हो ।

म रङ्गमञ्चलाई निरन्तरता दिन चाहन्छु । नाटकका लागि पर्याप्त समय दिनुपर्ने हुन्छ, त्यसैले अनुकूल समय मिलाएर म भविष्यमा फेरि पनि नाटकहरूमा अभिनय गर्छु ।
  • नाटकको अनुभवपछि काम गर्ने शैली र अभिनयमा केही परिवर्तन आएको महसुस गर्नुभएको छ ?

बिल्कुल, मभित्र एउटा नयाँ ऊर्जा भरिएको छ र काम गर्ने शैलीमा पनि परिवर्तन आएको छ । मेरो आगामी फिल्म ‘३६ को आँकडा’मा दर्शकहरूले मेरो अभिनय र प्रस्तुतिमा स्पष्ट परिवर्तन र परिमार्जन देख्नुहुनेछ । प्राविधिक र व्यावहारिक दुवै हिसाबले मेरो अभिनय अझ परिपक्व बनेको मलाई महसुस भएको छ ।

  • आगामी दिनमा पनि रङ्गमञ्चलाई निरन्तरता दिनुहुन्छ कि पुग्यो ?

म रङ्गमञ्चलाई निरन्तरता दिन चाहन्छु । नाटकका लागि पर्याप्त समय दिनुपर्ने हुन्छ, त्यसैले अनुकूल समय मिलाएर म भविष्यमा फेरि पनि नाटकहरूमा अभिनय गर्छु ।

  • फिल्मका चलेका कलाकारहरू नाटकमा देखिँदा नाटक क्षेत्रलाई पनि फाइदा पुग्छ होला ?

फाइदा–बेफाइदा भन्दा पनि यदि कोही कलाकार कला क्षेत्रलाई साँच्चै नै माया गर्छ र आफूलाई कलाको वास्तविक साधक ठान्छ भने उसले जीवनमा कम्तीमा एकपटक रङ्गमञ्चमा उभिएर आफ्नो मूल्याङ्कन गर्नुपर्छ । नाटक गर्दा कलाकारको ओज घट्ने वा बढ्ने भन्ने हुँदैन, यसको अर्थ र गहिराइ निकै फरक हुन्छ । यो त केवल अनुभूत गर्ने कुरा हो, जसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप