लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
सारांश
- लुम्बिनी क्षेत्रको सडक निर्माण ठेक्कामा नेपाली, भारतीय र चिनियाँ कम्पनीहरूको प्रतिस्पर्धा देखिएको छ ।
- करिब १ अर्ब ३० करोड रुपैयाँको ठेक्कामा १२ वटा कम्पनीले टेन्डर हालेका छन्, जसमा १२ किलोमिटर सडक निर्माण गरिनेछ ।
- टेन्डर बुझाउने क्रममा अवरोध र झडप भएको थियो, जस सम्बन्धमा दुई जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
बुटवल । एसियाली विकास बैंक (एडीबी) अन्तर्गत लुम्बिनी क्षेत्रको सडक निर्माण ठेक्कामा नेपाली, भारतीय र चिनियाँ निर्माण कम्पनीहरूको प्रतिस्पर्धा देखिएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाअन्तर्गत महिला बारबाट झुलनीपुर हुँदै मोग्लहा–मसिना–कुकुरभुकवा भएर भैसहियासम्म सडक निर्माणका लागि करिब १ अर्ब ३० करोड रुपैयाँको ठेक्कामा १२ वटा कम्पनीले टेन्डर हालेका छन् ।
तीमध्ये अधिकांश भारतीय निर्माण कम्पनीहरूको सहभागिता छ । नेपाली, भारतीय र चिनियाँ कम्पनीहरूले संयुक्त तथा एकल दुवै रूपमा टेन्डर पेस गरेका हुन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका इन्जिनियर आशिष् यादवले उक्त ठेक्काका लागि चिनियादेखि भारतीय कम्पनीहरू प्रतिस्पर्धामा आएका रातोपाटीलाई बताए । १२ वटा टेन्डरमध्ये केवल ३ वटा कम्पनीले एकल रूपमा प्रस्ताव पेस गरेका छन् भने बाँकी सबै संयुक्त (ज्वाइन्ट भेन्चर) रूपमा सहभागी भएका छन् ।
एकल रूपमा टेन्डर हाल्नेमा नेपाली निर्माण कम्पनीहरू; लामा कन्स्ट्रक्सन प्रालि र शर्मा कन्स्ट्रक्सन प्रालि रहेका छन् । त्यस्तै भारतीय कम्पनी विजय कन्स्ट्रक्सन प्रालिले पनि एकल रूपमा टेन्डर दर्ता गराएको छ । अन्य कम्पनीहरू भने नेपाली निर्माण कम्पनीहरूसँग साझेदारी (ज्वाइन्ट भेन्चर) गर्दै टेन्डर प्रक्रियामा सहभागी भएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका इन्जिनियर यादवका अनुसार चिनियाँ तथा भारतीय कम्पनीहरूले नेपाली निर्माण कम्पनीहरूसँग संयुक्त रूपमा टेन्डर फारम बुझाएका छन् । र अहिले ती प्रस्तावहरूको मूल्यांकन प्रक्रिया जारी रहेको उनले जानकारी दिए । मूल्यांकन समितिमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, लेखाप्रमुख र इन्जिनियर यादव सदस्य छन् । केही दिनमै यसलाई टुंग्गाउने गरी मूल्यांकनको काम भइरहेको उनको भनाइ छ ।
प्रतिस्पर्धामा सहभागी हुने कम्पनीहरूमा लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, विजय कन्स्ट्रक्सन (भारत) प्रालि, शर्मा एण्ड कम्पनी प्रालि, एकल रूपमा टेन्डरमा सहभागी भएका छन् । दिवा–बाबुल–श्यामसुन्दर संयुक्त र ईके–केएमएसपीएल संयुक्त रहेका छन् ।
त्यस्तै निरज–फेवा संयुक्त, एनएनटी–नवसृजनशील, स्वच्छन्दा–रायमाझी, स्वीकार–अनु, टीएसआर–एआरटी वेदालय संयुक्त, भीबीईएल–गौरी पार्वती एलाइन संयुक्त र टीबी संयुक्त पनि छन् ।
उनका अनुसार यस सडक परियोजनाअन्तर्गत एक खण्डमा ८ किलोमिटर र अर्को खण्डमा ४ किलोमिटर गरी कुल १२ किलोमिटर सडक निर्माण गरिनेछ । एडीबीको मापदण्डअनुसार सडकमा कालोपत्र, नाली, करिब आधा दर्जन कल्भर्ट, सडक डिभाइडर तथा सीसीटीभी जडान गरिनेछ । यो आधुनिक सुविधासहित स्तरीय सडक हुने उनले बताए ।

यो १२ किलोमिटर सडक निर्माणका लागि दुई पटक अनलाइनमार्फत टेन्डर खुला गरे पनि नपरेपछि एडीबी केन्द्रीय कार्यालयको सल्लाहअनुसार नै हार्ड कपी बुझाउने टेन्डरको सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।
हार्ड कपी टेन्डर बुझाउने क्रममा केही युवाले अवरोध गरेका कारण झडपको अवस्थासमेत भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाअन्तर्गत भएको ठेक्का प्रक्रियामा दुई पटकसम्म अनलाइन ई–बिडिङ गर्दा पनि प्रक्रिया सफल हुन नसकेपछि एडीबी (एसियन डेभलपमेन्ट बैंक)को मुख्य कार्यालयको सल्लाहअनुसार हार्ड कपीमार्फत कागजात बुझाइएको कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले रातोपाटीलाई बताइन् । उनका अनुसार घटना भिडिओसमेत बाहिर आएको थियो ।
दुई जनाविरुद्ध मुद्दा
जेठ १८ गते टेन्डर फारम बुझाउने क्रममा उत्पन्न विवादसँग सम्बन्धित घटनामा प्रहरीले दुई जनाविरुद्ध हुलहुज्जतको मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार घटनापछि सीसीटीभी फुटेजका आधारमा नियन्त्रणमा लिइएका केहीलाई भने पछि छाडिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार जीवन श्रीवास्तव र शकिल अहमदविरुद्ध मुद्दा चलाइएको हो । उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थप गरिएको उनले बताए ।
टेन्डर बुझाउने क्रममा प्रहरीले सुरक्षा तथा सहजीकरण गर्न खोज्दा केही व्यक्तिहरूले प्रहरीमाथि नै आक्रमण गर्ने प्रयास गरेका र सो क्रममा केही प्रहरी सामान्य घाइते भएका पनि जनाइएको छ ।
प्रारम्भमा पाँच जनालाई नियन्त्रणमा लिइएको भए पनि पछि तीन जनालाई छाडिएको थियो ।
सुरुमै विवाद, आयोजना समयमै सकिनेमा शंका
करिब १ अर्ब ३० करोड रुपैयाँ लागतको उक्त सडक आयोजना लुम्बिनी सांस्कृतिक क्षेत्रको कनेक्टिभिटी र स्थानीय आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिएको छ । तर सुरुवाती चरणमै देखिएको विवाद र झडपका कारण आयोजना समयमै सम्पन्न हुनेमा स्थानीयवासीले शंका व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय दातृ निकाय (एडीबी)को लगानी रहेको परियोजनामा कार्यालय परिसरमै हुलहुज्जत भएको घटनाले लगानीकर्तामाझ नकारात्मक सन्देश जाने जोखिम रहेको स्थानीय सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दछन् ।
ई–टेन्डर प्रक्रिया प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नु र भौतिक रूपमा टेन्डर बुझाउनुपर्ने बाध्यता सिर्जना हुनु पनि विवाद बढ्नुको कारण भएको लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक राम विकास चौधरीले बताए ।
उक्त सडक नहुँदा स्थानीयवासीले विशेषगरी वर्षायाममा निकै कष्ट भोग्नुपरेको छ । केही महिनाअघि पनि लुम्बिनीका मुख्य सडक निर्माणका लागि स्थानीयले दबाब दिएका थिए । टेन्डर आह्वान भइसकेकाले अब जुन कम्पनीले ठेक्का पाए पनि छिटो र गुणस्तरीय रूपमा काम अघि बढोस् भन्ने स्थानीयको अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण