सचिवको एसएमएसमाथि प्रधानमन्त्रीको 'मजाक'लाई मन्त्री र सांसदको साथ
सारांश
- प्रधानमन्त्री बालेन शाहले सचिवले राजदूत बन्ने इच्छासहित पठाएको एसएमएसलाई लिएर फेसबुकमा व्यंग्यात्मक स्टाटस लेखेका छन् ।
- प्रधानमन्त्रीको स्टाटसमा मन्त्री, सांसद र अन्य व्यक्तिहरूले पनि रमाइला कमेन्टहरू गरेका छन् ।
- पूर्व अधिकारीहरूले सचिवको एसएमएस र प्रधानमन्त्रीको प्रतिक्रिया दुवै उपयुक्त नभएको र यसले कर्मचारीको मनोबल घटाउने बताएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखे । उनले ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न’ भन्दै लेखेको स्टाटसमा मन्त्री, सत्तारुढ दलका सांसद लगायतले ‘हसीमजाक’सहित कमेन्ट गरेका छन् ।
गत बिहीबार उपराष्ट्रपति कार्यालयका सचिव डा. कृष्णहरि पुस्करले आफूलाई राजदूत बन्ने इच्छासहित पठाएको एसएमएसलाई व्यङ्ग्य गर्न प्रधानमन्त्री शाहले त्यो स्टाटस लेखेका हुन् ।
सचिव डा. पुस्करले प्रधानमन्त्री शाहलाई लेखेको एसएमएसमा भनिएको थियो-
‘सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । नेपाल सरकारका सचिवको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ । सम्माननीयज्यू, यसरी हेर्दा मुख्यसचिव पदमा हजुरको विशेष ध्यान भएमात्रै, नत्र कुनै सम्भावना छैन हजुर । यही भएर मेरो सेवा निवृत्ति आगामी असार २४ गते सुनिश्चित छ । यसैबिच राजदूत पदका लागि विज्ञापन हेरेँ, हजुर । यस सम्बन्धमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु ।
आज्ञाकारी
कृष्णहरि पुस्कर
सचिव नेपाल सरकार
जलेश्वर ४ सुगा, महोत्तरी ।’

त्यही म्यासेजका कारण सचिव डा. पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार नै ७ घण्टा नियन्त्रणमा लिएर छोडेको थियो ।
त्यही विषयलाई व्यङ्ग्य गर्न प्रधानमन्त्री शाहले फेसबुकमा स्टाटस लेखेका हुन् । उनको त्यो स्टाटसमा सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कमेन्ट गर्दै लेखेका छन्, ‘म्यासेज गर्दिम्’ ।
उनले मात्रै होइन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू रञ्जु दर्शना भनेर चिनिने रञ्जु न्यौपाने र ज्वाला सङ्ग्रौला भनेर चिनिने टीका सङ्ग्रौलाले पनि कमेन्ट गरेका छन् ।
दर्शनाले कमेन्टमा लेखेकी छन्, ‘पीएम पनि एम्बासडर पनि बन्न पाइँदैन । एउटा चुज गर्नुस् पहिले ।’
सङ्ग्रौलाले कमेन्टमा लेखेकी छन्, ‘मसँग छ तर दिन्नँ ।’
उनीहरूले मात्रै होइन, ‘रुटिन अफ् नेपाल बन्द’ नामक फेसबुक पेजका मालिक भिक्टर पौडेल र फिल्म निर्माता आसिफ शाहले पनि मजाक झल्किने खालका कमेन्ट गरेका छन् । गायक दुर्गेश थापा, गायिका रचना रिमालसहित यो समाचार तयार पार्दासम्म स्टाटसमा १७ हजार ७ सयभन्दा बढी कमेन्ट आएका छन् र १ हजार ५ सयभन्दा बढीले स्टाटस सेयर गरेका छन् ।
यसले मुलुकको कार्यकारी प्रमुखले एउटा सचिवले सभ्य भाषामा आफूलाई व्यक्तिगत रूपमा पठाएको एसएमएसलाई हसिमजाक गरेर उडाउँदा अन्य सबै कर्मचारीको मनोबल कस्तो होला भन्ने प्रश्न उब्जिएको छ । अब प्रधानमन्त्री र मन्त्रीहरूलाई अत्यावश्यक कामबारे पनि कर्मचारीले जानकारी गराउलान् कि नगराउलान् भन्ने विषयमा पनि बहस सुरु भएको छ ।
पूर्वमुख्यसचिव डा. विमल कोइराला सचिव पुस्करले सिधै प्रधानमन्त्रीलाई राजदूत चाहियो भनेर म्यासेज लेख्ने र प्रधानमन्त्रीले त्यही म्यासेज लेख्यो भन्दैमा प्रहरी लगाएर केरकार गर्ने दुवै काम उपयुक्त नभएको बताउँछन् ।
_owrqJovre3.jpg)
‘सिधै प्रधानमन्त्रीलाई म्यासेज लेख्ने र म्यासेज लेखेकै आधारमा सचिवलाई प्रधानमन्त्रीले प्रहरी लगाएर केरकार गर्ने दुवै काम राम्रो होइन,’ पूर्वमुख्यसचिव डा.कोइरालाले रातोपाटीसँग भने, ‘सचिवले पनि व्यक्तिगत कामका लागि म्यासेज गर्नु हुँदैनथ्यो । प्रधानमन्त्रीले पनि प्रहरी लगाउन हुँदैनथ्यो ।’
डा. कोइरालाका अनुसार सचिवले एसएमएस लेखेकै विषयमा प्रहरीमा पुर्याउने र सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रधानमन्त्रीले व्यङ्य गर्ने कामले कर्मचारीको मनोबल खस्काउने र त्यसले कार्यसम्पादनमा असर पार्छ । ‘कार्यकारी नेतृत्वका यस्ता क्रियाकलापले निश्चितरूपमा खस्किन्छ,’ डा. कोइरालाले भने ।
लोकसेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वसचिव उमेश मैनाली नेतृत्व तहबाट कर्मचारीलाई हतोस्साही बनाउने काम गर्न नहुने बताउँछन् । कर्मचारी अनुशासनमा बस्नुपर्ने तर, कर्मचारीले सामान्य चेन अफ कमाण्ड मिच्यो भन्दैमा प्रहरीसम्म पुर्याउने काम गर्न नहुने उनको भनाइ छ ।

‘कर्मचारी अनुशासनमा बस्नुपर्छ । त्यो स्वाभाविक हो तर कर्मचारीले सामान्य चेन अफ कमाण्ड मिच्यो भन्दैमा प्रहरीमै पुर्याउने काम गर्न हुन्न । यतिसम्म गर्नु त्यति ठिक होइनजस्तो लाग्छ मलाई,’ मैनालीले रातोपाटीसँग भने, ‘त्यो किसिमको कर्मचारीलाई हतोत्साही बनाउने काम नेतृत्व तहबाट गर्नु हुँदैन ।’

अर्का पूर्वसचिव शारदाप्रसाद त्रिताल भने सचिव पुस्करले प्रधानमन्त्री शाहलाई गरेको एसएसएस मर्यादाका रूपमा त्यति उपयुक्त नभएको बताउँछन् । ‘अहिलेको समयमा टेक्नोलोजी प्रयोग गर्नु सजिलो र उपयुक्त देखिन्छ,’ त्रितालले रातोपाटीसँग भने, ‘तर मर्यादाका रूपमा त्यति उपयुक्त होइन, मानिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण