आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव

आइतबार, २४ जेठ २०८३, १७ : २९
आइतबार, २४ जेठ २०८३

सारांश

  • पछिल्लो ९ दिनमा देशका विभिन्न भागमा श्रीमानले श्रीमतीदेखि बाबुले छोराको हत्या जस्ता विभत्स घटनाहरू भएका छन् ।
  • विज्ञहरूका अनुसार यस्ता घटनाहरूमा वैदेशिक रोजगारको प्रभाव, सहनशीलताको कमी, कुण्ठा, तनाव, मानसिक रोग, सम्पत्ति विवाद, दण्डहीनता र प्रविधिको दुरुपयोग जस्ता कारणहरू जिम्मेवार छन् ।
  • समाजशास्त्रीहरूले व्यक्तिकेन्द्रित सोच हावी हुनु, पारिवारिक र सामाजिक भूमिका कमजोर हुनु तथा सरकार र राज्यले परिवर्तनशील परिवेशलाई बुझ्न नसक्नुलाई अपराध बढ्नुको कारण मानेका छन् ।

काठमाडौँ । पछिल्लो ९ दिनमा देशका विभिन्न भागमा विभत्स र डरलाग्दा हत्याका शृङ्खला देखा परेका छन् । यी घटनामा श्रीमानले श्रीमतीदेखि बाबुले छोरा र चिनजानकै पुरुषले महिलाको हत्या गरेको पाइएको छ । यस्ता घटनाले हाम्रो समाजमा मौलाएको अपराध, दण्डहीनताको कमी र समाजको चरित्रलाई समेत छर्लङ्ग पारेको छ ।

  • घटना नम्बर १ : ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापाद्वारा पत्नी ईश्वरी भुजेलको तारकेश्वर पैंयुटारमा हत्या । (२०८३ साल जेठ २२ गते) 
  • घटना नम्बर २ : भक्तपुर नगरपालिका वडा नं. १०, छालिङ रोडस्थित आर्मी ब्यारेक नजिक विदुर विश्वकर्माले आफ्नै श्रीमती सलिना तोलाङ्गे विश्वकर्मालाई खुकुरी प्रहार गरी हत्या । (जेठ २० बुधबार )
  • घटना नम्बर ३ : दैलेखमा अन्दाजी ७१ वर्षीय कम्बिराज थापाले ४६ वर्षीय छोरा यादव थापाको खुर्पा प्रहार गरेर हत्या (२०८३ जेठ १९ गते)
  • घटना नम्बर ४ : झापा, दमककी २१ वर्षीय रमा तिवारीको भारत घर भई दमक बस्ने ३४ वर्षीय राकेशकुमार पण्डितबाट हत्या । (जेठ १३ साझ हत्या, जेठ १६ गते शव भेटिएको)

माथिका चार वटा विभत्स हत्याका घटना काठमाडौँ, भक्तपुर, दैलेख र झापामा जम्मा नौ दिनको अन्तरालमा भएका हुन् । यी प्रतिनिधिमूलक घटनाहरू क्षणिक रिस र आवेगका उपज त हुँदैहुन्, त्यो बाहेक समाजमा भित्रभित्रै बढ्दै गएको डरलाग्दो मनोसामाजिक समस्या, दण्डहीनता र अराजकताको नमुना समेत हुनसक्ने मानवशास्त्री तथा समाजशास्त्रीहरूको बुझाइ छ ।

वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा. रञ्जनभक्त प्रधानाङ्गका अनुसार पछिल्ला केही अपराधका घटनाले हाम्रो समाजको चरित्र उजागरमात्र गरेको छैन, सामाजिक विखण्डनलाई कसरी सघाउ पुर्‍याइरहेको छ भन्ने चित्रण गर्दछ।

उनका अनुसार समाजमा यस्ता खालका विकृति बढ्नुमा एकमात्र कारण नभएर धेरै कारणले काम गरिरहेका छन् । ‘यस्ता विभत्स घटनाहरू हुन पुग्नुमा कतिपय वैदेशिक रोजगारको प्रभाव परेको देखिन्छ, जसले हाम्रो समाजका शृङ्खलालाई धेरै बिगार्दै गएको छ र अपराधहरू जन्माएको छ’, उनले भने, ‘अर्को कुरा, व्यक्ति र समाजमा सहनशीलता भन्ने कुरा अत्यन्त कम हुन पुग्दा अपराधका घटना बढ्न पुग्छन्।’

मानिस बाहिर खुसी देखिए पनि भित्रभित्रै कुण्ठा, तनाव र मानसिक रोगका कारण अपराधका घटनाहरू भइरहेको प्रधानाङ्ग बताउँछन् । ‘मानिसहरूमा अहिले सशहनशीलता नै छैन’, उनले भने, ‘नैतिक र सामाजिक मर्यादाबारे अध्ययनको कमीले पनि काम गरेको देखिन्छ ।’ विद्यालयदेखि विश्वविद्यालयसम्म नैतिक शिक्षाका विषय राख्नुपर्नेमा प्राध्यापक प्रधानाङ्गको सुझाव छ ।

‘पछिल्ला केही घटनामा पारिवारिक कहलमात्र होइन, त्यसका पछाडि कुनै न कुनै किमिसको रिलेसनसिपको कुरा पनि हुनसक्छ’, उनले भने, ‘परिवारमा रहेको सम्पत्ति पनि अर्को एउटा कारण हुनसक्छ ।’

उनका अनुसार नैतिक शिक्षाको अभाव र प्रविधिको तीव्रतर विकासका कारण मानिसहरू एक्लिँदै गएका छन् र समाज चाहिन्छ भन्ने भाव नै मरिरहेको छ । कतिपय कानुनका कारण पनि समस्या भइरहेको उनको बुझाई छ । ‘एउटा ल्यपटप र मोबाइल भयो भने समाज नै चाहिँदैन भनेजस्तो भइसकेको छ । यो खतरनाक पक्ष हो’, प्रधानाङ्गले भने, ‘यसकारण हामीले हाम्रो सिङ्गो समाजलाई नै दीक्षित गर्नुपर्ने आवश्यकता देखिन्छ ।’

त्यसबाहेक कतिपयले अपराध गरे पनि उम्किन सकिन्छ भन्ने दण्डहीनताको सोच मौलाउनुलाई समेत घटना बढ्नुको कारण बताइरहेका छन् । पीडितका गुनासो र निवेदनलाई सुरक्षा निकायले गम्भीरताका साथ नलिनु तथा राज्य र कानुनी डर कमजोर हुनु अर्को कारण हुनसक्ने कतिपयको भनाइ छ ।

मनोविद् तथा त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययनरत (एमफिल पीएचडी शोधार्थी) सावित्री गौतमको बुझाइमा दण्डहीनताको अभाव र मानिसहरूमा पावरप्रतिको दम्भका कारण घटनाहरू दोहोरिने गरेको हुनसक्छ ।

‘पुरुषले महिला वा श्रीमानले श्रीमतीलाई मारेको घटना १५९ र महिलाले पुरुष वा श्रीमतीले श्रीमानलाई मारेको घटना २८ को रेसियोमा देखिन्छ’, मनोविद् गौतमले भनिन्, ‘मानिसहरूको आपराधिक मानसिकतालाई कुनै पनि कुराले जस्टिफाई गर्न सकिँदैन ।’

यसरी अपराधका घटना हुनु भनेको समाज डरलाग्दो अवस्थातर्फ जाँदैछ भनेर बुझ्नुपर्ने गौतमको भनाइ छ । ‘हाम्रो समाज डरलाग्दो स्थितितिर जाँदैछ भनेर बुझ्न सकिन्छ भने अर्कोतर्फ श्रीमानले श्रीमतीको हत्या गर्ने ग्राफ बढ्नुमा पावर वा इगोको खेल हुनसक्छ भन्ने पनि बुझिन्छ ।’

उनले दण्डहीनताका कारण पनि मानिसहरू एकपछि अर्को अपराधमा संलग्न हुन पुगेको हुनसक्ने बताइन् ।

मानवशास्त्री डा.डम्बर चेम्जोङका अनुसार यस्ता घटना पहिला समेत हुने गरे पनि धेरै बाहिर आउने गरेका थिएनन् । पछिल्ला दिनमा सञ्चारको सहज पहँुच बढेसँगै घटानहरू सार्वजनिक हुन थालेको उनले बताए । ‘अहिले सञ्चारको सुविधा बढ्यो र धेरैले थाहा पाउने एउटा पक्ष भयो’, डा. चेम्जोङले भने, ‘तर समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिबाट हेर्दा हिजोको परिवारजस्तो आजको परिवार छैन ।’

Fullscreen capture 672026 52642 PM.bmp

हिजोका दिनमा सामूहिकता, पारिवारिकता, सामुदायिकता, नातागोताका आधारमा समाज निर्माण हुने गरेको र जसलाई सामाजिक संस्कार भन्ने गरिएको उनले बताए । ‘त्यो संस्कार र संस्थागत मूल्य–मान्यताले परिवार भएन भने म छैन, मेरो समाजले नै मलाई बनाएको हो भन्ने भाव हुन्थ्यो’, उनले रातोपाटीसँग भने, ‘तर अहिले व्यक्तिकेन्द्रित सोच हावी हुँदै आयो ।’

जसका कारण परिवार वा समाजको भूमिका, नाता, कुलकुटुम्बको भूमिका कमजोर हुँदै जान थालेको चेम्जोङको बुझाइ छ । ‘मेरो बाआमा, परिवारभन्दा पनि म हुँ भन्ने इगो समाजमा बढ्न पुग्यो ।’ उनले समाज कता जाँदैछ भन्दा पनि समाज कसरी र कुन रूपमा परिवर्तन हुँदैछ भनेर बुझ्नुपर्ने बताए ।

डा. चेम्जोङका अनुसार यो परिवर्तनको रूप हेर्दा मानिसहरू क्रमशः सामाजिकबाट वैयक्तिक हुँदै गएका छन् । ‘मानिसहरू सामाजिकबाट वैयक्तिक हुँदै गए । व्यक्तिपरस्त र वैयक्तिकतालाई सरकार, समाज र राज्यले कसरी र कुन गति र चरित्रको विकास भइरहेको छ भन्ने नबुझदा भदौ २३ र २४ को घटना हुन पुग्यो’, उनले भने ।

आजका व्यक्ति, परिवार र समाजलेमात्र नबनाउने उदाहरण दिँदै उनले भने, ‘सरकार र राज्यमा हुनेहरूले परिवेश परिवर्तन भएको अवस्थामा पुस्तान्तरण, रुपान्तरण र सोच परिवर्तनको सवाललाई ख्याल गर्न सक्नुपर्छ ।’

अपराध अनुसन्धानका विज्ञ तथा नेपाल प्रहरीका पूर्वएआईजी टेकप्रसाद राई नेपाली समाजमा सोसल मिडियाको प्रयोगसँगै बढ्दो दुरुपयोग, मानिसहरूमा नैतिक शिक्षाको अभाव र प्रविधिको गलत प्रयोगका कारण अपराधका घटनाहरू बढ्न पुगेको बताउँछन् । ‘सोसल मिडियाको सही उपयोग भएन । अर्थात् दुरुपयोग हुन थाल्यो’, उनले भने, ‘यसको नियमन आवश्यक देखिन्छ ।’

समाजलाई सही दिशामा ल्याउन सबैभन्दा पहिला व्यक्ति नै सचेत हुन जरुरी रहेको पूर्वएआईजी राईको भनाइ छ । ‘मेरो सुरक्षा गर्ने जिम्मा राज्यको हो भन्छौँ, तर त्यो सैद्धान्तिक विषयमात्र हो भनेर बुझ्नपर्छ र मेरो सुरक्षा म आफैँले गर्ने हो भन्ने बुझ्न जरुरी छ’, उनले पनि भदौ २३ र २४ कै उदाहरण दिँदै भने, ‘२३ र २४ को घटनामा स्टेट कहाँ थियो त ? देशमा आगो बलिरहेको थियो । स्टेटले व्यक्तिको सम्पत्ति त बचाउन सकेन नै, राज्यको सम्पति पनि बचाउन सकेन ।’

राईले सबैभन्दा ठुलो कुरा मानिसमा नैतिक शिक्षा अभाव हुँदा यौन, धनसम्पत्ति, रिस, आवेगजस्ता विषयहरू जोडिने भएकाले अपराधकर्ममा मानिसहरू सहभागी हुँदै गएको बताए ।
‘समग्रमा प्रविधिको विकासको गलत प्रयोग भइरहेको छ’, राईले रातोपाटीसँग भने, ‘हेर्दा विकास भएको देखिन्छ, तर एउटै घरका सदस्यबिचमा इन्ट्रयाक्सन हुन छाडेको छ । यसले समाजलाई थप दुर्घटनातिर लैजान्छ भन्ने चिन्ता बढेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप