सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
सारांश
- सुनसरीको देवानगन्ज र कप्तानगन्ज क्षेत्रमा दुई समुदायबीचको विवादले उग्र रूप लिँदा एक जनाको मृत्यु भएको छ र २२ जना घाइते भएका छन् ।
- प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि प्रशासनले कर्फ्यु जारी गरी सेना परिचालन गरेको छ ।
- गृह मन्त्रालयले घटनाको छानबिन गर्न समिति गठन गरेको छ र शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूलाई जिम्मेवारीबाट हटाएको छ ।
विराटनगर । सुनसरीको देवानगन्ज र कप्तानगन्ज क्षेत्रमा आइतबार राति सुरु भएको दुई समुदायबिचको विवादले उग्र रूप लिँदा सोमबार दिनभर नै जिल्लाको जनजीवन त्रसित र तनावपूर्ण बन्यो । प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले दिनभर विभिन्न स्थानमा तोडफोड, आगजनी र भौतिक आक्रमण गरे ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रशासनले कर्फ्यु जारी गर्दै नेपाली सेना परिचालन गर्यो भने गृह मन्त्रालयले स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई जिम्मेवारीबाट हटाउँदै छानबिन समिति गठन गरेको छ ।
सामान्य विवादबाट सुरु भएको हिंसा
साउनको सोमबारका लागि बोलबम यात्रामा निस्कने तयारीमा रहेको एक समूहले डीजे बजाएको र धार्मिक झण्डा राख्ने विषयलाई लिएर आइतबार राति करिब ९ बजेतिर देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबिच विवाद सुरु भएको थियो । बिजुलीको पोलमा एउटा समुदायको झण्डा हटाएर अर्को पक्षले आफ्नो झण्डा राखेको विषयले विवादको बिउ रोपेको थियो । सामान्य भनाभनबाट सुरु भएको झडपले केहीबेरमै हिंसात्मक रूप लियो । दुवै पक्षबाट लाठी, ढुङ्गा र भाला प्रहार हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।

सोही क्रममा गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो । घटनामा ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी गरी २२ जना घाइते भए । जसमध्ये धेरैको शरीरमा गोलीको चोट छ ।आइतबारको घटनापछि सोमबार बिहानैदेखि प्रदर्शनकारीहरू सडकमा उत्रिए । प्रशासनले बिहान ७ बजेदेखि नै कप्तानगन्ज, हरिनगरा, भुटाहा र देवानगन्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरे पनि प्रदर्शनकारीले त्यसको उल्लंघन गरे ।
आक्रोशित समूहले देवानगन्जमा स्थानीयको घर, हार्डवेयर पसल र घरअगाडि पार्किङ गरिएको ट्याक्टरमा आगजनी गरे । यस्तै, केही कच्ची घर र दुईवटा मोटरसाइकलमा समेत आगो लगाइयो । बजारका पसलका सामान निकालेर सडकमै जलाइएको दृश्यले युद्धमैदानको झल्को दियो ।
प्रदर्शनको राप जिल्ला सदरमुकाम इनरुवासम्म पुग्यो । करिब १५० जनाको समूहले इनरुवामा एक सर्वसाधारणमाथि निर्घात कुटपिट गरे भने बजाज शोरुम, म्याजिक गाडी र प्रहरी बिटमा तोडफोड गरे । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परे । देवानगन्ज–४ का एक युवकमाथि बजारबाट फर्कने क्रममा धारिलो हतियार प्रहार भयो । जसको अवस्था हाल गम्भीर छ ।
गृह मन्त्रालयको एक्सन
घटनाले गम्भीर मोड लिएपछि गृह मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितका सुरक्षा अधिकारीहरूलाई तत्कालै जिम्मेवारीबाट हटाएको छ । गृहमन्त्री सुधन गुरुङको निर्णयअनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएर संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ ।
त्यस्तै, कोशी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर त्यहाँ डीआईजी शेखर खनाललाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेलाई सरुवा गरी पुष्पराज मल्ललाई पठाइएको छ । सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । सुरक्षा संयन्त्रमा देखिएको कमजोरी र समन्वयको अभावलाई सम्बोधन गर्न सरकारले यो निर्णय लिएको हो ।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । सोमबारै गृहमन्त्री गुरुङले गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग सिंहदरबारमा छलफल गरी स्थिति नियन्त्रणमा लिन र थप क्षति हुन नदिन आवश्यक निर्देशन दिएका छन् ।
कप्तानगन्ज क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले नेपाली सेना परिचालन गरेको छ । बख्तरबन्द गाडीसहित सेनाको उपस्थिति भएपछि प्रदर्शनकारीहरू केही तितरबितर भएका छन् । तर त्रासको वातावरण अझै हटिसकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार हाल देवानगन्ज र कप्तानगन्जको अवस्था केही शान्त भए पनि राजमार्ग क्षेत्र र आसपासका गाउँहरूमा साना समूहहरू भेला हुने क्रम जारी छ ।
घाइतेहरूको अवस्था
विराटनगरका न्युरो, विराट नर्सिङ होम र नोबेल अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये १८ वर्षीय अमलेश मेहता, २२ वर्षीय मिथलेश यादव, २१ वर्षीय रवीन्द्र मेहता लगायतको अवस्था गम्भीर छ । धेरैको पेट, छाती र तिघ्रामा गोली लागेको चिकित्सकहरूले बताएका छन् । घाइते प्रहरीहरूमध्ये इन्स्पेक्टर राकेश राईको टाउकोमा गम्भीर चोट लागेको छ ।
सुनसरीमा भड्किएको यो साम्प्रदायिक तनावलाई मत्थर पार्न सोमबार नै सर्वदलीय र सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकले सामाजिक सद्भाव कायम राख्न, अफवाहको पछि नलाग्न र शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग पुर्याउन सबै राजनीतिक दल र नागरिक समाजलाई अपिल गरेको छ । देवानगन्ज गाउँपालिकाले घटनाको शोकमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले पनि यस घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अनुसन्धान सुरु गरेको जनाएको छ । आयोगले दोषीलाई कानुनी कठघरामा ल्याउन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।
अहिले सुनसरीका संवेदनशील क्षेत्रमा कफ्र्यु जारी छ । सेना गस्तीमा छ । नागरिकहरूलाई घरभित्रै बस्न र संयम अपनाउन प्रशासनले पटक–पटक आग्रह गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
-
डा.केसी–सरकारबिच सहमति : निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण