चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
सारांश
- गृहमन्त्री गुरुङले देशमा घटेका हरेक अपराध र घटनाका फाइलहरू खोलिने उद्घोष गरेका छन् ।
- उनले जेनजी आन्दोलनका मुद्दा, दरबार हत्याकाण्डको थप छानबिन, सूचना चुहावट रोक्न एसआईभीटी गठन र सीआईबीलाई सशक्त बनाउने चार महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका छन् ।
- उनले नागरिकको चरित्र हत्या गर्ने र मिडिया ट्रायलका नाममा दुःख दिने प्रवृत्तिप्रति कडा चेतावनी दिएका छन् ।
काठमाडौँ । गृहमन्त्री गुरुङले अबदेखि देशमा घटेका हरेक अपराध र घटनाका फाइलहरू खोलिने उद्घोष गरेका छन् । गृह मन्त्रालयका तर्फबाट चारवटा महत्त्वपूर्ण र गम्भीर निर्णयहरू सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको थप छानबिन गर्नेदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउनेसम्मका निर्णयहरू सुनाएका छन् ।
गृहमन्त्रीले सुनाएका ४ महत्त्वपूर्ण निर्णयहरू यसप्रकार छन् ।
१. जेनजी आन्दोलनका मुद्दाः जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा लगाइएका फौजदारी अभियोजनका मुद्दाहरू फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्न विशेष कार्यदल गठन गरिनेछ ।
२. दरबार हत्याकाण्डको थप छानबिनः विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाइनेछ ।
३. सूचना चुहावट रोक्न एसआईभीटी गठनः गृह मन्त्रालय र सुरक्षा निकायबाट हुने संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सुक्ष्म निगरानी गरी कारबाही गर्न सुरक्षा निकायमा सेन्सेटिभ इन्फर्मेसन भिजिलियन्स टिम (एसआईभीटी) गठन गरिनेछ ।
४. सीआईबीमा विशिष्टीकृत समूहः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त र प्रभावकारी बनाइनेछ । हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिँदै ब्युरोमा रहेका जघन्य, आर्थिक र सङ्गठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न प्रकृतिअनुरूपको विशिष्टीकृत समूह गठन गरिनेछ ।
'मिडिया ट्रायल र चरित्र हत्या सहन्नौँ'
निर्णय सुनाउनुअघि गृहमन्त्री गुरुङले नागरिकको चरित्र हत्या गर्ने र मिडिया ट्रायलका नाममा दुःख दिने प्रवृत्तिप्रति कडा चेतावनी दिएका थिए । विशेषगरी नेपाली महिला र चेलीहरूको चरित्र हत्या गर्ने प्रयास भएमा गृह मन्त्रालयले त्यसलाई अत्यन्त गम्भीरताका साथ लिने उनले स्पष्ट पारे ।
‘मिडिया ट्रायलको नाममा हाम्रो देशमा कसैले आत्महत्या गर्न नपरोस्, आइन्दा हाम्रो समाजमा यस्तो प्रवृत्ति नरहोस्,’ उनले भने, ‘कुनै नेपाली नागरिकको अपमान गर्न, चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय एकदम संवेदनशील भएर एक्सनमा उत्रिनेछ ।’
आफूमाथि जतिसुकै आरोप लागे पनि र आक्रमण भए पनि टेक्न सक्ने तर नागरिकलाई दुःख दिएको हेर्न नसक्ने उनको भनाइ थियो । आलोचना र आरोपहरू तथ्यमा आधारित हुनुपर्ने र तोडमोड गर्न नहुने भन्दै उनले भने, ‘जति अट्याक गर्नु छ बरु मलाई नै गर्नुहोला, नो प्रब्लम ।’
मन्त्रालयले गरेका निर्णयहरू अत्यन्तै गम्भीर रहेको बताउँदै मन्त्री गुरुङले अन्त्यमा भने, ‘अब हरेक फाइल खोलिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण