बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राखेप उपाध्यक्षको पदभार ग्रहण गर्दै विशाल श्रेष्ठले भने, ‘खेलमैदानबाट नेतृत्वमा आउँदा थप जिम्मेवारी बोध भएको छ’

बिहीबार, २८ जेठ २०८३, १८ : ०८
बिहीबार, २८ जेठ २०८३

सारांश

  • नवनियुक्त राखेप उपाध्यक्ष विशाल श्रेष्ठले खेलमैदानबाट नेतृत्वमा आउँदा थप जिम्मेवारी बोध भएको बताएका छन्।
  • श्रेष्ठले विगत दुई दशकदेखि खेलकुदमा रहेर देशको प्रतिनिधित्व गरेपछि अहिले यसै क्षेत्रको विकासमा काम गर्न यो जिम्मेवारी पाएकोमा सरकारलाई धन्यवाद व्यक्त गरे।
  • नवनियुक्त पदाधिकारी र सदस्यहरूले बिहीबार त्रिपुरेश्वरस्थित राखेप कार्यालय पुगेर आफ्नो पदभार सम्हालेका हुन्।

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले खेलमैदानबाट खेलकुद क्षेत्रको विकास गर्ने उच्च स्थानमा पुग्दा थप जिम्मेवारी बोध महसुस भएको बताएका छन्। 

त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा आयोजना गरिएको स्वागत तथा पदभार ग्रहण कार्यक्रमका अवसरमा उनले खेलमैदानमा खेल्दै यसै क्षेत्रको विकासका लागि काम गर्न पाउनु ठूलो अवसर रहेको बताएका हुन्।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर श्रेष्ठले विगत दुई दशकदेखि खेलकुदमा रहेर देशको प्रतिनिधित्व गर्ने सौभाग्य पाएपछि अहिले यसै क्षेत्रको विकासमा काम गर्न यो जिम्मेवारी दिएकोमा सरकारलाई धन्यवाद र आभार व्यक्त गरे। यो पदमा रहँदा सम्पूर्ण खेलकुद सङ्घसँग समन्वय गरी खेल विकासका लागि नेपाल सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने उनले विश्वास दिलाए। 

खेल मैदानबाट खेल विकासमा आउँदा धेरै खुसी लागेको र आफूले गर्नुपर्ने काम पनि धेरै रहेको उनले उल्लेख गरे। समग्र खेल विकासका लागि लागिपर्ने र त्यो सबै सरोकारवाला पक्ष एक भएर मात्र सम्भव हुने उनको भनाइ छ। सबै मिलेर नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

नेपाल सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ जारी गरेपछि एकैपल्ट एक हजार चार सय ९४ जना पदाधिकारी एकमुस्ट पदमुक्त भएका थिए। यससँगै राखेपको कार्यकारी समितिसहित बोर्ड नै रिक्त भएको थियो। 

सोही रिक्त पदमा बुधबार मात्र शिक्षा तथा खेलकुद मन्त्रालयले उपाध्यक्षमा विशाल श्रेष्ठसहित चार जना बोर्ड सदस्य नियुक्त गरेको हो। नियुक्त भएका चार सदस्यहरूमा पूर्वक्रिकेटर शक्ति गौचन, बुद्धिचालकी पूर्वराष्ट्रिय च्याम्पियन मोनालिसा खुम्बु, टेबल टेनिसकी सिक्का सुवाल र जेनजी प्रदर्शनका क्रममा घाइते भएका पवन शाही रहेका छन्।

यी नवनियुक्त पदाधिकारी र सदस्यहरूले बिहीबार त्रिपुरेश्वरस्थित राखेप कार्यालय पुगेर आफ्नो पदभार सम्हालेका हुन्। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहता र कर्मचारीहरूले उनीहरूलाई बधाई दिँदै स्वागत गरेका थिए। सदस्यसचिव मेहताले विशेष घडी र अवस्थामा नयाँ पदाधिकारीको आगमन भएकाले खेलकुदको गरिमा बढाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

खेलकुदमा धेरै राम्रो छ भन्ने वातावरण सिर्जना गर्न सरकार लागिरहेकाले त्यसमा नयाँ पदाधिकारीले राम्रो काम गर्ने आशा उनले व्यक्त गरे। खेलकुदका समस्यालाई समाधान गर्न मन्त्रालयले पनि ध्यान दिएको बताउँदै उनले खेललाई व्यावसायिक बनाउन नवनियुक्त पदाधिकारीको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे। अहिले खेलकुदमा देखिएका समस्या हटाउँदै लैजाने प्रयासमा खेलकुद परिषद् लागिरहेको उनको भनाइ छ।

पूर्वराष्ट्रिय खेलाडी विशाल श्रेष्ठले बिहीबार राखेपको उपाध्यक्षमा नियुक्त भएसँगै सामाजिक सञ्जालमार्फत व्यावसायिक फुटबल करियरबाट संन्यासको घोषणा समेत गरेका छन्। पछिल्लो समय मच्छिन्द्र क्लबबाट खेल्दै आएका उनले सोही माध्यमबाट संन्यासको जानकारी दिएका हुन्। उनले २०८० साल पुस ७ गते नै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका थिए। ३३ वर्षीय विशालले मनाङ मर्स्याङ्दी, नेपाल पुलिस र मच्छिन्द्रबाट घरेलु लिग खेलिसकेका छन् भने बुटवल लुम्बिनी एफसी र एफसी चितवनबाट नेपाल सुपर लिग (एनएसएल) खेलेका छन्।

त्यस्तै राखेप बोर्ड सदस्यमा नियुक्त भएका शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वस्पिनर तथा प्रशिक्षक शक्तिप्रसाद गौचन हुन्। सदस्यमै नियुक्त भएकी मोनालिसा खुम्बू बुद्धिचालकी पूर्व राष्ट्रिय च्याम्पियन हुन् भने सिक्का सुवाल पनि टेबल टेनिसकी राष्ट्रिय खेलाडी हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप