पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
सारांश
- नेपाल प्रजा परिषद्, टंकप्रसाद आचार्यको नेतृत्वमा १९९३ जेठ २० गते स्थापना भएको नेपालको पहिलो राजनीतिक दल, इतिहासमा विलुप्त भएको छ ।
- राणा शासनविरुद्ध क्रान्तिमा लागेको यो दलका सदस्यहरू १९९७ सालमा मारिए र २००७ सालको क्रान्तिपछि यसको शक्ति घट्दै गयो ।
- २०७४ कात्तिक २३ गते नेपाल प्रजा परिषद् र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) बीच एकीकरण भयो ।
काठमाडौँ । निरंकुश जाहानीय राणा शासनविरुद्ध क्रान्तिको बिगुल फुकेको नेपाल प्रजा परिषद् इतिहासको पानामा विलुप्त भएको छ ।
टंकप्रसाद आचार्यको नेतृत्वमा १९९३ जेठ २० गते नेपाल प्रजा परिषद्को स्थापना भएको थियो । नेपालकोे पहिलो राजनीतिक दलविरुद्ध राणा शासकहरूले अनेकौँ हत्या षड्यन्त्र रचे र सङ्गठन ध्वस्त भयो ।
१९९७ सालमा यसका केही प्रमुख सदस्यहरू; दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ लगायतको हत्या गरियो । २००७ सालको क्रान्ति सफल भएपश्चात् राणाहरूलाई सत्ताबाट हटाइएको थियो ।
लोकतन्त्रको स्थापना भएसँगै आचार्य जेलबाट रिहा भए । त्यतिबेला उनी नेपाली कांग्रेसका वरिष्ठ सदस्य थिए । तर पार्टीभित्र मात्रिका प्रसाद कोइराला र बीपी कोइरालाबिच विवाद बढ्दै गयो । पार्टीसँग असहमतिका कारण आचार्य र भद्रकाली मिश्र पार्टीबाट अलग भए ।
आचार्यले २०१५ मा प्रजा परिषद्लाई पुनः सक्रिय गरे । २०१२ सालमा राजा महेन्द्रले प्रधानमन्त्री उनलाई प्रधानमन्त्री बनाइदिए । यद्यपि, आम निर्वाचन २०१५ मा आचार्य र मिश्रले अलग–अलग चुनाव लडे ।
निर्वाचनमा नेपाल प्रजा परिषद्(आचार्य) र नेपाल प्रजा परिषद्(मिश्र) को रूपमा भाग लिए । त्यस निर्वाचनमा आचार्य समूहले ५३ हजार ३८ मतसहित २ सिट जितेको थियो । मिश्रको समूहले ४९ हजार ८२० मत प्राप्त गर्दै १ सिट जितेको थियो ।
२०१७ मा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरी पञ्चायत व्यवस्था लागु गरेपछि मिश्र समूह नेपाली कांग्रेसमा विलय भयो ।
नेपालको पहिलो क्रान्तिकारी राजनीतिक दल प्रजा परिषद् र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) बिच २०७४ कात्तिक २३ गते एकीकरण भयो । राणा शासनको अन्त्यसँगै शक्ति गुमाउँदै गएको यो दलका तत्कालीन अध्यक्ष गोविन्दप्रसाद दुलाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकता सहमतिमा हस्ताक्षर गरेका थिए ।

- कसरी खुल्यो प्रजा परिषद् ?
एक शताब्दीभन्दा बढी सत्ता कब्जा गरेर बसेको राणा शासनविरुद्ध त्यतिबेला कसैले बोल्न आँट गर्ने वातावरण थिएन । तर टंक प्रसाद आचार्य, दशरथ चन्द, रामहरि शर्मा, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठलगायत सचेत जागरुक युवाको अग्रसरतामा यो पार्टी खुलेको थियो ।
छिमेकी देश भारतमा महात्मा गान्धीको आह्वानमा ‘भारत छोड आन्दोलन’ सुरु भएको बेला काम तथा अन्य प्रयोजनका लागि त्यहाँ यी युवाहरू (माथि नाम उल्लेख) आन्दोलनबाट प्रभावित भएका थिए । त्यहाँ रहँदा देखेको र प्रत्यक्ष अनुभव सम्हालेका युवाको सक्रियतामा नेपालमा राणा शासन अन्त्य गर्ने उद्देश्यसाथ आचार्य र चन्दको अध्यक्षता प्रजा परिषद स्थापना भएको थियो । यद्यपि, त्यस पार्टीको स्थापना हुनुपूर्व शुक्रराज शास्त्रीको अध्यक्षतामा ‘नेपाल नागरिक अधिकार समिति’ गठन भएको थियो, जसलाई तत्कालीन राणा सरकारले गठनको एक वर्षपछि खारेज गरिदिएको थियो ।
टंकप्रसाद आचार्य, दशरथ चन्द, रामहरि शर्मा, धर्मभक्त माथेमा, जीवराज शर्मा मिलेर राणा शासनविरुद्ध आन्दोलन गर्न पार्टी स्थापना अनिवार्य रहेको निष्कर्षमा पुगे । आचार्य र चन्दले मकवानपुरको भीमफेदीमा एउटा होटलमा नेपाल प्रजा परिषद् नाम प्रस्ताव गरेका थिए ।
वर्षौैंसम्म जरा गाडेर बसेको तानाशाही राणा शासन उखेलेर फाल्न उनीहरूले आन्दोलन घोषणा गरे । यद्यपि त्यस आन्दोलनलाई त्यतिबेलाका उच्च वर्गका बुद्धिजीवीहरू अशिक्षित, मजदुर, किसानको पक्षमा सहयोग गर्न तयार थिएनन् । तर, आचार्य र चन्दको अभियानलाई अन्य वर्गको समर्थन भएपछि यो पार्टी गठन भयो ।
यसको प्रधान कार्यालय काठमाडौँको ओमबहालमा धर्मभक्त माथेमाको घरमा राखिएको थियो । उनी तत्कालीन राजा त्रिभुवनका जिम प्रशिक्षक पनि थिए । यस संगठनका अन्य सदस्यहरूमा चूडाप्रसाद शर्मा, गोविन्द प्रसाद उपाध्याय (पौडयाल), पुस्कर नाथ उप्रेती, मुकुन्द नाथ रिमाल, बल बहादुर पाण्डे, ध्रुवप्रसाद दवाडे, फणीन्द्र नाथ सत्याल, हरि कृष्ण श्रेष्ठ, चक्र बहादुर खत्री, गणेशमान सिंह, रामजी श्रेष्ठ, चन्द्रमान श्रेष्ठ र बझाङका राजा जयपृथ्वी बहादुर सिंह थिए । त्यस आन्दोलनलाई राजा त्रिभुवनले अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए ।
प्रारम्भमा प्रजा परिषद्ले हातबाट लेखिएका पर्चा बाँडेको थियो । नेपालमा राणा शासनविरुद्ध एक भारतीय समाजवादी पत्र ‘जनता’ र कलकत्ताबाट प्रकाशित एउटा अर्को पत्र ‘एडभान्स’ले लेखेका थिए । पछि टंक प्रसाद आचार्यले भारतबाट एउटा प्रिन्टिङमेसिन ल्याए । पार्टीले आम जनता प्रभावित पार्न राणा शासनविरुद्ध पर्चा वितरण गरेको थियो । समाचारपत्रहरूमा लेख छाप्ने र पर्खालहरूमा पोस्टर लगाउन सुरु गरिदिएका थिए । पछि राणाका उच्च पदाधिकारीहरूको हत्या गर्ने योजना बनाएको सूचना पाएपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले समूहका प्रमुख सदस्यहरूलाई गिरफ्तार गर्न लगाए । १९९७ सालमा धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र टङ्कप्रसाद आचार्यलाई मृत्युदण्ड सुनाइयो । आचार्य ब्राह्मण भएकाले फाँसीको सजाय दिइएको दिइएन । त्यस समयमा नेपाली कानुनले ब्राह्मण हत्या गर्न बन्देज लगाएको थियो ।
त्यसको निष्पादन(तामेली)पछि आचार्यलाई आजीवन कारावासको सजाय बदली गरिएको थियो । प्रमुख नेताहरूलाई मृत्युदण्ड दिइएपछि प्रजा परिषद् त्यही वर्ष विघटन गराइएको थियो । राणाविरोधी बुद्धिजीवी रहेका शुक्रराज शास्त्री(जो त्यस आन्दोलनमा सहभागी थिएनन्), माथेमा, चन्द र श्रेष्ठलाई मृत्युदण्ड दिइयो । निरंकुश राणा शासनविरुद्ध आहुती दिने चार सहिदका रूपमा उनीहरू चिनिन्छन् ।
जेलमा रहेका आचार्यलाई सभापति मानेर २००२ माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेस गठन भएको थियो । तर, जेलमा रहेकाले नेपाली कांग्रेससँग संवाद अगाडि बढाउन सकेन । पछि बीपी कोइराला उक्त पार्टीका कार्यवाहक सभापतिमा चयन भएका थिए ।
२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी निरंकुश पञ्चायती व्यवस्था लादेपछि आचार्य राजनीतिमा निष्क्रिय देखिए । पार्टीको गतिविधि पनि अगाडि बढ्न सकेन । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा पार्टीले केही क्षेत्रमा उम्मेदवारी दिएको गोविन्द प्रसाद दुलालले जानकारी दिए ।
दुलालका अनुसार २०५३ सालमा पार्टीको पाँचौ महाधिवेशन सर्लाहीमा भएको थियो । राणाविरोधी आन्दोलनका ‘जिउँदा सहिद’का नामले चिनिएका अध्यक्ष रामहरि शर्माको २०६९ साल असोज २४ गते निधन भएपछि पार्टी लगभग विघटनको अवस्थामा पुगेको थियो । शर्माको निधनपछि दुलालले नेतृत्व सम्हालेका थिए ।
- एमालेमा कसरी विलय भयो ?
गर्विलो इतिहास बोकेको क्रान्तिकारी पार्टी विलयको अवस्थामा कसरी पुग्यो ? नेपाल प्रजा परिषदका तत्कालीन अध्यक्ष तथा हाल एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य रहेका गोविन्द प्रसाद दुलालको विचार जस्ताको तस्तै प्रस्तुत गरिएको छ :

२०५३ सालमा सर्लाहीको नयाँ रोड भन्ने ठाउँमा पाँचौँ महाधिवेशन भयो । त्यो महाधिवेशनले रामहरि शर्माको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति बनाएको थियो । त्यो महाधिवेशन पछाडि औपचारिक रुपमा प्रजा परिषदको महाधिवेशन हुन सकेन । जेष्ठ नागरिक भएका उहाँ(रामहरि)को क्रियाशीलता पनि कम हुँदै गयो । माओवादी जनयुद्धका कुराहरूले पनि संगठनमा त्यति लाग्न सकिएन । त्यसपछि पार्टीका गतिविधिहरू कम हुँदै गए । २०५६ सालको निर्वाचनमा प्रजा परिषदले २१/२२ ठाउँमा उमेदवारी दिएको थियो । काठमाडौँ–२ बाट डा. मीना आचार्य, संस्थापक अध्यक्ष टंकप्रसादजीकै छोरी उठ्नुभएको थियो । अलि थोरै मत आएपछि २०६२/६३ को आन्दोलनको पूर्व सन्ध्यामा उहाँ(मीना)ले अब बौद्धिक मान्छेहरूले राजनीति गर्न गाह्रो रहेछ भन्ने महसुस गरेर युवा पुस्तालाई अगाडि सार्नुभयो । मीनाजी सल्लाहकारमा बस्नुभयो ।
२०५६ सालमा म पार्टीको प्रवक्ता थिएँ । विद्यार्थी संगठनको अध्यक्षबाट छोडेर पार्टीको प्रवक्ताको जिम्मेवारीमा थिएँ, मुख्य प्रचारक नै थिएँ । निर्वाचनमा प्रजा परिषदले आशा गरे अनुसार मत प्राप्त गर्न सकेन । त्यसपछि हामीले साना प्रजातान्त्रिक पार्टीहरूको एउटा मोर्चा बनायौँ । प्रजा परिषद, जनता परिषद, हरियाली, प्रजातान्त्रिक लोकदल, राप्रपा राष्ट्रवादी लगायतको एउटा मोर्चा थियो । निर्वाचनमा सबै मोर्चाहरूले आ–आफ्नै किसिमका उमेदवार दिन थालेपछि त्यो मोर्चाले पनि काम गर्न सकेन । यही क्रममा हामीले पार्टीको गतिविधि अगाडि बढाउन सकेनौँ । प्रजा परिषदले गणतन्त्र प्राप्तिकै लागि आन्दोलन गर्यो । गणतन्त्रका लागि आन्दोलनमा सरिक भयो । खगणतान्त्रिक आन्दोलन हुने बेलामा केशव स्थापित पार्टीको कार्यवाहक सभापति बन्न आइपुग्नुभयो । उहाँ एमाले र माले एकीकरणमा जानुभएन । प्रजा परिषदमा आएर केही समय काम गर्नुभयो । केशवजीको नेतृत्वमा त्यो बेलामा गणतान्त्रिक आन्दोलनमा सहभागी भएका थियौँ । २०६२/६३ को आन्दोलनमा म, केशव, भीम कडायत लगायत पक्राउ पर्यौँ । गणतन्त्र प्राप्ति र त्यसपछिको नयाँ संविधान निर्माणले ३ प्रतिशत थ्रेसहोल्ड, एक सिट प्रत्यक्ष जित्नुपर्ने लगायतका प्रावधानले पार्टी संचालन गर्न सक्दैन भन्ने टुङ्गोमा पुग्यौँ । यसै बिचमा हाम्रो श्रद्धेय अध्यक्ष रामहरि बुवाको पनि स्वर्गारोहण भयो । उहाँ हुन्जेलसम्म हामीले प्रजा परिषदलाई एकीकरण गर्ने या केही गर्ने भन्ने विषय कुरा उठाएनौँ । उहाँले त्यो कुरा स्वीकार पनि गर्नुभएको थिएन । उहाँको निधनपछि अघिल्लो पुस्ताहरू सबै सकिने, नयाँ पुस्ताहरूले संगठन र पार्टीलाई अगाडि बढाउन नसक्ने भएपछि के गर्ने भन्ने प्रसङ्ग चल्यो । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानमा पनि प्रजा परिषदलाई के गर्ने भन्ने विषयमा छलफल भयो । त्यो बेलामा प्रतिष्ठानको अध्यक्ष दमननाथ ढुङ्गाना हुनुहुन्थ्यो । छलफल हुँदाखेरि पार्टीको कुरा पार्टीले नै गर्ने हो, प्रतिष्ठानले केही नबोल्ने भन्ने निर्णयमा प्रतिष्ठानका अग्रजहरू पुग्नुभयो । त्यसपछि पार्टीमा जिम्मेवारीको क्रममा भीम कडायतजी उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ पनि माओवादी जनयुद्ध समाप्त पछि माओवादीतिर प्रवेश गर्नुभयो । केशव स्थापित पनि बागमती सुधार आयोजनाको प्रमुख भएर गइसकेपछि दोस्रो उपाध्यक्षको हिसाबले पार्टीको जिम्मेवारी मेरो काँधमा आयो । मैले २०६४/६५ सालमा युवा भेला गरेर पार्टीलाई अगाडि बढाउन सकिन्छ कि सकिँदैन भनेर छलफल गरेँ ।
त्यतिबेला मैले नेतृत्व लिइसकेको थिइनँ । राहरि बुवाले युवा भेला गर्नुस् भनेर एउटा चिठ्ठी दिनुभयो । महाधिवेशनको तयारीका लागि आयोजक समिति बनाउने गरी युवा भेलाको तयारी गर्नुस् भनेर चिठी दिनुभएको थियो । म त्यतिबेला प्रवक्ता थिएँ । त्यो चिठ्ठीको आधारमा मैले भेला गरेँ । तर त्यो भेलाले पनि खासै पार्टीलाई अगाडि बढाउन सकेन । त्यसपछि हामीले के गर्ने भन्ने विषयमा छलफल गर्यौँ । छलफल हुँदै जाँदा दुई वर्ष त्यत्तिकै बित्यो । त्यसपछि २०७४ सालमा आइपुग्दा विभिन्न कोणबाट कुरा आउन थाले । प्रजा परिषद नाम मात्र राख्ने एउटा विज्ञप्ति मात्र निकाल्ने, त्यसपछि यो पार्टी छ कि छैन भन्ने कुराहरू आउन थाल्यो । एउटा कालखण्डमा महत्वपूर्ण काम पुरा गरिसकेको, प्रजा परिषदको स्थापनाको मुख्य उद्देश्य राणा शासनको अन्त्य थियो । त्यो काम पुरा गर्यो । त्यसकारण यसको जिम्मेवारी सकियो विघटन गरिदिउँ भन्ने पनि प्रसङ्ग प्रतिष्ठान र पार्टीमा चल्यो । र, मैले विभटन गर्ने कुरा राम्रो होइन, बरु एकीकरण गर्दा इतिहास एक ठाउँमा रहन्छ भन्ने प्रस्ताव राखेँ । मेरो कुरालाई युवा साथीहरूले सहमत गर्नुभयो । त्यसपछि पार्टी एकीकरणमा जाने कुरा आयो । कोसँग एकीकरण गर्ने भन्ने कुरामा लामो छलफल भयो । करिब तीन–चार महिना हामी त्यसमा छलफलमा लाग्यौँ । भारतको कलकत्तामा २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलनले पनि टंकप्रसादलाई अध्यक्ष बनाएर बीपी आफू कार्यवाहक बन्नुभएको थियो । त्यही सन्दर्भमा केही साथीहरूले नेपाली कांग्रेससँग एकीकरण गर्नुपर्छ भन्ने प्रस्ताव राख्नुभयो । अग्रजहरूसँग छलफल गर्दा टंकप्रसाद जेलबाट छुटिसकेपछि पुष्पलालको उपस्थितिमा भएको संयुक्त मोर्चाले अध्यक्ष बनायो थाहा भयो । उहाँ वामपन्थीहरूसँग नजिक भएर काम गर्नुभएको इतिहास फेला पार्यौँ । त्यस्तै उहाँ २०१३ सालमा प्रधानमन्त्री हुँदा कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध फुकुवा गर्नुभएको इतिहास सबैमा जानकारी नै छ । २०१० सालमा प्रतिबन्ध भएको नेपाल कम्युनिष्ट पार्टी २०१३ सालमा टंकप्रसादकै क्याबिनेटले प्रतिबन्ध फुकुवा भएको थियो । वामपन्थीहरूले पहिलो चोटी दरबारलाई चुनौती दिनका लागि रथ तानेर राजा महाराजाको मात्र होइन जनताका छोराले पनि रथारोहण गर्न पाइन्छ भनेर उहाँको २०४५ सालतिर ७५ औँ हीरक जयन्ती वामपन्थीहरूकै अग्रसरतामा मनाइएको थियो ।
यी सबै कुरालाई हेर्दा टंकप्रसाद वामपन्थीहरूसँग नजिक हुनुहुन्थ्यो त्यसैले वामपन्थीहरूसँगै एकीकरण गरौँ भन्ने कुरा भयो । वामपन्थी भित्रको नेकपा एमालेसँगै गर्ने भन्ने निर्णयमा हामी पुग्यौँ । २०७४ साल कात्तिक २३ गते एमाले र नेपाल प्रजा परिषदबिच एकीकरण भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण