आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति

विश्वविद्यालयहरूलाई रास्वपाकरण गर्न खोजिएको आशङ्का
आइतबार, ३१ जेठ २०८३, १८ : ४१
आइतबार, ३१ जेठ २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियुले विश्वविद्यालयका नियुक्तिहरूमा राजनीतिक हस्तक्षेपको विरोध गरेको छ।
  • रास्वपा महामन्त्रीको नियुक्तिमा १ नम्बर थप्ने अभिव्यक्तिले विश्वविद्यालयलाई रास्वपाकरण गर्न खोजिएको आशङ्का स्ववियुले व्यक्त गरेको छ।
  • स्ववियुले विश्वविद्यालयको स्वायत्तता र योग्यता प्रणालीको मर्ममाथि प्रहार भएको भन्दै नियुक्ति प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने माग गरेको छ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालयका नियुक्तिहरूमा राजनीतिक हस्तक्षेप र दलगत भागबन्डा हुन खोजेको भन्दै आपत्ति जनाएको छ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले रास्वपाको झण्डा बोकेको वा भोट मागेको व्यक्तिलाई नियुक्तिमा १ नम्बर थप्ने भनी दिएको अभिव्यक्तिप्रति स्ववियुले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

स्ववियु अध्यक्ष दिपक राज जोशीले जारी गरेको विज्ञप्तिमा यस्ता अभिव्यक्तिले त्रिविमा उपकुलपति लगायतका विभिन्न पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा समेत सत्तारूढ दलको अनुचित हस्तक्षेप बढाई विश्वविद्यालयलाई रास्वपाकरण गर्न खोजिएको आशङ्का उब्जाएको र यसले सक्षम एवं इमानदार व्यक्तिहरूलाई निरुत्साहित गर्ने उल्लेख छ।

विश्वविद्यालय कुनै पनि राजनीतिक दलको भर्ती केन्द्र नभई ज्ञान, अनुसन्धान र योग्यताका आधारमा चल्ने स्वायत्त प्राज्ञिक थलो हुनुपर्नेमा स्ववियुले जोड दिएको छ । महामन्त्री बुर्लाकोटीको अभिव्यक्तिले विश्वविद्यालयको स्वायत्तता र मेरिटोक्रेसी (योग्यता प्रणाली) को मूल मर्ममाथि गम्भीर प्रहार गरेको ठहर गर्दै स्ववियुले उक्त अभिव्यक्तिको घोर निन्दा गरेको छ । 

साथै स्ववियुले त्रिवि लगायत सम्पूर्ण सार्वजनिक निकायमा हुने नियुक्तिहरू पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्ने माग गर्दै सम्बन्धित पक्षलाई यसको यथार्थ स्पष्ट पार्न र आगामी नियुक्ति प्रक्रियालाई पूर्ण रूपमा योग्यतामा आधारित बनाउने प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेको छ।

d

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप