सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई

सोमबार, ०१ असार २०८३, ०७ : ०९
सोमबार, ०१ असार २०८३

सारांश

  • निसान्त विक र संगीना थापा मगर '९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३' मा प्रथम भएका छन्।
  • उनीहरूले नगद तीन लाख रुपैयाँसहित रनिङ शिल्ड प्राप्त गरे।
  • यो प्रतियोगिता नुवाकोटको विदुर नगरपालिकामा तीन दिनसम्म चलेको थियो।

काठमाडौँ। ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर प्रथम घोषित भएका छन्। 

प्रतिष्ठान उपत्यका समन्वय समिति (ख) का तर्फबाट मैदानमा उत्रिएका उनीहरूले आइतबार अबेर राति सम्पन्न फाइनल प्रतिस्पर्धामा अन्य १७ टोलीलाई पछि पार्दै शीर्ष विजेता बन्न सफल भएका हुन्। प्रथम स्थान हासिल गरेका विक र थापा मगरले रनिङ शिल्डसहित नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा नुवाकोटको विदुर नगरपालिकास्थित ईलम प्रशिक्षण केन्द्रमा तीन दिनसम्म चलेको यो प्रतियोगितामा सरोज सिंखडा र जमुना विश्वकर्मा द्वितीय बन्न सफल भए। प्रतिष्ठान बागमती प्रदेश (क) को प्रतिनिधित्व गरेका उनीहरूले दुई लाख रुपैयाँ पुरस्कार पाए। त्यसैगरी, प्रतिष्ठान मधेश प्रदेश (क) का मानव रावत क्षेत्री र भावना अर्याल तृतीय घोषित हुँदै एक लाख रुपैयाँ हात पार्न सफल भए भने प्रतिष्ठान लुम्बिनी प्रदेश (ख) का राजमान खत्री र शान्ता वलीले ५० हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्राप्त गरे।

जेठ २९ गते भव्य उद्घाटनका साथ सुरु भई ३१ गतेसम्म चलेको प्रतियोगितामा विभिन्न विधागत पुरस्कारहरू पनि वितरण गरियो। जसअनुसार उत्कृष्ट गायक राजु लामिछाने, उत्कृष्ट गायिका जमुना सुनार, उत्कृष्ट नव गायक विक्रम गहतराज र उत्कृष्ट नव गायिका शितल कल्पना विक घोषित भए। त्यसैगरी, अनुशासित गायक बेल बहादुर परियार, अनुशासित गायिका शान्ति कार्की, उत्कृष्ट भेषभूषा पुरुषतर्फ प्रितम पोखरेल र उत्कृष्ट भेषभूषा महिलातर्फ सीता माझी बन्न सफल भए।

नेपाली लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सोचेभन्दा भव्य भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन्। प्रतियोगिता अगाडि सहभागी टोलीलाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट समितिले फाइनलका लागि १८ टोली छनोट गरेको थियो।

थुप्रै चर्चित लोकगायक, गायिका, राजनीतिक नेता तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको यो प्रतियोगिताको मूल समारोहको संयोजक प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगर आफैँ रहेकी थिइन्। त्यस्तै सह–संयोजकमा प्रशासनिक उपाध्यक्ष दीपक खड्का, उप–संयोजकमा केन्द्रीय सदस्य उषा सुवेदी र कार्यक्रम निर्देशकका रूपमा उज्ज्वल जङ्ग ठकुरी रहेका थिए। सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले सम्हालेका थिए भने मञ्च व्यवस्थापनमा रामजी खाँण र अतिथि सत्कारमा राधिका हमाललगायतका कलाकारहरू विभिन्न उपसमितिमा सक्रिय थिए।

करिब २० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको यस कार्यक्रमको मुख्य संरक्षक बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय रहेको थियो। त्यस्तै, संरक्षकका रूपमा विदुर नगरपालिका र टोखा नगरपालिका रहेका थिए भने नुवाकोट उद्योग वाणिज्य सङ्घ यसको प्रवर्द्धकका रूपमा रहेको थियो। प्रतियोगिताको मुख्य सहयोगी संस्थाका रूपमा नुवाकोट निर्माण व्यवसायी सङ्घले साथ दिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप