मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

बजेट पेशका लागि लुम्बिनी प्रदेश सरकारको स्वीकृति

सोमबार, ०१ असार २०८३, १६ : ५५
सोमबार, ०१ असार २०८३

सारांश

  • लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट, विनियोजन विधेयक र आर्थिक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ।
  • मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले असार १ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार तयारी गरेको छ।
  • आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछन्, जसमा बजेटको आकार, स्रोत व्यवस्थापन र प्राथमिकताका क्षेत्रबारे जानकारी दिइनेछ।

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको हो।

बैठकपछि सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पेश भएका प्रस्तावहरू मन्त्रिपरिषद्बाट स्वीकृत भएको जानकारी दिए।

उनका अनुसार संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। बजेट प्रस्तुत गर्न सोमबार बेलुका ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ।

मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सञ्चित कोषबाट सेवा तथा कार्य सञ्चालनका लागि रकम विनियोजन र खर्च गर्ने व्यवस्था सम्बन्धी विनियोजन विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ।

त्यसैगरी, प्रदेश सरकारका आर्थिक प्रस्ताव कार्यान्वयन गर्न आवश्यक आर्थिक विधेयक तथा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमानसहितको बजेट वक्तव्य पनि प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बजेटको आकार, स्रोत व्यवस्थापन तथा प्राथमिकताका क्षेत्रबारे बजेट वक्तव्यमार्फत जानकारी गराइने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप