सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

विश्वकप हेर्ने एप डाउनलोड गर्दै हुनुहुन्छ ? रित्तिएला बैंक खाता !

मोबाइल बैंकिङ ह्याक गरेर रकम लुट्ने गिरोह सक्रिय
सोमबार, ०१ असार २०८३, १७ : १०
सोमबार, ०१ असार २०८३

सारांश

  • विश्वकप फुटबल २०२६ को बहानामा साइबर ठगहरूले मोबाइल बैंकिङ ह्याक गरी रकम लुट्न गिरोह सक्रिय पारेका छन्।
  • सामाजिक सञ्जालका विज्ञापन र अनलाइन माध्यममा विश्वकप नि:शुल्क हेर्न सकिने भन्दै प्रचार गरिएका एपहरू डाउनलोड गर्दा प्रयोगकर्ताको मोबाइलको नियन्त्रण ह्याकरको हातमा जान्छ।
  • साइबर ब्यूरोले अनावश्यक र शंकास्पद एपहरू डाउनलोड नगर्न, '.apk' जस्ता फाइलहरू इन्स्टल गर्दा सावधानी अपनाउन र ठगिएको खण्डमा प्रहरीमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

काठमाडौँ । विश्वकप फुटबल २०२६ को रौनक सुरु भएसँगै साइबर ठगहरूले यसलाई ठगीको नयाँ माध्यम बनाउन थालेका छन्। 

नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप हेर्ने बहानामा प्रयोगकर्ताको मोबाइल बैंकिङ ह्याक गरी रकम लुट्ने गिरोह सक्रिय रहेको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ।

पछिल्लो समय सामाजिक सञ्जालका विज्ञापन र अनलाइनका विभिन्न माध्यममा विश्वकप २०२६ नि:शुल्क वा सहजै हेर्न सकिने भन्दै विभिन्न लिङ्क र एपहरूको प्रचार भइरहेको छ। ब्यूरोका अनुसार ठगहरूले यस्ता विज्ञापनमार्फत प्रयोगकर्तालाई एन्ड्रोइड इन्स्टलर (.apk) फाइल डाउनलोड गर्न लगाउँछन्। 

यसरी एप इन्स्टल गर्ने क्रममा ती एपले मोबाइलका विभिन्न अनुमति (पर्मिसन) हरू माग्छन्। खेल हेर्ने हतारोमा प्रयोगकर्ताले नबुझी ‘एलाउ’ (Allow) गरेर सबै अनुमति दिएपछि ह्याकरहरूले मोबाइलको पूर्ण नियन्त्रण लिन्छन् र मोबाइल बैंकिङ एपमार्फत खातामा रहेको सम्पूर्ण रकम चोर्ने गरेका छन्।

यस्तो गम्भीर आर्थिक जोखिमबाट बच्न साइबर ब्यूरोले अनावश्यक र शंकास्पद एपहरू डाउनलोड तथा इन्स्टल नगर्न कडा आग्रह गरेको छ। विशेषगरी इन्टरनेटमा भेटिने '.apk', '.exe', '.bat' वा '.sh' जस्ता फर्म्याटका फाइलहरू इन्स्टल गर्दा मोबाइलमा भाइरस छिर्ने र व्यक्तिगत डाटा तथा बैंकिङ विवरण चोरी हुने उच्च जोखिम रहन्छ। यसका साथै, बैंक तथा वित्तीय संस्थाहरूको बैंकिङ सिस्टम वा एप अपडेट गर्नुपरेमा सामाजिक सञ्जालका भ्रामक लिङ्कको पछि नलागी सम्बन्धित बैंककै आधिकारिक सूचनालाई मात्र आधार मान्न ब्यूरोले सल्लाह दिएको छ।

साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले विश्वकपको नाममा भइरहेको यस प्रकारको ठगीप्रति गम्भीर हुन प्रयोगकर्तालाई आग्रह गरेका छन्। उनले भने, 'यस विषयसँग सम्बन्धित सचेतनामूलक सामग्रीहरू ब्यूरोको आधिकारिक फेसबुक पेजबाट समेत पोस्ट गरिएको हुँदा उक्त पेजबाट विस्तृत जानकारी लिई विश्वकप फुटबलको नाममा हुने ठगीबाट जोगिन हामी अनुरोध गर्दछौँ।'

यदि कसैले यस्तो एपमार्फत ठगी गर्ने प्रयास गरेमा वा कोही झुक्किएर ठगीको शिकार भइसकेको भए तत्काल कानुनी उपचार खोज्न प्रहरीले आग्रह गरेको छ। यसका लागि पीडितले तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा साइबर ब्यूरोको सम्पर्क नम्बर ९८५१२८६७७२ तथा आधिकारिक इमेल ठेगाना [email protected] मार्फत उजुरी दर्ता गराउन सक्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप