बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

टीएस इलिअटको म्याकाभिटी र नेपाली राजनीतिमा हराएको उत्तरदायित्व

बुधबार, ०३ असार २०८३, १२ : १३
बुधबार, ०३ असार २०८३

टीएस इलिअटको प्रसिद्ध कविता ‘मेकाभिटीः द मिस्ट्री क्याट’ पहिलो दृष्टिमा एउटा रहस्यमय बिरालोको कथा जस्तो देखिन्छ । तर गहिरिएर पढ्दा यो सत्ता, छल, कानुनी संरचनाको कमजोरी, उत्तरदायित्वबाट पलायन र दण्डहीनतामाथिको तीक्ष्ण व्यङ्ग्यका रूपमा उभिन्छ । 

कविताको सबैभन्दा चर्चित पङ्क्ति, ‘मेकाभिटि इज नट देयर’ केवल काल्पनिक पात्रको वर्णन होइन, यो घटना र परिणामको छायामा उपस्थित भएर पनि उत्तरदायित्वको क्षणमा अदृश्य हुने शक्ति संरचनाको प्रतीक हो ।

यसैकारणले मेकाभिटी आज साहित्यिक पात्र भन्दा बढी एउटा राजनीतिक र सामाजिक रूपक बनेको छ । घटना हुन्छ, क्षति देखिन्छ, पीडित देखिन्छन्, अनुसन्धान पनि हुन्छ; तर जब अन्तिम प्रश्न उठ्छ, ‘जिम्मेवार को हो ?’ उत्तर धुमिल हुन थाल्छ । दोषीको अनुहार कुहिरोभित्र हराउँछ । इलिअटको यही रूपक नेपाली समाज र राजनीतिलाई हेर्दा अस्वाभाविक लाग्दैन ।

नेपाली साहित्यले पनि यस्ता प्रश्नहरू धेरैअघि उठाइसकेको छ । भानुभक्त आचार्यले तत्कालीन प्रशासनिक ढिलासुस्ती, पहुँचमुखी शासन र न्यायहीनतामाथि व्यङ्ग्य गरे । भूपी शेरचनले ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ मार्फत सत्ता, अवसरवाद र दिशाहीन नेतृत्वमाथि प्रश्न उठाए । 

बीपी कोइरालाका साहित्यिक पात्रहरूले बाह्य राजनीतिक संरचनाभन्दा बढी मानिसभित्रको नैतिक द्वन्द्व र चेतनाको सङ्कटलाई उजागर गरे । यी सबै रचनाहरूको साझा चिन्ता एउटै देखिन्छ– समाजमा अन्याय हुन्छ, पीडा हुन्छ, तर जिम्मेवारी बहन गर्ने संस्कृति किन कमजोर रहन्छ ? आज पनि नेपाली लोकतन्त्रको एउटा असहज प्रश्न यही हो ।

  • नारायणहिटीदेखि दासढुंगासम्म

वि.सं. २०५८ सालको नारायणहिटी राजदरबार हत्याकाण्ड आधुनिक नेपालको सबैभन्दा रहस्यमय र पीडादायी घटनामध्ये एक हो । छानबिन समिति गठन भयो, प्रतिवेदन आयो, आधिकारिक निष्कर्ष सार्वजनिक भए । तर दुई दशकभन्दा बढी समय बितिसक्दा पनि समाजको एउटा ठुलो हिस्सामा प्रश्न बाँकी छ, ‘के सम्पूर्ण सत्य बाहिर आयो ?’

दासढुंगा प्रकरणमा पनि यस्तै अवस्था देखिन्छ । जननेता मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको घटनालाई लिएर दशकौँदेखि बहस जारी छ । विभिन्न प्रतिवेदन आए, राजनीतिक दलहरूले आफ्नै छानबिन गरे, आन्दोलन भए । तर आज पनि त्यो घटना पूर्ण रूपमा विवादमुक्त हुन सकेको छैन ।

यी घटनाहरूमा कसैलाई दोषी ठहर गर्नु लेखको उद्देश्य होइन । प्रश्न केवल यति हो– किन यस्ता घटनाहरूमा आधिकारिक निष्कर्षभन्दा बढी शङ्का र अविश्वास बाँच्छ ? किन नागरिकको मनमा उत्तरदायित्वको प्रश्न अधुरो रहन्छ ?

  • परिवर्तन आयो, प्रश्न बाँकी रह्यो

नेपालको सशस्त्र द्वन्द्वले हजारौँ नेपालीको ज्यान लियो । शिक्षक, किसान, सुरक्षाकर्मी, सर्वसाधारण नागरिक सबै पक्षका मानिसहरूले पीडा भोगे । राजनीतिक परिवर्तन भयो, गणतन्त्र आयो, संविधान बन्यो । तर द्वन्द्वपीडित परिवारले न्यायको अनुभूत अझै गर्न सकेका छैनन् ।

सङ्क्रमणकालीन न्यायको प्रक्रिया दशकौँदेखि चलिरहेको छ । आयोगहरू बने, प्रतिवेदनहरू तयार भए, तर सत्य, न्याय र मेलमिलापको प्रश्न अझै संवेदनशील बनेको छ ।

यही अवस्था महिला तथा बालिकामाथि भएका चर्चित अपराधका घटनाहरूमा पनि देखिन्छ । नमिता–सुमिता प्रकरणदेखि निर्मला पन्तसम्म आइपुग्दा शासन व्यवस्था फेरिएको छ, तर अनुसन्धान र न्याय प्रक्रियामाथिको जनविश्वास किन पूर्ण रूपमा स्थापित हुन सकेन भन्ने प्रश्न जीवितै छ ।

समाजले पीडितको नाम सम्झन्छ, तर धेरैपटक दोषीको अनुहार धुमिल रहन्छ ।

  • उत्तरदायित्वको सङ्कट

नेपालमा भ्रष्टाचार, शक्ति दुरुपयोग, गुण्डागर्दी, नातावाद, सहकारी ठगी, सुन तस्करी, सार्वजनिक सम्पत्तिको दुरुपयोग, प्रशासनिक अनियमितता लगायतका विषयहरू दशकौँदेखि सार्वजनिक बहसको केन्द्रमा छन् । प्रत्येक आन्दोलनले यिनै मुद्दाहरू उठाउँछ । प्रत्येक नयाँ शक्ति परिवर्तनले यिनै समस्याहरू समाधान गर्ने वाचा गर्छ ।

तर नागरिकको एउटा साझा अनुभव छ– मुद्दाहरू बारम्बार उठ्छन्, आयोगहरू बन्छन्, प्रतिवेदनहरू तयार हुन्छन्, तर अन्तिम निष्कर्षमा पुग्दा उत्तरदायित्वको प्रश्न धुमिल बन्छ ।

समस्या कुनै एक दल, एक नेता वा एक व्यवस्थाको मात्र होइन । समस्या त्यो राजनीतिक संस्कृतिमा छ, जहाँ आलोचनालाई असहज ठानिन्छ । प्रश्नलाई विरोधका रूपमा बुझिन्छ र उत्तरदायित्वलाई कमजोरी मानिन्छ ।

  • जेनजी आन्दोलन र नयाँ प्रश्न

हालका वर्षहरूमा युवा पुस्ताले भ्रष्टाचार, बेरोजगारी, प्रशासनिक ढिलासुस्ती र परम्परागत राजनीतिक नेतृत्वप्रति असन्तोष व्यक्त गर्दै विभिन्न आन्दोलनहरूमा सहभागिता जनायो । ती आन्दोलनहरूले राज्य, राजनीति र नागरिक सम्बन्धबारे नयाँ बहस जन्माए ।

यस्ता आन्दोलनहरूमा सबैभन्दा महत्त्वपूर्ण प्रश्न हिंसा वा राजनीतिक परिणाम मात्र होइन, त्यसपछिको उत्तरदायित्व पनि हो । जब जनधनको क्षति हुन्छ, जब संस्थाहरू कमजोर हुन्छन्, जब समाज विभाजित हुन्छ, त्यसको जिम्मेवारी कसले लिन्छ ?

लोकतन्त्रमा विरोधको अधिकार जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्वपूर्ण हुन्छ जबाफदेहिता ।

  • बालेन र नयाँ पुस्ताको आशा

पुरानो राजनीतिक संस्कृतिप्रतिको असन्तोषले नयाँ नेतृत्वको खोजी जन्माएको हो । काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को उदयलाई धेरै युवाले यही मनोविज्ञानको परिणामका रूपमा हेरे । उनी पुरानो राजनीतिक शैलीभन्दा फरक, प्रत्यक्ष र परिणाममुखी नेतृत्वको प्रतीक बने ।

यसले एउटा सकारात्मक सङ्केत पनि दियो– युवापुस्ताले राजनीतिलाई पूर्ण रूपमा त्यागेको छैन । उनीहरू नयाँ विकल्प खोजिरहेका छन् । तर यहाँ एउटा महत्त्वपूर्ण लोकतान्त्रिक प्रश्न पनि छ । के लोकप्रियता मात्र पर्याप्त हुन्छ ? के व्यक्तिको करिश्माले संस्थागत उत्तरदायित्वको स्थान लिन सक्छ ?

लोकतन्त्रमा कुनै पनि नेतृत्वको अन्तिम परीक्षा लोकप्रियताले होइन, उत्तरदायित्वले हुन्छ । संसद्, सञ्चारमाध्यम, नागरिक समाज र सार्वजनिक प्रश्नहरू लोकतन्त्रका आवश्यक अङ्ग हुन् । कुनै पनि नेतृत्व आलोचनाभन्दा माथि उठ्न थाल्यो भने त्यो लोकतन्त्रका लागि स्वस्थ सङ्केत हुँदैन ।

इतिहासले देखाएको छ, व्यक्तिपूजा र अन्धसमर्थनले दीर्घकालीन रूपमा लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउँछ । त्यसैले नयाँ नेतृत्वलाई पनि पुरानो नेतृत्वसरह प्रश्न गर्न सक्ने नागरिक चेतना आवश्यक हुन्छ । 

  • समस्या व्यक्तिको होइन, संरचनाको हो

नेपालको चुनौती केवल ‘खराब नेता’ हटाउने मात्र होइन । चुनौती भनेको उत्तरदायी, पारदर्शी र संस्थामुखी लोकतान्त्रिक संस्कार निर्माण गर्नु हो ।

लोकतन्त्र निर्वाचनबाट सुरु हुन्छ, तर उत्तरदायित्वमा पुगेर मात्र परिपक्व हुन्छ । संसद्, अदालत, आयोग, सञ्चारमाध्यम र नागरिक समाज सबैले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह नगरेसम्म कुनै पनि राजनीतिक परिवर्तन दिगो हुन सक्दैन ।

हामीले विगतमा बारम्बार देखेका छौँ– सरकार फेरिन्छन्, दल फेरिन्छन्, अनुहार फेरिन्छन्; तर राजनीतिक संस्कार फेरिँदैन भने समस्या उस्तै रहन्छन् । नयाँ पात्रहरूले पनि पुरानै प्रवृत्ति दोहोर्‍याउन सक्छन् ।

यसैले मेकाभिटी कुनै एउटा व्यक्ति होइन । ऊ उत्तरदायित्व भन्दा माथि उठ्न खोज्ने जुनसुकै शक्ति हो । ऊ कुनै दल, विचारधारा वा पदमा सीमित छैन । जहाँ शक्ति छ तर जबाफदेहिता छैन, जहाँ निर्णय छ तर जिम्मेवारी छैन, जहाँ प्रभाव छ तर उत्तर छैन, त्यहाँ मेकाभिटी उपस्थित हुन्छ ।

  • निष्कर्ष

इलिअटको मेकाभिटी आज नेपालका लागि केवल साहित्यिक पात्र होइन; यो हाम्रो राजनीतिक संस्कृतिको एउटा असहज ऐना हो । दरबारदेखि सडकसम्म, आयोगदेखि अदालतसम्म, आन्दोलनदेखि सरकारसम्म हामीले बारम्बार एउटै प्रश्न सोधिरहेका छौँ– ‘जिम्मेवार को हो ?’

लोकतन्त्रको सफलता केवल निर्वाचनमा होइन, उत्तरदायित्वमा मापन हुन्छ । ताली बजाउने भीडभन्दा प्रश्न गर्ने नागरिक लोकतन्त्रका लागि बढी आवश्यक हुन्छन् । लोकप्रियताभन्दा पारदर्शिता, शक्तिभन्दा जबाफदेहिता, र व्यक्तिभन्दा संस्था बलियो हुनुपर्छ ।

किनभने जबसम्म प्रत्येक ठुलो घटनापछि नागरिकले फेरि उही ‘मेकाभिटि इज नट देयर’ को अनुभूति दोहोर्‍याइरहनु पर्छ भने हाम्रो लोकतान्त्रिक यात्रा अधुरै रहनेछ । लोकतन्त्रको वास्तविक परिपक्वता त्यतिबेला मात्र सम्भव हुन्छ, जब समाजले केवल दोषी खोज्ने होइन, उत्तरदायित्व सुनिश्चित गर्ने संस्कार निर्माण गर्छ । यही नै इलिअटको कविताले दिएको सबैभन्दा गहिरो राजनीतिक सन्देश हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. चण्डिका भट्ट
डा. चण्डिका भट्ट
लेखकबाट थप