चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको व्यक्तिको उपस्थिति भयो : बराल
सारांश
- सांसद गुरु बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको व्यक्तिको अवैध उपस्थिति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
- उनले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको आयोगको बैठकमा पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीको उपस्थितिमाथि प्रश्न उठाउँदै उक्त बैठक र निर्णय प्रक्रियालाई अवैध भनेका छन्।
- सांसद बरालले राज्यका जिम्मेवार निकायमा हुने यस्तो गैरकानुनी प्रक्रिया अविलम्ब बन्द गरी आयोगका गतिविधिहरू विधिसम्मत ढङ्गले अगाडि बढाउन माग गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका सांसद गुरु बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको व्यक्तिको अवैध उपस्थिति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न भएको आयोगको महत्वपूर्ण बैठकमा पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीको उपस्थितिलाई लिएर आपत्ति र प्रश्न उठाएका हुन्।
सांसद बरालले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कानुनी व्यवस्था अनुसार हाल आयोगको उपाध्यक्ष पद रिक्त रहेको र नयाँ उपाध्यक्ष छनोटका लागि लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित सिफारिस समितिले प्रक्रिया अगाडि बढाइरहेको अवस्थाबारे सदनलाई जानकारी दिए। नयाँ परिप्रेक्ष्यमा १० जनाले उपाध्यक्षका लागि आवेदन दिएको र छनोट प्रक्रिया जारी रहेको अवस्थामा गिरी कसरी उपाध्यक्षका रूपमा प्रधानमन्त्रीको कार्यकक्षमा पुगे भनी उनले प्रश्न गरे।
उक्त बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित दीर्घकालीन महत्त्व राख्ने छात्रवृत्ति कार्यविधि समेत स्वीकृत गरेको उल्लेख गर्दै सांसद बरालले त्यो बैठक र सम्पूर्ण निर्णय प्रक्रियालाई अवैधको संज्ञा दिएका छन्। यदि कुनै कारणवश कार्यवाहक दिनुपर्ने अवस्था आएको खण्डमा आयोगकै वरिष्ठ सदस्यलाई जिम्मेवारी दिनुपर्ने कानुनी व्यवस्था हुनुपर्नेमा बाहिरको व्यक्तिलाई सहभागी गराउनु कुनै पनि हालतमा न्यायसङ्गत नभएको उनको तर्क छ।
सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले भने, ‘प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको मान्छे उपाध्यक्षको हैसियतमा उपस्थित हुनुहुन्थ्यो । १० जनाले आवेदन दिएको र छनोट प्रक्रिया जारी रहेको अवस्थामा श्रीकृष्ण गिरी कसरी उपाध्यक्षका रूपमा प्रधानमन्त्रीको कार्यकक्षमा पुग्नुभयो? यो अचम्मको विषय हो ।’
संसद्मा बोल्दै सांसद बरालले राज्यका जिम्मेवार निकाय र उच्च तहको उपस्थितिमा हुने यस्तो गैरकानुनी तथा नियमविपरीतको प्रक्रिया अविलम्ब बन्द गर्न माग गरे। उनले चिकित्सा शिक्षा क्षेत्रको गरिमालाई बचाइराख्नका लागि आयोगका आगामी सम्पूर्ण गतिविधिहरूलाई विधिसम्मत र कानुनी ढङ्गले मात्र अगाडि बढाउन सरकारसँग जोडदार माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण