बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
भारतको फुटबल

कुरासाओले फिफा विश्वकप खेल्दा १ अर्ब ४० करोड जनसंख्या भएको भारतले किन सक्दैन ?

बुधबार, ०३ असार २०८३, १७ : ३०
बुधबार, ०३ असार २०८३

सारांश

  • भारत विश्वकप छनोटको प्रारम्भिक चरणभन्दा माथि पुग्न नसके पनि फुटबलप्रेमी राज्यहरूमा विश्वकपको उत्साह देखिन्छ ।
  • भारतमा प्रतिभाको कमी नभए पनि सही फुटबल संरचना र दीर्घकालीन आधारभूत विकास कार्यक्रमको अभावले विश्वकप खेल्ने सपना टाढा छ ।
  • विदेशमा बस्ने भारतीय मूलका खेलाडीलाई राष्ट्रिय टोलीबाट खेल्न दिने नीति परिवर्तन भएमा भारतलाई फाइदा पुग्न सक्छ ।

गत साता विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता सुरु भएसँगै भारतीय फुटबल समर्थकहरूले वर्षौंदेखि सुन्दै आएको यही प्रश्न फेरि उठेको छ ।

भारतीय पुरुष राष्ट्रिय फुटबल टोली ‘ब्लु टाइगर्स’ को यात्रा पछ्याइरहनेहरूका लागि यो प्रश्न नयाँ होइन । किनकि भारत अहिलेसम्म विश्वकप छनोटको एसियाली क्षेत्रको प्रारम्भिक चरणभन्दा माथि पुग्न सकेको छैन ।
विडम्बना के छ भने पश्चिम बंगाल, केरल र गोवा जस्ता फुटबलप्रेमी भारतीय राज्यहरूमा विश्वकपलाई अत्यन्त उत्साहका साथ मनाइन्छ । प्रतियोगितामा भारतको सहभागिता नभए पनि घटनास्थलबाट रिपोर्टिङ गर्न जाने भारतीय पत्रकारहरूको संख्या पनि लगातार बढिरहेको छ । 

चार वटा विश्वकप कभर गरिसकेका एक वरिष्ठ भारतीय फुटबल पत्रकारले मजाक गर्दै भने, ‘प्रेस बक्समा हामीलाई बारम्बार भारतमा फुटबल खेलिन्छ कि खेलिँदैन भनेर सोधिन्छ । धेरैलाई भारत क्रिकेट खेल्ने राष्ट्रका रूपमा मात्र चिनिन्छ ।’ 

भारत मात्र होइन, विश्वको दोस्रो धेरै जनसंख्या भएको छिमेकी चीन पनि फेरि विश्वकपमा छनोट हुन सकेन । तर फिफा यी विशाल बजारहरूको महत्त्वबारे जानकार छ, त्यसैले प्रतियोगिताको प्रत्यक्ष प्रसारण सुनिश्चित गर्न उसले अन्तिम समयमा भारतमा विशेष मिडिया अधिकार टोली नै पठाएको थियो । 

sunil-chhetri

विश्वकप भारतका लागि अझै टाढाको सपना ?

भारतीय राष्ट्रिय टोलीका पूर्वकप्तान तथा देशका सर्वाधिक चर्चित फुटबलरमध्ये एक शख्सियत भाइचुङ भुटियाका अनुसार भारतले विश्वकप खेल्नु असम्भव भने होइन, तर त्यसका लागि कुनै छोटो बाटो छैन । 
उनले भने, ‘भारतले पक्कै पनि विश्वकप खेल्न सक्छ । अहिले ४८ टोलीको नयाँ ढाँचामा एसियाली टोलीहरूको कोटा आठ पुगेको छ र उज्बेकिस्तान तथा जोर्डनजस्ता टोलीहरू विश्वकपमा पुगेका छन् । तर यसका लागि धेरै मिहिनेत आवश्यक छ ।’ 

भुटियाका अनुसार भारतमा प्रतिभाको कमी छैन । समस्या भनेको सही फुटबल संरचना र दीर्घकालीन आधारभूत विकास कार्यक्रमको अभाव हो । ‘विश्वकै सबैभन्दा लोकप्रिय टोलीगत खेल भएकाले यसको नतिजा देखिन समय लाग्छ,’ उनले भने ।

बालस्तरको विकास कार्यक्रमको अभाव

सन् १९७० को एसियाली खेलकुदमा भारतलाई कांस्य पदक दिलाउन मद्दत गरेका ७८ वर्षीय पूर्वखेलाडी श्याम थापा पनि आधारभूत तहबाट खेलाडी उत्पादन गर्ने कार्यक्रमको खाँचो रहेको बताउँछन् । बाइसाइकल किक गोलका लागि प्रसिद्ध थापाले मध्यमवर्गीय र उच्च मध्यमवर्गीय अभिभावकहरू आफ्ना सन्तानलाई फुटबलभन्दा क्रिकेटतर्फ मोडिरहेकोमा चिन्ता व्यक्त गरे । 

‘मैले वर्षौंदेखि युवा एकेडेमी चलाएको छु । जति धेरै बालबालिका फुटबल खेल्न आउँछन्, त्यति धेरै प्रतिभा भेटिन्छ । तर अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले यस्तो प्रणाली निर्माण गर्न के गरेको छ ?’ उनले प्रश्न गरे । 

उनका अनुसार धेरै अभिभावक आफ्ना छोराछोरीलाई आकर्षक इन्डियन प्रिमियर लिग (आईपीएल) सम्झौताको आशामा क्रिकेट प्रशिक्षणमा पठाइरहेका छन् । ‘उनीहरूले फुटबलमा पनि राम्रो करियर र राम्रो आम्दानी सम्भव छ भन्ने बुझ्नुपर्छ,’ उनले भने ।

एसियाका उत्कृष्ट टोलीसँग भारतको दूरी

यस वर्ष विश्वकपमा छनोट भएका एसियाली टोलीहरू हेर्दा भारतले पार गर्नुपर्ने दूरी स्पष्ट देखिन्छ । ती छनोट भएका एसियाली टोलीहरू हुन्ः अष्ट्रेलिया, इरान, जापान, जोर्डन, दक्षिण कोरिया, उज्बेकिस्तान, कतार, साउदी अरेबिया र अन्तरमहादेशीय प्लेअफमार्फत पुगेको इराक । 

पहिलोपटक विश्वकप पुगेका जोर्डन र उज्बेकिस्तान दुवै फिफा वरीयतामा भारतभन्दा निकै माथि छन् । उज्बेकिस्तान ५२औँ र जोर्डन ६३औँ स्थानमा छन् भने भारत पछिल्लो १८ महिनामा लगातार ओरालो लाग्दै १३६औँ स्थानमा झरेको छ । 

एआईएफएफको चुनौती

सन् २०२२ मा एआईएफएफ अध्यक्ष बनेका पूर्व फुटबलर कल्याण चौबे ले त्यतिबेला ‘आठ वर्षभित्र भारत विश्वकप खेल्छ’ जस्ता सपना नबेच्ने बताएका थिए । बरु उनले भारतीय फुटबललाई वर्तमान अवस्थाबाट माथि उठाउने प्रतिबद्धता जनाएका थिए । 

तर करिब चार वर्षपछि पनि उनको नेतृत्वले अपेक्षित उपलब्धि हासिल गरेको छ कि छैन भन्ने प्रश्न उठिरहेको छ । सन् २०१४ मा सुरु गरिएको इन्डियन सुपर लिग (आईएसएल) ले व्यवसायी, बलिउड र क्रिकेट जगतका चर्चित व्यक्तिहरूलाई आकर्षित गरेको थियो। प्रतियोगिता व्यावसायिक रूपमा सञ्चालन भएको थियो र विदेशी खेलाडीहरू पनि आएका थिए । तर अहिले यसको भविष्य अनिश्चित बनेको छ । पछिल्लो सिजनमा एआईएफएफले व्यावसायिक साझेदार फेला पार्न नसक्दा प्रतियोगिता निकै ढिलो सुरु भयो । अन्ततः महासंघले साझेदारबिनै छोटो संस्करण सञ्चालन गर्नुपर्‍यो । 

विश्वकपभन्दा पहिले एसियन कप

पूर्वकप्तान सुनील क्षेत्रीका अनुसार भारतले यथार्थपरक लक्ष्य निर्धारण गर्नुपर्छ । ‘हामीले एक–एक कदम अघि बढ्नुपर्छ । अहिलेको लक्ष्य प्रत्येक एसियन कपमा छनोट हुनु हुनुपर्छ। त्यसले हामीलाई बलिया टोलीविरुद्ध खेल्ने अवसर दिन्छ । जब हामी एसियाका शीर्ष १५–२० राष्ट्रभित्र पर्न थाल्छौँ, तब मात्र विश्वकपबारे सोच्न सकिन्छ,’ उनले भने । 

ओसीआई नीतिबाट आशा

निकट भविष्यमा भारतको मुख्य आशा भनेको विदेशमा बसोबास गर्ने भारतीय मूलका व्यक्तिहरू (ओसीआई कार्डधारक) लाई राष्ट्रिय टोलीबाट खेल्न दिने नीति परिवर्तन हुन सक्छ । हाल विदेशी राहदानी बोकेका भारतीय मूलका खेलाडीले भारतका लागि खेल्न आफ्नो विदेशी नागरिकता त्याग्नुपर्छ । अष्ट्रेलियामा जन्मिएका रयान विलियम्सले त्यही गरे र भारतीय टोलीमा राम्रो प्रभाव पारे । 

indian-football-team

यदि नीति परिवर्तन भयो भने भारतलाई ठूलो फाइदा पुग्न सक्छ । यस विश्वकपमै भारतीय मूलका चार खेलाडी अन्य देशबाट खेलिरहेका छन् । कतारका तहसिन मोहम्मद, अष्ट्रेलियाका निशान वेलुपिल्लाय, न्युजिल्यान्डका सप्र्रित सिंह र कंगोका सामुएल माउटुसामी भारतिय मूलका खेलाडी हुन् । 

तर हालका लागि त्यो सम्भावनाको विषय मात्र हो ।

त्यतिन्जेल भारतीय समर्थकहरूले फेरि एकपटक टाढाबाट विश्वकप हेर्नेछन्, लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमारजस्ता स्टारहरूलाई समर्थन गर्नेछन् र कुरासाओजस्तो सानो राष्ट्र विश्वकपमा पुगेको उपलब्धि देखेर आश्चर्य मान्नेछन् ।

र, अन्ततः उही प्रश्न फेरि उठ्नेछ, ‘यदि कुरासाओले विश्वकप खेल्न सक्छ भने भारतले किन सक्दैन ?’

बीबीसीको रिपोर्टमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप