बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सरकारलाई आफ्नै दलका सांसदहरूको घेराबन्दी : जनताका जल्दाबल्दा समस्यामा बजेट नदिएको भन्दै आलोचना

बुधबार, ०३ असार २०८३, १४ : २६
बुधबार, ०३ असार २०८३

सारांश

  • सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जनताका जल्दाबल्दा समस्या समाधान गर्न बजेटको व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरेका छन्।
  • रास्वपा सांसद इन्दिरा राना मगरले सडक पूर्वाधारका लागि बजेट विनियोजन नहुँदा नागरिक जोखिममा परेको भन्दै बजेट पुनरावलोकनको माग गरिन्।
  • अर्का सांसद शोभा खनालले खेतीपातीको मुख्य समयमा रासायनिक मलको अभावले किसान पीडित भएको गुनासो गर्दै आपूर्ति सुनिश्चित गर्न माग गरिन् भने सांसद विश्वराज पोखरेलले बाँदर नियन्त्रण र ओखलढुङ्गा जिल्ला अस्पतालमा उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै जनताका जल्दाबल्दा समस्याहरू समाधान गर्नका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्। 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसदहरूले आफैँ सम्मिलित सरकारको बजेट विनियोजन प्रणालीमाथि प्रश्न उठाउँदै बजेट पुनरावलोकन गर्न र नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न माग गरेका हुन्।

बैठकमा बोल्दै रास्वपाकी सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटको व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराइन्। सडक बाटोको अभावमा झापा, हुम्ला, जुम्ला लगायतका नागरिकहरूले दैनिक रूपमा ठुलो जोखिम उठाउनुपरेकाले सरकारले भौतिक पूर्वाधारका लागि आवश्यक बजेट व्यवस्था गर्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो। 

विशेष गरी इलामबाट बतासे हुँदै मदन भण्डारी राजमार्गमा जोडिने सडक योजना नपरेकोमा छक्क परेको उल्लेख गर्दै उनले भनिन्, ‘यो रोडले गर्दा ५ सय घरधुरीलाई सहज हुन्छ । नभए उहाँहरुले दुई घण्टा पर गएर फिक्कल हुँदै आउनु पर्दछ । तर त्यहाँबाट आधा घण्टामा बिर्तामोड आई पुगिन्छ । हामीले यस्तो किसिमको एकदमै रिष्कमा परेका, चुनौतिपूर्ण एउटा योजना पनि नपरेको देख्दाखेरी म छक्कै परेको छु । त्यसले गर्दा यहाँ हाम्रो पूर्वाधार मन्त्रीज्यू, त्यस्तै गरेर अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ । बजेटको पुनरावलोकन गर्न अनुरोध गर्दछु ।’

यसैगरी रास्वपाकी अर्की सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रसायनिक मलको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिन्। खेतीपातीको मुख्य समयमा किसानले मलको चरम अभाव व्यहोर्दा समेत सरकारले उक्त समस्या समाधानका लागि पर्याप्त चासो दिन नसकेको उनको गुनासो थियो। 

रसायनिक मलको वितरण प्रणालीलाई पारदर्शी बनाउन सरकारलाई सचेत गराउँदै उनले भनिन्, ‘किसानहरु खेतीपातीको महत्वपूर्ण समयमा रसायनिक मलको अभावले दिनरातै छटपटाईरहेका छन । उहाँहरुको समस्या कसले बुझिदिने ? सभामुख महोदय । नेपालमा हाल ६० देखि ९१ प्रतिशत श्रम शक्ति कृषि क्षेत्रमा रहेको विभिन्न तथ्यांकहरुले देखाउँदछ । यस्तो अवस्थामा धान रोपाईंको मुख्य समयमा किसानले मल नपाउनु निकै दुखद विषय हो । मल उपलब्ध नहुँदा उत्पादनमा कमी आउने, किसानको लागत बढने तथा खाद्य सुरक्षामा नै असर पर्न जाने अवस्था सृजना भएको छ । त्यसैले सभामुख महोदयमार्फत गोर्खा जिल्ला लगायत सबै ठाउँमा मलको आपूर्ति सुनिश्चित गरियोस् ।’

बैठकमा रास्वपाका सांसद विश्वराज पोखरेलले देशका विभिन्न भागमा बढिरहेको बाँदर नियन्त्रणका लागि विशेष खालको ठोस कार्यक्रम ल्याउन सरकारलाई दबाब दिए। यसका साथै ओखलढुङ्गा जिल्ला अस्पतालमा उचित स्वास्थ्य उपचारको व्यवस्था हुन नसक्दा त्यहाँका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको गम्भीर विषयतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए। 

आफ्नो क्षेत्रको समस्या राख्दै उनले भने, ‘जिल्ला अस्पताल ओखलढुंगामा उचित उपचार नहु्ँदा त्यहाँका नागरिकले अकालमा ज्यान गुमाउन परेको पीडाले पोल्ने गरेको छ । त्यसका लागि आवश्यक उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । त्यसैगरी बाँदर आतंकबाट नागरिक ठूलो पीडामा परेका छ । यसको नियन्त्रण नहुने हो भने पूरै बस्ती खाली हुने अवस्थामा छ । त्यसैले बाँदर नियन्त्रणमा सरकारले विशेष ध्यान देओस् भनि सभामुखमार्फत सरकारसँग अनुसार गर्दछु ।’ संसद्मा बोल्दै सांसद पोखरेलले नागरिकको मौलिक हकको व्यावहारिक रूपमै सुनिश्चित गर्नका लागि राज्य बढी जिम्मेवार बन्नुपर्ने माग समेत गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप