उद्योग वाणिज्य महासंघ कोशीद्वारा चिया निर्यात अवरोध खुलाउन माग
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको अवरोधप्रति ध्यानाकर्षण गराएको छ।
- गुणस्तर परीक्षणका नाममा भारतीय पक्षले अवरोध गर्दा ठूलो परिमाणमा नेपाली चिया सिमानाकामा रोकिएको छ, जसले गर्दा उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आएको छ।
- अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने चिया क्षेत्रमा निर्यात ठप्प हुँदा किसान, श्रमिक र उद्यमीहरू प्रत्यक्ष मारमा परेका छन्।
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले झापा, इलाम लगायतका जिल्लामा उत्पादित नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले एक प्रेस विज्ञप्ति जारी गर्दै यस समस्याको स्थायी समाधानका लागि नेपाल सरकारसँग अविलम्ब उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेका छन् ।
विगत केही दिनदेखि भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा गैर–भन्सार अवरोध सिर्जना गरेपछि ठुलो परिमाणमा नेपाली तयारी चिया सिमानाकामा रोकिएको छ। यस अवरोधका कारण चिया उद्योगहरूमा तयारी चियाको मौज्दात अत्यधिक बढेको छ भने उद्योगहरूको नगद प्रवाहमा गम्भीर समस्या देखिएको महासङ्घले जनाएको छ। निकासी रोकिएपछि चिया उद्योगहरू विगत तीन दिनदेखि अनिश्चितकालका लागि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ।
नेपालको अर्थतन्त्रमा चिया क्षेत्रको बहुआयामिक महत्त्व रहेको छ। तथ्याङ्क अनुसार नेपालको करिब १० हजार हेक्टर क्षेत्रफलमा वार्षिक २ करोड ७४ लाख केजी चिया उत्पादन हुने गर्दछ। उत्पादित चियामध्ये ठुलो हिस्सा अर्थात् वार्षिक २ करोड ५६ लाख केजी चिया भारततर्फ मात्र निकासी हुने गरेको छ। यस उद्योगमा २० हजारभन्दा बढी मानिसले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
मुख्य सिजनमै चिया निकासी ठप्प हुँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा आश्रित हजारौँ किसान, श्रमिक र उद्यमीहरू प्रत्यक्ष रूपमा मारमा परेका छन्। उद्योग बन्द हुनुले श्रमिक र किसानलाई बेरोजगार बनाउनुका साथै समग्र क्षेत्रकै अर्थतन्त्रमा नकारात्मक असर पुर्याएको विज्ञप्तिमा उल्लेख छ।
विगतमा यस्ता अवरोधहरू आपसी छलफल र कूटनीतिक पहलबाट समाधान हुने गरेको भए पनि यस पटक लामो समयसम्म निर्यात ठप्प हुनु चिन्ताजनक भएको महासङ्घको भनाइ छ। महासंघ कोशी प्रदेशले केन्द्रीय उद्योग वाणिज्य महासङ्घमार्फत पनि सम्बन्धित निकायहरूमा आवश्यक पहलका लागि अनुरोध गरिसकेको जनाएको छ।
महासङ्घले नेपाली चिया उद्योग, किसान र श्रमिकहरूको हित संरक्षणका लागि आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्यातको वातावरण यथाशीघ्र सहज बनाउन सरकारसँग हार्दिक अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण