पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
सारांश
- पूर्वराज्यमन्त्री सञ्जयकुमार साहको सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचार मुद्दामा सुनुवाइ सकिएर निर्णय सुनाउने (निसु) मा राखिएको छ।
- २०७६ फागुन १५ मा विशेष अदालतले साहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष जेल सजाय र १९ करोड ४४ लाखभन्दा बढी रुपैयाँ गैरकानुनी आर्जन ठहर गर्दै जफत र जरिबानाको आदेश दिएको थियो।
- २०७६ फागुन २९ मा विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा साहलाई ५ वर्ष कैद सजाय सुनाएको थियो।
काठमाडौँ। पूर्वराज्यमन्त्री सञ्जयकुमार साहको सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचार मुद्दामा सुनुवाइ सकिएर निर्णय सुनाउने(निसु) मा राखिएको छ। ६ वर्षअघि सर्वोच्च अदालतमा पुगेको साहको मुद्दा न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा बुधबार सुनुवाइ सकिएसँगै निर्णय सुनाउने(निसु)मा राखिएको छ।
२०७६ फागुन १५ मा विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले साहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष जेल सजाय र १९ करोड ४४ लाख ३८ हजार ९८३ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै त्यसलाई जफत गर्न र त्यति नै जरिबाना तिराउन आदेश दिएको थियो।
त्यस्तै विशेष अदालतले साहबाट १४ करोड २५ लाख एक हजार ७१६ रुपैयाँ सम्पत्ति शुद्धीकरण भएको ठहर गरेको थियो। २०७६ फागुन २९ मा विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा साहलाई ५ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो।
सम्पत्ति शुद्धीकरणमा दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ । फौजदारी कार्यविधि संहितामा तीन वर्षभन्दा बढी सजाय हुनसक्ने कसुरमा सजाय निर्धारणका लागि एक महिनाभित्र छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। त्यसैअनुसार विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा समेत दोषी पाइएका साहलाई उक्त कसुरमा हुने सजाय निर्धारण गरेको थियो।
विशेष अदालतले सजाय निर्धारण गरेको फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असोज ५ गते भ्रष्टाचार मुद्दा र असोज ९ गते सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको थियो।
साथै सञ्जयकुमार साह २०७७ असोज १२ मा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सञ्जय साहको निवेदन एक साथ राखेर सर्वोच्चले सुनुवाइका लागि पेसी तोक्दै आइरहेको छ।
साहविरुद्ध २०७३ पुस २५ मा अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध ३१ करोड ५० लाख २६ हजार पाँच सय ५९ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले अभियोग पत्र दायर गरेको थियो। अख्तियारले आठ जनालाई प्रतिवादी बनाएको थियो।२०७४ चैत १६ मा साहविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३२ करोड चार लाख ५० हजार ३०४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
विभागले सञ्जयका बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगीलाकुमारी साह, रामकुमार साहसहित १२ जनालाई प्रतिवादी बनाएको थियो । उनीहरूमध्ये रामकुमार साहलाई एक वर्ष ८ महिना कैद तथा बाँकीलाई दुई वर्ष ६ महिना कैद सजाय हुने विशेष अदालतले फैसला गरेको थियो।
साहविरुद्ध अख्तियारमा उजुरीपछि छानबिन गर्दा उनको सम्पत्ति अस्वाभाविक देखिएको छ। आयोगले अनुसन्धान गर्दा दुई पटक संविधान सभा तथा व्यवस्थापिका संसद् सदस्य (सभासद) भएर, भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएको बेलासमेत साहले सार्वजनिक पद धारण गरेपछि अस्वाभाविक रूपमा सम्पत्ति लुकाएको अख्तियारको दाबी थियो।
सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानमा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति तथा साधन बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगीलाकुमारी साह, भाइरामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओमप्रकाश यादव, सुजितकुमार पाण्डे गरी कुल १२ प्रतिवादीसमेतको मिलेमतोमा लुकाएको दावी गरेको थियो।
जन्मकैद सजाय पाएर कारागारमा छन् साह
जनकपुरधाम बमकाण्डको मुख्य योजनाकारको रूपमा रहेका भन्दै धनुषा जिल्ला अदालतले जन्मकैद सजाय सुनाएपछि हाल सञ्जयकुमार साह डिल्लीबजार काराबारमा जेल सजाय कटाइरहेका छन् । रामानन्द चोकमा बम विस्फोट मुद्दामा पूर्वमन्त्री साहसहित सात जनालाई धनुषा जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको थियो।
२०६९ वैशाख १८ मा मिथिला राज्य सङ्घर्ष समितिको आह्वानमा रामानन्द चोकमा बम विस्फोट गराइएको थियो। विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो। घटनाका मुख्य योजनाकारका रूपमा साहलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो। यसकाे राम्राे हेडलाइन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण