बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मनोरञ्जन

नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?

बिहीबार, ०४ असार २०८३, १५ : ००
बिहीबार, ०४ असार २०८३

सारांश

  • पछिल्लो समय नेपाली फिल्म निर्माणमा तीव्रता छाएसँगै धेरैजसो नायिका व्यस्त देखिएका छन् ।
  • १० नायिकाहरूमध्ये स्वस्तिमा खड्का विज्ञापन र फिल्म प्रचारमा, केकी अधिकारी 'छ माया छपक्कै २' र 'स्टेशन' फिल्ममा व्यस्त छिन् ।
  • बेनिसा हमाल स्क्रिप्ट अध्ययन र नयाँ फिल्मको तयारीमा, आँचल शर्मा 'झिँगेदाउ २' को प्रचार र स्क्रिप्ट अध्ययनमा, मिरुना मगर नयाँ फिल्मको वर्कसप र स्क्रिप्ट अध्ययनमा व्यस्त छिन् ।

काठमाडौँ । पछिल्लो समय नेपाली फिल्म निर्माणमा तीव्रता छाएको छ । फिल्म निर्माण बढेसँगै निर्देशक, कलाकारदेखि प्राविधिकसम्म सबै व्यस्त रहने नै भए । नेपाली चलचित्र क्षेत्रका धेरैजसो नायिका अहिले व्यस्त देखिएका छन् । चल्तीकामध्येका १० अभिनेत्रीहरू को केमा छन् व्यस्त भन्नेबारे यहाँ समीक्षा गरिएको छ ।

१. स्वस्तिमा खड्का

अभिनेत्री स्वस्तिमा खड्का हाल विभिन्न ब्रान्डका विज्ञापनको छायाङ्कनमा व्यस्त छिन् । उनी अभिनित पछिल्लो चलचित्र ‘लालीबजार’ले ९ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्दै प्रदर्शनलाई निरन्तरता दिइरहेको छ ।

करिब दुई महिना यसै चलचित्रको प्रचारप्रसारमा खटिएकी स्वस्तिमाले व्यस्तताका कारण रोकिएका साना परियोजनाहरू धमाधम सम्पन्न गर्न थालेकी छन् । सोमबार राति ढिलासम्म विज्ञापन चलचित्रको छायाङ्कन सम्पन्न गरेको उनले जानकारी दिइन् । तत्काल छायाङ्कनमा जानुपर्ने कुनै चलचित्र नभए पनि उनले केही प्राप्त स्क्रिप्टको अध्ययन गरिरहेकी छन् ।

‘लालीबजार’ विदेशका विभिन्न मुलुकमा समेत प्रदर्शन हुन लागेकाले त्यहाँका प्रदर्शनहरूमा सहभागी भई फर्किएपछि मात्र नयाँ चलचित्रमा काम सुरु गर्ने उनको योजना छ ।

२. केकी अधिकारी

अभिनेत्री केकी अधिकारी हाल चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कनमा व्यस्त छिन् । यस चलचित्रको छायाङ्कन काठमाडौँमा भइरहेको छ । छायाङ्कन अन्तिम चरणमा पुगेको छ । उनी हालै प्रदर्शनमा आएको चलचित्र ‘काजी’ मा अभिनेता विपिन कार्कीको जोडीका रूपमा प्रस्तुत भएकी थिइन् । प्रेमकथामा आधारित यस चलचित्रले बक्सअफिसमा अपेक्षाकृत व्यवसाय गर्न नसके तापनि विपिन र केकीको अभिनयको भने प्रशंसा भएको थियो ।

यसका साथै केकी नयाँ चलचित्र ‘स्टेशन’ निर्माणको तयारीमा पनि जुटेकी छन् । नयाँ वर्षको अवसर पारेर घोषणा गरिएको यस चलचित्र छायाङ्कनको तयारीमा आफू लागिपरेको उनले बताइन् ।

३. बेनिसा हमाल

अभिनेत्री बेनिसा हमाल यतिबेला फुर्सदमा छिन् । फुर्सदको समयलाई उनी अभिनयका लागि अफर आएका चलचित्रका स्क्रिप्टहरू अध्ययन गरेर सदुपयोग गरिरहेकी छन् । यसबाहेक, आगामी भदौदेखि उनको नयाँ चलचित्रको छायाङ्कन सुरु हुँदैछ, जसको तयारीमा उनी जुटेकी छन् ।

निर्माण टोलीको योजनाअनुसार एक औपचारिक कार्यक्रमसहित नाम घोषणा गरिने भएकाले उनले उक्त चलचित्रको नाम अहिले गोप्य राखेकी छन् । केही समयअघि कान्तिपुर थिएटरको नाटक ‘सेतो धरती’ मार्फत रङ्गमञ्चमा डेब्यु गरेकी बेनिसाका पछिल्ला चलचित्रहरू ‘द ब्लूलाइट’ र ‘बिगुल’ प्रदर्शनमा आएका थिए । निर्वाचनका कारण प्रदर्शनको केही दिनमै स्थगित भएको चलचित्र ‘बिगुल’ पुनः प्रदर्शनको तयारीमा छ । उनले केही समयअघि मात्र चलचित्र ‘कल्ली’ को छायाङ्कन सम्पन्न गरेकी छन् ।

४. आँचल शर्मा

अभिनेत्री आँचल शर्मा पनि यतिबेला फुर्सदको समय बिताइरहेकी छन् । केही समयअघि मात्र उनले चलचित्र ‘झिँगेदाउ २’ को छायाङ्कन सम्पन्न गरेकी हुन् । हाल उनी घरमै बसेर अभिनयका लागि प्राप्त केही स्क्रिप्ट पढिरहेकी छन् । आँचल अभिनित चलचित्र ‘एक मुठ्ठी बादल’ जेठ १ गते प्रदर्शनमा आएको थियो ।

चलचित्रले बक्सअफिसमा राम्रो कारोबार गर्न नसके पनि यसमा उनले निर्वाह गरेको भूमिका र अभिनयको भने विभिन्न माध्यमबाट प्रशंसा भएको थियो । अहिले पढिरहेका स्क्रिप्टमध्ये कुनै मन परेमा उनी नयाँ चलचित्रको छायाङ्कनमा जुट्ने छिन् । आगामी असोजमा प्रदर्शन हुन लागेको ‘झिँगेदाउ २’ को प्रचारप्रसार केही समयपछि सुरु हुने र त्यसका लागि आफूले पर्याप्त समय दिनुपर्ने उनले बताएकी छन् ।

५. मिरुना मगर

अभिनेत्री मिरुना मगर हाल नयाँ चलचित्रको कार्यशाला (वर्कसप) मा व्यस्त छिन् । अनिल बुढाको निर्देशनमा बन्न लागेको यस चलचित्रको छायाङ्कन असार १५ गतेदेखि सुरु हुँदैछ । वर्कसपका साथै उनले केही चलचित्रका स्क्रिप्टहरू पनि पढिरहेकी छन् । वर्कसपबाट बचेको समयमा आफूले विश्वकप फुटबलको आनन्द लिइरहेको उनले बताइन् ।

मिरुनाले हालैमात्र चलचित्र ‘डबल ट्रिपल’ को छायाङ्कन सम्पन्न गरेकी छन् भने उनको ‘कुस्ती’ नामक चलचित्र पनि प्रदर्शनको पर्खाइमा छ । वर्कसप भइरहेको चलचित्रबाहेक अर्को एक चलचित्रमा पनि उनी आबद्ध छिन्, जसको छायाङ्कन भदौदेखि सुरु हुने जानकारी दिइएको छ । आगामी वर्षसम्मका लागि आफ्नो समय व्यस्त (प्याक) रहेको उनले बताइन् । एक ब्रान्डसँग विज्ञापनका लागि कुराकानी भइरहेको जानकारी दिँदै उनले चलचित्रको व्यस्तताका कारण सानातिना धेरै परियोजनाहरू छोड्नुपरेको उल्लेख गरेकी छन् ।

६. वर्षा सिवाकोटी

अभिनेत्री वर्षा सिवाकोटी यतिबेला पोखरामा छिन् । चलचित्र ‘टिका’ को छायाङ्कनका लागि उनी पोखरा पुगेकी हुन्, जसमा प्रियंका कार्की र महेश त्रिपाठीको पनि मुख्य भूमिका छ र यसको छायाङ्कन केही दिनअघि सुरु भइसकेको छ । यसपछि उनी हालै आबद्ध भएको नयाँ चलचित्र ‘गंगारानी’ मा अभिनय गर्ने तयारीमा छिन् । पछिल्लो समय केही शैक्षिक ब्रान्डसँग पनि जोडिएकी वर्षा अभिनित पछिल्लो चलचित्र ‘माग्ने राजा’ गत वर्षको भदौमा प्रदर्शन भएको थियो ।

७. पूजा शर्मा

अभिनेत्री पूजा शर्मा हाल चलचित्र ‘महाराजधिराज’ को छायाङ्कनमा व्यस्त छिन् । गत जेठ ५ गते शुभमुहूर्त गरी छायाङ्कन सुरु भएको यस चलचित्रको सुटिङ अहिले भक्तपुर र आसपासका क्षेत्रमा भइरहेको छ । यो चलचित्र सम्पन्न गरेपछि उनी ‘मन बिनाको धन २’ मा अभिनय गर्नेछिन्, जसका लागि उनी केही दिनअघि मात्र अनुबन्धित भएकी हुन् ।

त्यसपछि उनी नाइटिङ्गेल इन्टरटेनमेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘रत्यौली’ को काममा जुट्नेछिन् । यो चलचित्र उनले आफैँ निर्माण गर्ने घोषणा गरेकी हुन्, जसमा उनी अभिनेता विजय बरालको जोडीका रूपमा देखिनेछिन् । वि.सं. २०८० मा प्रदर्शन भएको ‘उपहार’ पछि पूजाको कुनै पनि चलचित्र प्रदर्शनमा आएको छैन ।

८. वर्षा राउत

अभिनेत्री बर्षा राउत हाल प्रदर्शनोन्मुख चलचित्र ‘आई एम जितबहादुर’ को प्रचारप्रसारमा व्यस्त छिन् । प्रदर्शनमा आउन लागेको यस चलचित्रमा उनी अभिनेता जितु नेपालको जोडीका रूपमा देखिँदैछिन् । जितु नेपालकै निर्माण रहेको यस चलचित्रमा प्रियंका कार्कीको पनि मुख्य भूमिका छ ।

यसअघि गत वैशाखमा प्रदर्शन भएको र गायक रामकृष्ण ढकालको निर्माण रहेको चलचित्र ‘मालती मङ्गले’ मा उनी देखिएकी थिइन् । उक्त चलचित्रले बक्सअफिसमा अपेक्षित व्यवसाय गर्न नसकेपछि सहकर्मीहरूले सहयोग नगरेको भन्दै वर्षाले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेकी थिइन् ।

उनी केही समयअघि हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मा पनि जोडिएकी छन् र त्यसका लागि तयारी गरिरहेकी छन् । हालै ‘आई एम जितबहादुर’ को प्रचारका लागि बर्षा, प्रियंका र जितु पशुपतिनाथ पुगेका थिए, जहाँ आरती हेर्न आएका दर्शकमाझ चलचित्रको प्रचार गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचनासमेत भएको छ ।

९. सनिशा भट्टराई

अभिनेत्री सनिशा भट्टराई हाल चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कनमा व्यस्त छिन् । दीपकराज गिरी र दीपाश्री निरौला समूहको निर्माण रहेको यस चलचित्रको सुटिङ अहिले काठमाडौँको टोखामा भइरहेको छ । दीपक–दीपाको समूहसँग सनिशाको यो पहिलो सहकार्य हो । केही समयअघि चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन सकेर उनी यस चलचित्रको सेटमा जोडिएकी हुन् । ‘छ माया छपक्कै २’ मा आफ्नो भूमिका र कथा राम्रो भएकाले छायाङ्कन दबाबपूर्ण नभई रमाइलो भइरहेको उनले बताइन् ।

केही समयअघि नाटक ‘सिरिसको फूल’ मार्फत रङ्गमञ्चमा समेत डेब्यु गरेकी सनिशाको पुनः नाटक गर्ने इच्छा छ, तर चलचित्रमा लगातार व्यस्त रहनुपर्ने भएकाले तत्काल नाटक गर्ने योजना भने छैन । उनले ‘छ माया छपक्कै २’ पछि अभिनय गर्नका लागि अर्को एक चलचित्र पनि सम्झौता गरिसकेकी छन्, जसको छायाङ्कन मिति भने तय हुन बाँकी छ । हाल अर्को एउटा स्क्रिप्ट पनि पढिरहेकी उनले ‘छ माया छपक्कै २’ पछि लगातार दुई वटा चलचित्रको छायाङ्कन हुन सक्ने सङ्केत गरेकी छन् ।

१०. गरिमा शर्मा

अभिनेत्री गरिमा शर्मा चलचित्र ‘हन्टर’ को छायाङ्कनमा व्यस्त छिन् र यसको छायाङ्कन अन्तिम चरणमा पुगेको छ । यसबाहेक उनी केही म्युजिक भिडियोमा पनि अभिनय गर्ने तयारीमा छिन् । छिटै एउटा नयाँ चलचित्रमा अभिनय गर्न लागेकी गरिमाले औपचारिक घोषणा अगाडि चलचित्रको नाम सार्वजनिक गर्न नमिल्ने बताइन् ।

 उनी हाल केही चलचित्रका स्क्रिप्ट पनि पढिरहेकी छन् । प्राप्त १० वटा स्क्रिप्ट पढ्दा बल्ल एउटा चलचित्र आफ्नो रोजाइमा पर्ने उनले उल्लेख गरिन् । उनी अभिनित पछिल्लो चलचित्र ‘काजी’ गत जेठ ८ गतेदेखि प्रदर्शनमा आएको थियो । चलचित्रले बक्सअफिसमा सोचेजस्तो व्यावसायिक सफलता हासिल गर्न नसके पनि उनको अभिनयको भने प्रशंसा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप