बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

केप भर्डेका गोलकिपर वोझिन्हाकी आमालाई दिइयो विश्वकपका लागि भिसा

बिहीबार, ०४ असार २०८३, १२ : ०७
बिहीबार, ०४ असार २०८३

सारांश

  • केप भर्डेका गोलकिपर वोझिन्हाकी आमा आना क्यान्डिडा एभोराले विश्वकप खेल हेर्नका लागि भिसा पाएकी छिन् ।
  • आर्थिक कारणले भिसा शुल्क तिर्न नसक्दा सुरुमा आमा खेल हेर्न जानबाट बञ्चित भएकी थिइन् ।
  • अमेरिकी नेता हाकिम जेफ्रीजको पहलपछि शुल्क छुट गरी आमालाई अमेरिका बोलाइएको छ ।

अमेरिका । केप भर्डेका स्टार गोलकिपर वोझिन्हाकी आमा आना क्यान्डिडा एभोरालाई संयुक्त राज्य अमेरिका प्रवेश गर्नका लागि भिसा प्रदान गरिएको छ । अब आफ्नो ४० वर्षीय छोरासँग विश्वकप खेलका क्रममा उनको भेट हुने पक्का भएको छ ।

अमेरिकी प्रतिनिधि सभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, ‘वोझिन्हालाई उनकी आमाले आइतबार हुने केप भर्डे र उरुग्वेबीचको खेलअघि मियामीमा भेट्नेछिन् ।’

विश्वकपमा प्रारम्भिक खेलमै स्पेनसँग ०–० को बराबरी खेल्दै उत्कृष्ट बचाउहरू गरेपछि वोझिन्हा चर्चामा आएका थिए । शक्तिशाली टोली मानिएको स्पेनलाई रोक्न सफल भएपछि उनले आम दर्शकको ध्यान खिचेका थिए ।

तर उनकी आमाले आर्थिक कारण अमेरिका आउनका लागि आवश्यक भिसा प्राप्त गर्न सकेकी थिइनन् । विशेषगरी भिसा प्राप्त गर्न आवश्यक शुल्क तिर्न नसक्दा उनी खेल हेर्न जानबाट बञ्चित भएकी थिइन् ।
खेलपछि वोझिन्हाले पनि आफ्नी आमाले अमेरिका आएर उनलाई प्रत्यक्ष रूपमा खेल हेर्न नसकेको बताएका थिए ।

हाकिम जेफ्रीजले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई यस विषयमा पहल गर्न आग्रह गरेका थिए । त्यसपछि सबै शुल्क छुट गरिँदै यात्राको व्यवस्था मिलाइएको र उनलाई मियामीमा हुने केप भर्डेको अर्को खेलमा उपस्थित गराइने भएको हो ।

जेफ्रीजले यस प्रक्रियामा सहयोग गरेकोमा अमेरिकी विदेश मन्त्रालय, केप भर्डे सरकार र फिफाप्रति आभार व्यक्त गरेका छन् ।

केप भर्डेले आफ्नो समूह चरणको दोस्रो खेल आइतबार उरुग्वेसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप