शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

कोशीका कानुनमन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्ग

प्रहरी भन्छ, ‘अभियुक्त खोज्दै गएका हौँ, तिलको पहाड बनाइयो’
शुक्रबार, ०५ असार २०८३, १३ : २२
शुक्रबार, ०५ असार २०८३

सारांश

  • कोशी प्रदेशका कानुनमन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा प्रहरी पुगेपछि विवाद उत्पन्न भएको छ।
  • प्रहरीले फरार अभियुक्तको खोजीका क्रममा मन्त्रीको निवास नजिक पुगेको बताएको छ, तर मन्त्रीको सचिवालयले भने छापा मारिएको भन्दै आपत्ति जनाएको छ।
  • जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले विमल भट्टराई नामक ज्यान मार्ने उद्योगका फरार प्रतिवादीको खोजीमा प्रहरी पुगेको र मन्त्रीको घरमा छापा नमारिएको स्पष्ट पारेका छन्।

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा गए राति प्रहरी टोली पुगेको घटनाले तरङ्ग उत्पन्न भएको छ। 

यस घटनालाई लिएर मन्त्रीको सचिवालयले छापा मारिएको भन्दै आपत्ति जनाएको छ भने अर्कोतर्फ प्रहरी र स्थानीय प्रशासनले फरार अभियुक्तको खोजीका क्रममा प्रहरी त्यहाँ पुगेको बताएका छन्।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मन्त्रीको आवासमै लक्षित गरेर छापा मारिएको नभई फरार अभियुक्त सो क्षेत्रमा लुकेको सूचनाका आधारमा प्रहरी परिचालन भएको बताए। उनले भने, ‘छापाभन्दा पनि खानतलासीका क्रममा फरार अभियुक्त, जो उद्योगमा भएको एउटा काण्डमा संलग्न शङ्कास्पद मान्छे हो, उसले त्यहाँ सेल्टर लिएको छ भन्ने सूचनाका आधारमा प्रहरी गएको रहेछ। मन्त्रीको क्वाटर भन्ने त थाहा भएन तर त्यहाँ अरू टोली पनि बसेको छ भन्ने बुझिएपछि प्रहरीले खानतलासी गर्‍यो। तर, यस क्रममा सञ्चार र अलिकति व्यावसायिकतामा कमजोरी देखियो, यसमा हामीले 'सरी' नै भन्यौँ। मन्त्रीको क्वाटरका रूपमा भन्दा पनि एक शङ्कास्पद व्यक्ति त्यहाँ लुकेको छ भन्ने सूचनाका आधारमा प्रहरीले तत्काल एक्सन लिएको हो। तर यसमा अलिकति समन्वयको अभाव देखियो।’

मन्त्रीका प्रमुख स्वकीय सचिव केदार दाहालका अनुसार घटना हुँदा मन्त्री पराजुली विपद्‌सम्बन्धी कार्यक्रमका लागि जिल्लाबाहिर अर्थात् धनकुटामा थिए। राति अचानक स्थानीय बासिन्दाले फोन गरेर जानकारी गराएपछि मात्र सचिवालयले घटनाबारे थाहा पाएको थियो।

दाहालले भने, ‘हामी त धनकुटामा थियौँ। बेलुका १० बजेतिर स्थानीय बासिन्दाले फोन गरेर ‘तपाईंहरूको घरमा त प्रहरीले छापा मारिरहेको छ, के हो ?’ भनेर सोध्नुभयो। हामीले एसपीलाई फोन गरेर बुझ्दा त्यहाँ ६ जना सिभिलका र अरू ५–७ जना प्रहरीहरू हुनुहुँदो रहेछ। स्थानीयहरू त्यहाँ पुगेर बुझ्दा प्रहरीले आफ्नो एक जना फरार अपराधी यहाँ बस्छ भन्ने सूचना पाएर आएको बताएका थिए।’

प्रहरीले गलत सूचनाका आधारमा कदम चालेको दाहालको दाबी छ। ‘पछि मैले एसपीलाई फोन गर्दा उनले सूचना गलत भएर प्रहरी त्यहाँ पुगेछ भने,’ उनले थपे।

यता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले मन्त्री निवासमा छापा मारिएको भन्ने कुरा सत्य नभएको दाबी गरे। उनका अनुसार प्रहरी एक गम्भीर अपराधका फरार प्रतिवादीको खोजीमा सो क्षेत्रमा पुगेको थियो।

कटुवालले भने, ‘विमल भट्टराई भन्ने मान्छे, जो ज्यान मार्ने उद्योगका फरार प्रतिवादी हुन्, उनी पुष्पलाल चोक नजिकैको एरियामा लुकेका छन् भन्ने सूचनाका आधारमा प्रहरी टोली गएको हो। खोजीका क्रममा टोली मन्त्रीको घर नजिकै पुगेको मात्र हो, मन्त्रीको घरमा छापा मारेको वा खानतलासी गरेको होइन। यो विषयलाई तिलको पहाड बनाइयो।’  कुटपिटबाट घाइते भएका व्यक्ति अहिले पनि आईसीयूमा छन् ।

उनले मन्त्री पराजुली बहालवाला मन्त्री भएको र उनीसँग कुनै दुस्मनी वा पूर्वाग्रह नरहेको स्पष्ट पारे। ‘मन्त्री त्यहाँ भाडामा बस्नुहुँदो रहेछ। प्रहरी अपराधी खोज्न त्यो एरियामा गएको हो। मन्त्रीको आवास लक्षित गरेर कुनै कारबाही गरिएको होइन,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप