कक्षा १२ को नतिजा ४० दिनभित्रै सार्वजनिक हुनु सुशासनको बलियो उदाहरण: मन्त्री पोखरेल
सारांश
- शिक्षा मन्त्री सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफल ४० दिनभित्र सार्वजनिक हुनुलाई सुशासन र शैक्षिक सुधारको फड्को भनेका छन् ।
- विगतमा तीन महिना लाग्ने नतिजा यस पटक प्रशासनिक प्रक्रिया चुस्त बनाएर छिटो सार्वजनिक गरिएको हो ।
- यसले विश्वविद्यालयको भर्ना र पठनपाठन समयमै सुरु गर्न प्रेरित गर्ने मन्त्रीले विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण फड्कोका रूपमा व्याख्या गरेका छन् ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा उनले नतिजा प्रकाशनमा गरिएको तदारुकताले समग्र शैक्षिक क्यालेन्डरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका हुन् ।
मन्त्री पोखरेलले यस वर्ष कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनभित्रै सार्वजनिक गर्न सफल भएको जानकारी दिए । विगतमा नतिजा सार्वजनिक गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गरेकोमा यस पटक प्रशासनिक प्रक्रियालाई चुस्त बनाउँदै छोटो अवधिमै काम सम्पन्न गरिएको उनको भनाइ छ ।
नतिजा ढिलो आउँदा विश्वविद्यालयको भर्ना, कक्षा सञ्चालन र परीक्षा समेत पछाडि धकेलिने गरेको स्मरण गर्दै मन्त्रीले अब विश्वविद्यालयहरूलाई पनि समयमै परीक्षा लिन र नतिजा प्रकाशन गर्न यसले प्रेरित गर्ने उल्लेख गरे । त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूले यस वर्षदेखि भर्ना र पठनपाठनको कार्यतालिका अगाडि नै सुरु गर्ने तयारी गरिसकेको जानकारी पनि उनले दिए ।
मन्त्रालयको कार्यदक्षता सम्झिँदै उनले भने, ‘यो केवल दिनको कटौती मात्र नभई सुशासनको एउटा बलियो उदाहरण हो । यसले अनावश्यक प्रशासनिक झमेलाहरूलाई हटाउँदा ४० दिनमै नतिजा ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ । यसबाट विश्वविद्यालयको भर्ना प्रक्रिया र शैक्षिक सत्र पनि समयमै सुरु हुने सुनिश्चितता भएको छ ।’
परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै मन्त्रीले नतिजालाई जीवनको एउटा खण्डका रूपमा मात्र लिन र सोचेजस्तो नतिजा नआएका विद्यार्थीलाई विचलित नहुन आग्रह गरे । उनले पूरक (ग्रेड वृद्धि) परीक्षाको तयारीमा जुट्न हौसला दिँदै आगामी शैक्षिक यात्राका लागि नेपालकै विश्वविद्यालयहरूमा पर्याप्त तयारी र अवसरहरू उपलब्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या
-
स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अनिवार्य अवकाशमा
-
संसदमा ४ प्रतिस्थापन विधेयक पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त
-
इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी श्रेष्ठ
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण