शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

स्काउटलाई लाइन मिलाउने स्वयंसेवकमा मात्र सीमित राख्नु हुन्न : शिक्षामन्त्री

शुक्रबार, ०५ असार २०८३, १५ : ४२
शुक्रबार, ०५ असार २०८३

सारांश

  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल स्काउटलाई नयाँ पद्धति र प्रणाली अनुसार अगाडि बढाउन सरकारले नीतिगत तथा कानुनी पुनर्संरचनाको प्रक्रिया सुरु गरेको बताएका छन् ।
  • मन्त्री पोखरेलले स्काउटलाई केवल लाइन मिलाउने वा सामान्य स्वयंसेवकका रूपमा मात्र सीमित नराखी विपद् व्यवस्थापन र जीवनोपयोगी शिक्षा प्रदान गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा विकास गरिनुपर्ने बताए ।
  • उनले विद्यार्थीमा बढ्दो मानसिक तनाव र स्वास्थ्य समस्या न्यूनीकरणमा स्काउटिङ अभियान प्रभावकारी हुने धारणा व्यक्त गर्दै यसको साङ्गठनिक संरचनालाई आधुनिक ढङ्गले रूपान्तरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल स्काउटलाई नयाँ पद्धति र प्रणाली अनुसार अगाडि बढाउन सरकारले नीतिगत तथा कानुनी पुनर्संरचनाको प्रक्रिया सुरु गरेको बताएका छन् । 

नेपाल स्काउटको स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

मन्त्री पोखरेलले स्काउटलाई केवल लाइन मिलाउने वा सामान्य स्वयंसेवकका रूपमा मात्र सीमित राख्न नहुने उल्लेख गरे । यसले विपद् व्यवस्थापन र सीमित स्रोतसाधनमा अधिकतम नतिजा निकाल्ने महत्त्वपूर्ण जीवनोपयोगी शिक्षा प्रदान गरिरहेको उनको भनाइ थियो । 

आजभोलिका विद्यार्थीमा बढ्दो मानसिक तनाव र स्वास्थ्य समस्या न्यूनीकरणमा स्काउटिङ अभियान निकै प्रभावकारी हुने धारणा मन्त्री पोखरेलले व्यक्त गरे । नेपाल स्काउटको वर्तमान साङ्गठनिक संरचनालाई आधुनिक ढङ्गले रूपान्तरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिँदै उनले नयाँ कार्यसमिति गठनका लागि सरकार सकारात्मक रहेको स्पष्ट पारे । उनका अनुसार स्काउटको कानुनी र नीतिगत सुधारका लागि कानुन मन्त्रालयसँग समेत आवश्यक परामर्श र छलफल भइरहेको छ ।

स्काउटको योगदान र महत्त्वबारे चर्चा गर्दै उनले भने, ‘जतिखेर जनशक्ति र स्वयंसेवकको खाँचो पर्छ, त्यहाँ स्काउटकै उपस्थिति रहने गरेको छ । विपद्को पूर्वतयारी र व्यवस्थापनमा स्काउटले दिने तालिम जीवनभरका लागि महत्त्वपूर्ण पाठ हो । आजका विद्यार्थीहरूमा सानो कुरामा पनि तनाव लिने र मानसिक समस्या देखिने क्रम बढेको छ । स्काउटले दिने शारीरिक व्यायाम र मानसिक प्रशिक्षणले विद्यार्थीहरूलाई अनुशासित, स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत पुर्‍याउँछ ।’

देशको नयाँ सङ्घीय संरचना र आधुनिक आवश्यकतासँग मेल खाने गरी स्काउटलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पोखरेलले स्काउटले समाजमा पुर्‍याएको सकारात्मक योगदानको उच्च प्रशंसा समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप