शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

‘टोल टोलमा फिल्म महोत्सव’ सुरु

शुक्रबार, ०५ असार २०८३, १९ : १९
शुक्रबार, ०५ असार २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबार खुला मञ्चबाट ‘टोल टोलमा फिल्म महोत्सव’ को औपचारिक शुभारम्भ गरेको छ । 

खुला मञ्चमा अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ् निर्देशित लघु चलचित्र ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित लघु चलचित्र ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन हुनेछन् । 

यी लघु चलचित्रहरू काठमाडौँ माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभलसँगको सहकार्यमा प्राप्त भएका हुन् । महोत्सवका कार्यक्रम असार महिना भरि हरेक शुक्रबार र शनिबार सञ्चालन हुनेछन् ।

यी कार्यक्रममा प्रदर्शन गरिने लघु चलचित्र चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, काठमाडौँ माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल, नेपाल फिल्म एकेडेमीसँग सहकार्यमा प्राप्त भएका छन् । 

कार्यक्रमको प्राविधिक पक्ष महानगरपालिका आफैँले व्यवस्थापन गरेको छ भने व्यवस्थापनका खुला आव्हानबाट स्थानीय सङ्घसंस्थाहरू छनोट गरेको छ । यसरी छानिएका संस्थाहरूले कार्यक्रम व्यवस्थापन गर्नेछन् ।

यसअन्तर्गत आजको कार्यक्रम इकोज इन द भ्यालीले गरेको छ । भोलि असन क्षेत्रमा महोत्सव हुनेछ । यो कार्यक्रम नीलः सांस्कृतिक क्लवले गर्नेछ । 

येँःका पुचले बालाजु बाइपास क्षेत्रमा, निर्णय नेपालले बागबजार सडक खण्डमा, नेपाल भाषा स्यनेकने फाउण्डेसन, यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, न्हुग पःला सांस्कृतिक मिसा पुचःले लगनटोल, मैतीदेवी युनाइटेड क्लवले मैतीदेवी मन्दिर खुला चौरमा कार्यक्रम व्यवस्थापन गर्नेछन् । सार्वजनिक स्थल, पार्क, डवली, चोकहरुमा फिल्म महोत्सवका कार्यक्रम आयोजना गर्ने योजना अनुरुप यी स्थान छानिएका हुन् । 

नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारलाई योगदान दिन रचनात्मक उद्योग र समुदायसँग जोड्नु  महोत्सवको मुख्य उद्देश्य रहेकाे काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए । 

महोत्सवमा लघु चलचित्र प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम तथा क्रियाकलाप हुनेछन् । मौलिक खानाका परिकार राखिने प्रवक्ता मानन्धरले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप