शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

नेदरल्याण्ड्स र स्विडेन भिड्दै, अघिल्लो चरणको समीकरणका लागि दुवैलाई जितको दबाब

शनिबार, ०६ असार २०८३, २२ : ३५
शनिबार, ०६ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' मा नेदरल्याण्ड्स र स्विडेनबिच आज राति प्रतिस्पर्धा हुँदैछ ।
  • पहिलो खेलमा स्वीडेनले ट्युनिसियालाई ५-१ ले हराउँदै सानदार सुरुवात गरेको थियो भने नेदरल्याण्ड्सले जापानसँग २-२ को बराबरी खेलेको थियो ।
  • अघिल्लो चरणको यात्रा तय गर्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ, जहाँ स्वीडेन जित हात पारे लगभग निश्चित हुनेछ भने नेदरल्याण्ड्सलाई जित्नै पर्ने दबाब छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत आज राति नेदरल्याण्ड्स र स्विडेनबिच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको ह्युस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार शनिबार राति १०ः४५ बजे सुरु भएकाे हाे।

समूह चरणको यो दोस्रो खेल दुवै टोलीका लागि अघिल्लो चरण (नकआउट) को यात्रा तय गर्न निकै महत्त्वपूर्ण मानिएको छ ।

यसअघि भएको आफ्नो पहिलो खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । उत्कृष्ट गोल अन्तरसहित ३ अंक जोडेको स्विडेन हाल समूहको शीर्ष स्थानमा रहेको छ । आजको खेलमा जित हात पारे स्वीडेनको अघिल्लो चरण पुग्ने सम्भावना लगभग निश्चित हुनेछ ।

अर्कोतर्फ, नेदरल्याण्ड्सले आफ्नो पहिलो खेलमा जापानसँग २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै १ अंक बटुलेको थियो । १ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्सलाई अघिल्लो चरणको समीकरण सहज बनाउन आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ ।

यदि आज स्विडेन विजयी भएमा ६ अंकका साथ उसले अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गर्ने बलियो आधार तय गर्नेछ । तर, नेदरल्याण्ड्स विजयी भएको खण्डमा समूह ‘एफ’ को समीकरण निकै रोचक बन्नेछ र दुवै टोलीको भविष्य समूहको अन्तिम खेलले तय गर्नेछ । बराबरीको नतिजा आएमा भने स्विडेन सुविधाजनक स्थितिमा रहनेछ भने नेदरल्याण्ड्सले अन्तिम खेलमा ठुलो अन्तरको जित निकाल्नुपर्ने हुन सक्छ ।

आजको खेलमा स्विडेन आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने नेदरल्याण्ड्स पहिलो जितको खोजीमा मैदान उत्रनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप