वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
सारांश
- वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न प्राविधिक पदहरूमा कानुनी प्रक्रिया पूरा नगरी गैरकानुनी नियुक्ति गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
- उजुरीमा रिक्त पदपूर्ति गर्दा खुला प्रतिस्पर्धा, सार्वजनिक सूचना प्रकाशन र नियम विपरीत नियुक्ति प्रक्रिया अपनाइएको दाबी गरिएको छ ।
- अस्थायी नियुक्तिको दुरुपयोग गरी राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा निश्चित व्यक्तिहरूलाई भर्ना गरिएको आरोप लगाइएको छ ।
काठमाडौँ । वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न समयमा मेडिकल अफिसर र कन्सल्ट्यान्ट लगायतका प्राविधिक पदहरूमा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी गैरकानुनी नियुक्ति गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । डा.अमित झाले बुधबार आयोगको कार्यालयमा पुगेर उजुरी दिएका हुन् ।
उजुरीमा ती अस्पतालहरूमा रिक्त पदपूर्ति गर्दा खुला प्रतिस्पर्धा नगराइएको, सार्वजनिक सूचना प्रकाशन नगरिएको र नियम विपरीत नियुक्ति प्रक्रिया अपनाइएको दाबी गरिएको छ ।
उजुरीकर्ता डा.झाका अनुसार अस्पताल प्रशासनले ‘ज्यालादारी वा करार नियुक्ति’ सम्बन्धी कानुनी प्रावधानको दुरुपयोग गर्दै आएका छन् । नियमतः संस्थाको काममा तत्काल असर पर्ने विशेष परिस्थितिमा बढीमा ६ महिनाका लागि मात्र अस्थायी नियुक्ति गर्न सकिने व्यवस्था भएता पनि त्यसलाई नियमित पदपूर्तिको विकल्पका रूपमा प्रयोग गरी पटक–पटक एउटै प्रकृतिका पदहरूमा राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा निश्चित व्यक्तिहरूलाई भर्ना गरिएको आरोप पत्रमा लगाइएको छ । यस सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मन्त्रीको सचिवालयलाई जानकारी गराउँदा समेत कुनै कारबाही नभएपछि संवैधानिक निकायको ढोका ढकढक्याउनु परेको उजुरी पत्रमा उल्लेख छ ।
निवेदनमार्फत विगत केही वर्षयता भएका सम्पूर्ण नियुक्ति प्रक्रिया, आवेदन आह्वान, र स्वीकृत दरबन्दीसम्बन्धी कागजातको निष्पक्ष छानबिन गर्न माग गरिएको छ । साथै, निर्णय प्रक्रियामा संलग्न अधिकारी तथा अस्पताल प्रशासनका जिम्मेवार व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न र अनैतिक तरिकाले नियुक्त गरिएका चिकित्सकहरूलाई तत्काल खारेज गरी खुला परीक्षा र निष्पक्ष प्रतिस्पर्धाका माध्यमबाट योग्य चिकित्सक भर्ना गर्ने व्यवस्था मिलाउन आयोगसमक्ष माग गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
-
रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
-
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न सभापति लामिछानेको आग्रह
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण