शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

शनिबार, ०६ असार २०८३, १७ : २६
शनिबार, ०६ असार २०८३

तेहरान । इरान र अमेरिकाबिच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले शनिबार इरानको भ्रमण गरेका छन् ।

मध्यपूर्वमा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेपछि तेहरान र वासिङ्टनबीच शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने तय भएको थियो तर समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट नै र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले तेहरानबाट विद्युतीयप्रतिमा हस्ताक्षर गरेपछि पछिल्लो वार्ता स्थगित भएको थियो ।

तस्निमसहित इरानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानका गृहमन्त्री नाक्वी शनिबार उत्तरपूर्वी शहर मशहादमा अवतरण गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले यसअघि आइएसएनएलाई दिएको जानकारीअनुसार पाकिस्तानका गृहमन्त्री शनिबार दिउँसो इरान पुग्ने बताएका थिए ।

भ्रमणका क्रममा नक्वीले आफ्ना इरानी समकक्षी एस्कान्दर मोमेनी र विदेशमन्त्री अब्बास अराघचीसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ । तेहरान र वासिङ्टनबिच पाकिस्तानले प्रमुख मध्यस्थकर्ताको रुपमा रहेको र यसै साता घोषणा गरिएको सम्झौताको तयारीमा कतार पनि सामेल भएको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायली गठबन्धनले गरेको आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी र कैयौँ वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको थियो । इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफी कारबाही गर्यो जसले अप्रिलमा भएको युद्धविरामअघि यस क्षेत्रका देशहरूलाई युद्धमा तानेको थियो ।

इरानले संयुक्त राज्य अमेरिकासँग शत्रुता अन्त्य गर्न एक सम्झौतामा बिहीबार हस्ताक्षर गरेको छ, जसको उद्देश्य इरानको लामो समयदेखि विवादित आणविक कार्यक्रम समावेश गर्ने बृहत् सम्झौतामा थप वार्ता गर्नु हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप