अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
सारांश
- गोलरक्षक एलोय रुमको उत्कृष्ट बचाउका कारण कुरासाओले इक्वेडरविरुद्ध विश्वकपमा आफ्नो इतिहासमा पहिलो अंक बटुलेको छ ।
- रुमले १५ वटा बचाउ गर्दै १९६६ देखि अभिलेख राखिएको विश्वकपको ९० मिनेटको खेलमा सर्वाधिक बचाउको कीर्तिमान राखे ।
- जनसंख्या १ लाख ५६ हजार रहेको कुरासाओ विश्वकप खेल्ने इतिहासकै सबैभन्दा सानो राष्ट्र हो, जसले इक्वेडरविरुद्धको गोलरहित बराबरीपछि ऐतिहासिक उपलब्धि हासिल गर्यो ।
इक्वेडरका फरवार्ड एनर भ्यालेन्सिया खेलको तेस्रो मिनेटभित्रै कुरासाओको गोलतर्फ एक्लै अघि बढ्दा नतिजा लगभग निश्चितजस्तै देखिएको थियो ।
गोलपोस्टबाट करिब १० यार्ड दूरीमा रहेका भ्यालेन्सियासामु केवल गोलरक्षक मात्र बाँकी थिए र उनी गोल गर्न सफल हुनेमा धेरैलाई शंका थिएन । यदि त्यसो भएको भए विश्वकपको उद्घाटन खेलमा जर्मनीसँग ७–१ ले पराजित भएको कुरासाओका लागि खेल थप कठिन बन्ने थियो ।
तर गोलरक्षक एलोय रुमले भ्यालेन्सियाको प्रहार कुन दिशामा जानेछ भन्ने अनुमान लगाए, बायाँतर्फ झुकेर बललाई पोस्टबाहिर धकेलिदिए । त्यो अविश्वसनीय र लगभग अकल्पनीय बचाउ थियो । त्यसपछि खेलको लय नै बदलियो ।
खेल समाप्त हुँदासम्म बीबीसी स्पोर्टका विश्लेषक तथा पूर्व आर्सनल डिफेन्डर मार्टिन किओनले मजाक गर्दै रुमले आफ्नो टोलीलाई कति पटक बचाए भन्ने गन्न क्याल्कुलेटर नै चाहिन सक्ने बताए । अन्ततः इक्वेडरले आफ्ना गुमाएका अवसरहरूको मूल्य चुकायो भने विश्वकपमा पहिलो पटक सहभागी कुरासाओले प्रतियोगिताको इतिहासमै पहिलो अंक बटुलेकोमा खुसी मनायो ।
मियामी एफसीका ३७ वर्षीय गोलरक्षक रुमले १५ वटा बचाउ गर्दै कीर्तिमानी प्रदर्शन गरे र आफ्नो टोलीलाई गोलरहित बराबरीमा रोक्दै इतिहास रच्न मद्दत गरे । अप्टाका अनुसार १९६६ देखि अभिलेख राख्न थालिएयता विश्वकपको ९० मिनेटको खेलमा कुनै पनि गोलरक्षकले रुमभन्दा बढी बचाउ गरेका छैनन् ।
यसअघि अमेरिकाका टिम हावार्डले २०१४ मा बेल्जियमविरुद्ध १५ बचाउ गरेका थिए । तर उनले अतिरिक्त समयमा दुई गोल खाएका कारण क्लिन सिट राख्न सकेका थिएनन् । रुम भने खेलमा क्लिन सिट कायम राख्न सफल भए ।
०–० को बराबरीपछि रुमले मजाक गर्दै भने, ‘हावार्ड घरमै बसेर पसिना काढिरहेका होलान् । अब त कुरासाओमा मेरो सालिक नै बनाउनुपर्छ ।’
मार्टिन किओनले बीबीसी वनमा भने, ‘रुमलाई सम्मान गर्नुपर्छ । उनी बिल्कुलै उत्कृष्ट थिए । खेलको अन्त्यमा उनका बचाउ गन्न क्याल्कुलेटर निकाल्नुपर्ने अवस्था थियो । उनका प्रतिक्रिया विश्वस्तरीय थिए र उनले क्लिन सिट राख्ने नियति बोकेर मैदानमा उत्रिएजस्तै देखिन्थ्यो ।’
रुम बने राष्ट्रिय नायक
कुरासाओ विश्वकपमा पुग्नुमा पनि रुमको ठूलो योगदान छ । गत नोभेम्बरमा जमैकाविरुद्धको गोलरहित बराबरीमा उनले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई विश्वकपमा छनोट गराएका थिए । सन् २०१५ मा पूर्व डच स्टार प्याट्रिक क्लुइभर्टले कुरासाओको प्रशिक्षक हुँदा रुमलाई आफ्नो पितृभूमिका लागि खेल्न मनाएका थिए । नेदरल्यान्ड्सको निजमेगेनमा जन्मिएका रुमले आफ्नो प्रारम्भिक करिअर डच लिगमा बिताएका थिए । उनले पीएसभीसँग लिग उपाधि र भिटेस्सेसँग कप जित्दै १० वर्षमा २०० भन्दा बढी खेल खेले ।
सन् २०१९ मा उनी अमेरिकाको कोलम्बस क्रुमा पुगे । त्यहाँ उनले २०२० मा एमएलएस कप जिते र सिजनकै उत्कृष्ट बचाउको पुरस्कार पनि पाए । पछि उनी पुनः अमेरिकामै फर्किएर दोस्रो श्रेणीको क्लब मियामी एफसीमा आबद्ध भए ।
रोचक कुरा के छ भने यस सिजन मियामी एफसीका लागि खेलेका नौ लिग खेलमध्ये कुनै पनि खेलमा उनले पाँचभन्दा बढी बचाउ गरेका थिएनन् । लुइसभिल सिटीविरुद्ध ४–३ को जितमा उनले पाँच बचाउ गरेका थिए । उक्त खेलमा केवल ७१३ दर्शक उपस्थित थिए । तर कान्सास सिटी रंगशालामा ६८ हजार ५९८ समर्थकसामु उनले विश्वकप इतिहासमा आफ्नो नाम लेखाए । इक्वेडरका २७ प्रहारमध्ये १५ बचाउ गर्दै उनले ३.०५ एक्सजी भएको टोलीलाई गोल गर्न दिएनन् ।
रुमले भने, ‘अहिलेसम्म पनि म यो उपलब्धिलाई आत्मसात् गर्ने प्रयास गरिरहेको छु । खेल भावनाले भरिएको थियो । सुरुको बचाउले टोलीलाई आत्मविश्वास दियो । त्यसपछि म पनि राम्रो हुँदै गएँ, अनि टोली पनि । यो सामूहिक प्रयास थियो ।’
कुरासाओका लागि ऐतिहासिक उपलब्धि
रुमको प्रदर्शनले कुरासाओलाई विश्वकप इतिहासमा पहिलो अंक दिलायो ।
जर्मनीविरुद्धको पहिलो खेलमा गोल फर्काउँदा उनीहरूले केही समय उत्साह मनाए पनि अन्ततः ७–१ को भारी हार बेहोरेका थिए । त्यसपछि उनीहरूले विश्व वरियतामा आफूभन्दा ५० भन्दा बढी स्थान माथि रहेको इक्वेडरको सामना गरे ।
केवल १ लाख ५६ हजार जनसंख्या भएको कुरासाओ विश्वकप खेल्ने इतिहासकै सबैभन्दा सानो राष्ट्र हो । नेदरल्यान्ड्स राज्यभित्र स्वशासित इकाइका रूपमा रहेको यो क्यारेबियन टापुको टोलीले अप्रत्याशित बराबरी निकाल्दा डच राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमा पनि रंगशालामा उपस्थित थिए ।
फिफा वरियतामा ८० वा त्यसभन्दा तल रहेका टोलीले विश्वकपमा अंक जितेको यो केवल तेस्रो अवसर हो । खेलअघि कुरासाओ ८२औँ स्थानमा थियो । मार्टिन किओनले भने, ‘आजको साँझ पूर्ण रूपमा कुरासाओको नाममा रह्यो। उनीहरूले हासिल गरेको उपलब्धि उनीहरूका लागि जितसरह हो । उनीहरू यहाँ केवल संख्या पूरा गर्न आएका थिएनन् । यो उनीहरूका लागि असाधारण नतिजा हो ।’
अब कुरासाओले समूह ‘ई’ को अन्तिम खेलमा आइभरी कोस्टको सामना गर्नेछ । यदि उसले अफ्रिकी टोलीलाई स्तब्ध पार्दै जित निकाल्न सके, अन्तिम ३२ मा पुग्ने सम्भावना जीवित रहनेछ । जे भए पनि, इक्वेडरविरुद्धको यो ऐतिहासिक रात सानो टापु राष्ट्र कुरासाओका लागि सधैं सम्झनलायक रहनेछ ।
बीबीसीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन, तस्बिरहरू
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
-
रास्वपा महाधिवेशन : प्रतिनिधि नामावलीमा दाबी विरोध र नाम समावेशका लागि आह्वान
-
पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउन सक्ने छैन : लामिछाने
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण