क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
सारांश
- नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या ७ लाख ८२ हजार योग्य सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ मात्र अद्यावधिक भएको छ, जुन गत महासमिति बैठकको ८ लाख ६६ हजार २०२ सदस्य संख्याभन्दा १ लाख ७८ हजार २७१ ले कम हो।
- पार्टीको संस्थापन र इतर पक्षबीच क्रियाशील सदस्यता 'अध्यावधिक' गर्ने प्रक्रियालाई लिएर विवाद छ, जसमा संस्थापन पक्षले यसलाई डिजिटलाइजेसनको आवश्यकता बताएको छ भने इतर पक्षले यसलाई कार्यकर्तालाई विभेद गर्ने माध्यम मानेको छ।
- इतर पक्षले पार्टीको संशोधित विधानमा 'अध्यावधिक' को व्यवस्था नभएको र यो प्रक्रिया विधानविपरीत रहेको दाबी गरेको छ, जसले पार्टीभित्रको गुटगत द्वन्द्वलाई थप चर्काएको छ।
काठमाडौँ । कुनै पनि राजनीतिक दलका लागि संगठित वा क्रियाशील सदस्य ऊर्जावान शक्ति हुन्, जसले तल्लो तहमा बसेर पार्टीका गतिविधि चलायमान बनाउँछन् । राजनीतिक दलहरू संगठन विस्तार अभियानमार्फत त्यस्ता सदस्यको सङ्ख्या बढाएर प्रतिस्पर्धात्मक राजनीतिमा आफूलाई अब्बल तुल्याउन केन्द्रित हुने गर्दछन् ।
यतिबेला पुराना राजनीतिक दलको आकार संसदमा खुम्चिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीको आकार गत फागुनमा सम्पन्न आम निर्वाचनबाट घटेको छ ।
दशकौँदेखि राजनीतिमा होमिएका यी दल किन खुम्चिए भन्नेबारे विश्लेषणको छुट्टै अध्याय आवश्यक हुन्छ । नेपाली कांग्रेसको आन्तरिक राजनीति नियाल्दा संसदमा उसको आकार घटेकोमात्र होइन, पार्टीको ऊर्जा भन्ने क्रियाशील सदस्य सङ्ख्या पनि उल्लेख्य घटेको देखिन्छ ।
विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्र एउटा पक्ष भूमिकाविहीन छ । विशेष महाधिवेशन अघिको संस्थापन पक्ष अर्थात्, तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष यतिबेला नेपाली कांग्रेसभित्र भूमिका र जिम्मेवारीका दृष्टिले पाखा लागेको अवस्था छ । पार्टीका प्रभावशाली नेता डा. शेखर कोइराला पक्ष पनि नेतृत्वपङ्क्तिबाट टाढिएको अवस्था छ ।

विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पार्टीभित्रको एकतालाई सुदृढ बनाउने दिशामा काम नगरेकै कारण पार्टीको साख घट्दो छ भनेर आरोप लगाउनेहरू क्रियाशील सदस्यता सङ्ख्या घटेको विषयलाई उदाहरणका रूपमा देखाइरहेका छन् ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जेठ ३० गते विज्ञप्ति जारी गर्दै जेठ २८ गते राति १२ः०० बजेसम्म वडा तहमार्फत अद्यावधिक सम्पन्न भएका तथा डिजिटल प्रणालीमार्फत स्वयं अद्यावधिक फाराम भरी वडा तहमा अनुमोदनको प्रक्रियामा रहेका गरी कुल ६ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको छ । जबकि अद्यावधिक गर्नका लागि ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्य योग्य थिए ।
५ लाख ३८ हजार ६२२ क्रियाशील सदस्यले एनसीआईडी प्राप्त गरिसकेका र १ लाख ४९ हजार ३०९ जना क्रियाशील सदस्यले पेस गरेको स्वयं अद्यावधिक फाराम डिजिटल प्रणालीमा प्रविष्ट भई वडा तहमार्फत अद्यावधिकको प्रक्रियामा रहेको विज्ञप्तिमा जनाइएको थियो ।
जबकि, २०८० फागुनमा भएको महासमिति बैठकमा महामन्त्रीको हैसियतमा गगन थापाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार नेपाली कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या त्यतिबेला ८ लाख ६६ हजार २०२ थियो । यस आधारमा एक लाख ७८ हजार २७१ क्रियाशील सदस्यले डिजिटल प्रणालीमा सदस्यता अद्यावधिक गरेका छैनन् । उनीहरूमध्ये अधिकांश देउवा–कोइराला पक्षका हुन् भनेर बुझ्न कठिन छैन । केहीले भने पार्टी परित्याग गरेका पनि हुन सक्छन् ।
_oubAKtcH7X.jpg)
२०८० फागुनमा पेस भएको तथ्याङ्क र अहिले अद्यावधिक भएको संख्याका बिचमा दुई वर्षभन्दा बढी समयको फरक छ । देशकै पुरानो पार्टीमध्येको एक नेपाली कांग्रेसले दुई वर्षको अवधिमा कति क्रियाशील सदस्यता थप्न सक्थ्यो र बढाउन सक्नु पर्थ्यो भन्ने विषय आफ्नो ठाउँमा छँदैछ ।
अहिले अद्यावधिक गरेको भनिएका सदस्य सङ्ख्याका बारेमा पनि इतर समूहले आशङ्का व्यक्त गरिरहेको छ । ‘अध्यावधिक गरेको सङ्ख्यामा पनि शङ्का छ,’ इतर समूहका एक नेताले भने, ‘पारदर्शी छैन । हामी केन्द्रीय कार्यालयको पहुँच बाहिर छौँ । जति सङ्ख्या भने पनि भइहाल्यो ।’
समितिले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अद्यावधिक गर्न छुट हुन गएको भए सोको निरन्तरतासहित अद्यावधिक गर्न चाहने क्रियाशील सदस्यका लागि यही असार २० गतेभित्रमा आफू क्रियाशील सदस्य रहेको प्रमाणसहित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने जनाएको छ । सदस्यता अद्यावधिक नगरेका क्रियाशील सदस्यलाई भित्रिने बाटो खुला राख्न यो व्यवस्था गरिएको हो ।
- क्रियाशील सदस्यता अद्यावधिक किन ?
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पार्टीको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक गर्ने अभियान चलाएको हो । १४औँ महाधिवेशनबाट निर्वाचित भएर विशेष महाधिवेशनमार्फत नेतृत्व तहबाट हटाइएको पक्षले भने यसको विरोध गर्दै आएको छ ।
यसअघि गुटगत आधारमा संस्थापनमा रहनेलाई धेरै र संस्थापन इतर समूहलाई थोरै नवीकरण गरिएको भन्दै विरोध हुन्थ्यो । अहिले नवीकरण भइसकेकालाई पुनः अध्यावधिक किन गर्न लागियो भनेर इतर समूहले विरोध गरिरहेको छ । संस्थापन पक्ष भने पार्टीलाई समय सापेक्ष रूपमा डिजिटलाइज्ड गर्न अध्यावधिक गरिएको स्पष्टीकरण दिइरहेको छ ।
यसअघि महाधिवेशनको मुखमा मात्र जुर्मुराउने सदस्यतासम्बन्धी विवाद यसपटक डिजिटल प्रविधिको प्रयोगसँगै नयाँ स्वरूपमा प्रकट भएको छ । पार्टी नेतृत्वले सदस्यतालाई डिजिटल रूपमा अध्यावधिक गर्ने अभियान सुरु गरेपछि संस्थापन र इतर पक्षबिच मतभेद देखिएको हो ।
यसले कांग्रेसभित्रको गुटगत खाडल पुनः सतहमा ल्याएको छ । पार्टी नेतृत्व र विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा रहेका नेताहरूले क्रियाशील सदस्यता अध्यावधिक अभियान पार्टीलाई आधुनिक बनाउने र वास्तविक सदस्यहरूको तथ्याङ्क राख्ने एउटा विधि भएको बताइरहेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पार्टी केन्द्रीय कार्यालयसहितका कार्यालयमा आन्दोलनकारीले आगो लगाएर ध्वस्त बनाइदिँदा कागजमा रहेका रेकर्डहरू नष्ट भएको र नयाँ रेकर्ड सिर्जना गरी पार्टीलाई सूचना प्रविधिसँग जोड्न ‘डिजिटल इन्ट्री’ अनिवार्य भएको महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेल बताउँछन् ।
तर, इतर समूह (निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा.शेखर कोइराला समूह)ले भने यो अभियानको नियतमै प्रश्न उठाइरहेको छ । अध्यावधिकलाई इतर समूहले कार्यकर्तालाई सास्ती दिने र आफ्ना मान्छेमात्र छान्ने संयन्त्रको संज्ञासमेत दिइरहेको छ ।
इतर समूहका नेता मीन विश्वकर्मा पार्टी भित्रकै साथीहरुलाई ग्रेडिङ गरिदिने, छिन्नभिन्न पार्ने काम गर्न अध्यावधिकको विषय ल्याएको बताउँछन् ।
१५औँ महाधिवेशनका लागि नवीकरण गरेका र वितरण भएका क्रियाशील सदस्यहरूलाई डिजिटल रूपमा अध्यावधिक गर्ने र अध्यावधिक भएकाहरूलाई मात्रै महाधिवेशनमा भाग लिन दिने भनेर निषेधात्मक र नियन्त्रणात्मक विधिमा अगाडि बढिरहेको उनको भनाइ छ ।
कांग्रेसभित्र क्रियाशील सदस्यता अध्यावधिकको वैधानिक आधार के हो भन्ने प्रश्न पनि उठिरहेको छ । इतर समूहका नेताहरूले पार्टीको १४औँ महाधिवेशनबाट संशोधित विधानले क्रियाशील सदस्यता ‘नवीकरण’ मात्र चिन्छ, ‘अध्यावधिक’ भन्ने शब्द र प्रक्रिया त्यहाँ छैन भनिरहेका छन् । संस्थापन पक्षले अध्यावधिकलाई विधानकै व्यवस्था भएको बताउँदै यसलाई नियमित प्रक्रियाका रूपमा व्याख्या गरेको छ ।
एउटै विधानलाई दुई पक्षले आ–आफ्नो अनुकूल व्याख्या गर्दा कार्यकर्तामा भने अन्योल छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा लामो समय काम गरेका वरिष्ठ अधिवक्ता एगराज पोखरेल विधानमा सदस्यता अध्यावधिकको व्यवस्था नभएको र विधान संशोधन महाधिवेशनले मात्रै गर्न सक्ने बताउँछन् ।
पोखरेलले रातोपाटीसँग भने, ‘विशेष महाधिवेशनले विधान सदस्य सम्बन्धी व्यवस्था संशोधन गरेको कुरा त मैले कतै पनि देखिनँ । अहिले क्रियाशील सदस्यताको विषयमा भएका काम नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट संशोधित विधानसँग मिल्दैन ।’
इतर समूहका नेताहरूले क्रियाशील सदस्यता अध्यावधिकलाई गणितीय खेल भनिरहेका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनपछि बनेको गगन थापा नेतृत्वको कार्यसमितिबिचको यो द्वन्द्वले पार्टीलाई भावनात्मक रूपमा विभाजित गरिसकेको छ । नेताहरू सहमतिको साटो सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिरहेका छन् ।
सदस्यता नवीकरण र अभिलेखीकरण नितान्त प्रशासनिक र प्रक्रियागत काम हुन् । यस्ता काम कर्मचारी र पार्टीको सचिवालयले गर्ने हो, तर यसमा पार्टीका शीर्ष नेताहरू र महामन्त्रीहरू नै बाझाबाझमा उत्रिरहेका छन् । प्रशासनिक र प्रक्रियागत काममा नेताहरूले राजनीति घुसाएर विवाद झन् बल्झाउने काम गरिरहेको कांग्रेसको निर्वाचन समितिका रहेर काम गरिसकेका पोखरेल पनि स्विकार्छन् ।
पुरानो सदस्यता अध्यावधिक गर्ने काम महामन्त्रीको अथवा कुनै पदाधिकारीले नभई केन्द्रीय कार्यालयको रहेको उनले बताए ।
नेतृत्वले इतर पक्षका आशंकालाई सम्बोधन नगरी ‘डिजिटल इन्ट्री’ लाई मात्रै अन्तिम सत्य मानेमा कांग्रेसमा विवाद थप बढ्ने देखिन्छ । त्यही विवाद बढाउनका लागि इतर समूहले सदस्यता अध्यावधिक गरेका छैनन् र एउटा महाधिवेशनका लागि नवीकरण गरिसकेपछि अर्कोपटक अध्यावधिक गर्नु उपयुक्त नभएको बताइरहेका छन् ।
इतर समूहका नेताहरू पार्टी कम्प्युटरको सफ्टवेयरले होइन, कार्यकर्ताको निष्ठा र विश्वासले चल्ने तर्क गर्छन् । संस्थापन पक्ष भने सदस्यताको रेकर्ड डिजिटल गर्नु समयको आवश्यकता रहेको बताउँदै आएको छ ।
जे होस्, क्रियाशील सदस्यताका सन्दर्भमा पार्टीको संस्थापन पक्षले चालेको कदमलाई पार्टीभित्रकै एउटा पक्षले अस्विकार गरेर चुनौती दिइरहेको अवस्था छ भने अर्कोतिर प्रतिनिधि सभा निर्वाचनमा पराजित भएर निराश बनेका कार्यकर्ता पङ्क्तिलाई पनि सदस्य सङ्ख्यामा कटौती देखाएर थप निराश बनाउने काम भएको छ । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचन, सोही वर्ष हुने प्रदेश सभा निर्वाचनमा कार्यकर्ताको हौसला बढाउनु पर्ने, संगठनको साइज (आकार) बढाउनु पर्ने अवस्थाका बाबजुद नेतृत्वले ९ लाखको हाराहारीमा पुग्नुपर्ने सदस्यता सङ्ख्यालाई ६ लाखमा सीमित गरेर पार्टी पङ्क्तिलाई कस्तो सन्देश दिन खोजेको हो भन्ने प्रश्न शुभेच्छुकहरूले उठाइरहेका छन् ।
आन्तरिक विवादलाई समाधान गरिसकेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्ने, सोही अनुसार जिम्मेवारी बाँडफाँट गरेर निर्वाचन तथा महाधिवेशनको तयारीमा जुटेको भए प्रभावकारी हुन्थ्यो भन्ने मत पनि कांग्रेसभित्र ठुलो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
-
रास्वपा महाधिवेशनमा खानाको मेन्यू : च्याउ, पापड, आलुदेखि खसीको मासुसम्म (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण