अद्यावधिकको म्याद सकियो, शीर्ष नेताहरू नै छुटे
सारांश
- नेपाली कांग्रेसको क्रियाशील सदस्यहरूको 'डिजिटल अद्यावधिक' गर्ने म्याद सकिएको छ।
- निर्धारित समयभित्र कुल क्रियाशील सदस्यमध्ये करिब ६८ प्रतिशतले मात्र 'एनसीआईडी' प्राप्त गरेका छन्।
- निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका अधिकांश शीर्ष नेताहरूले सदस्यता 'डिजिटल अद्यावधिक' गरेका छैनन्।
काठमाडौँ । नेपाली कांग्रेसले गत वैशाख १ गतेबाट सुरु गरेको पार्टीका नवीकरण गरेका क्रियाशील सदस्यहरूको ‘डिजिटल अद्यावधिक’ गर्ने समय गएराति १२ बजेबाट सकिएको छ।
निर्धारित समयभित्र अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ५ लाख ३८ हजार ६२२ जनाले ‘एनसीआईडी’ प्राप्त गरिसकेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्। गत पुस २२ गतेसम्म जिल्ला–जिल्लाबाट नवीकरण र प्रतिनिधिसभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता लिएकालाई अद्यावधिक गर्न योग्य मानिएको थियो।
विज्ञप्तिका अनुसार १ लाख ४९ हजार ३०९ जना अद्यावधिक फारम भरेर अद्यावधिक हुने प्रक्रियामा छन्। फारम भरिसकेकालाई पनि ‘एनसीआईडी’ कार्ड दिने काम प्रक्रिया पुर्याएर गरिने क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
म्याद सकिए पनि निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका पूर्वपदाधिकारीसहितका अधिकांश शीर्ष नेताहरूले सदस्यता ‘डिजिटल अद्यावधिक’ गरेका छैनन्। देउवा, डा. कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिहरू धनराज गुरुङ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, डा. प्रकाशशरण महत, किशोरसिंह राठोर, बद्री पाण्डेलगायतका यसअघि पटक–पटक केन्द्रीय सदस्य भएका शीर्ष नेताहरूले सदस्यता अद्यावधिक गरेका छैनन्।
पार्टीमा लामो समय काम गरेका अग्रज नेताहरूले सूचना नपुगेर नभई अद्यावधिक गर्न नचाहेर नगरेको देखिएको महामन्त्री पौडेलले बताए। उनले अहिलेसम्म सदस्यता ‘डिजिटल अद्यावधिक’ नगरेका पुराना र वरिष्ठ नेताहरू समावेश हुन चाहेमा समेटिने बताए। ‘राजनीतिक विषय बनाइएको कारणले केही साथीहरू अद्यावधिकमा समेटिन चाहनुभएको छैन,’ समिति संयोजकसमेत रहेका महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘अद्यावधिकका लागि उहाँहरूकै सहमति र आग्रह भयो भने समावेश गर्न सकिन्छ। त्यसमा हामी तयार छौँ।’

सदस्यता अद्यावधिकमा आफूहरूको छुटाउने मनस्थिति नरहेको तर राजनीतिक विषय बनाएर आफैँ छुटेको पौडेलको भनाइ छ। ‘हाम्रो छुटाउने मनसाय हुँदै होइन, राजनीतिक विषय बनाएर आफैँ छुट्नुभयो,’ पौडेलले भने, ‘उहाँहरू सदस्यता अद्यावधिकमा समावेश हुन चाहनुहुन्छ भने वातावरण बनाउनेछौँ।’
आफूहरूले लाखौँ सदस्यहरूको डिजिटल कनेक्टिभिटीको पूर्वाधार निर्माणमा पार्टीका सबै वरिष्ठ नेता साथीहरूबाट सहयोगको अपेक्षा गरे पनि त्यो नपाएको पौडेलले बताए। ‘पार्टीले आफ्ना सदस्यको अद्यावधिक गर्ने कुराले पार्टीलाई नै लाभ पुर्याउँछ। लाखौँ सदस्यहरूको डिजिटल कनेक्टिभिटीको पूर्वाधार निर्माण गर्ने कुरा सामान्य थिएन। यसमा पार्टीका सबै वरिष्ठ नेता साथीहरूबाट सहयोगको अपेक्षा गरेका थियौँ,’ पौडेलले भने, ‘सदस्यता अद्यावधिक गर्ने विषय आन्तरिक विवादको विषय बन्नु हुँदैनथ्यो, बन्यो। राजनीतिक विषय बन्नु हुँदैनथ्यो, बन्यो।’
इतर समूहका नेताहरूले भने पार्टीका सदस्यहरूले १५औँ महाधिवेशनका लागि भन्दै क्रियाशील सदस्यता नवीकरण गरिसकेकाले पुनः अद्यावधिक गर्ने विषयलाई अनिवार्य गराउन नहुने सर्त राखेका छन्। त्यसलाई काउन्टर दिन अद्यावधिक नगर्नेले १५औँ महाधिवेशनमा भाग लिन नपाउने निर्णय कांग्रेस संस्थापनले गरिसकेको छ।
देउवा समूहका नेता एवं पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यहरूलाई पुनः अद्यावधिक गर्नैपर्ने निर्णय अव्यावहारिक रहेको बताउँछन्। ‘एउटा महाधिवेशनका लागि सदस्यता नवीकरण गरिसकेपछि फेरि अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्छ। त्यो पनि आफ्नै वडामा पुगेर भन्नु व्यावहारिक हुँदैन, अनिवार्य नगरौँ भनेका हौँ,’ डा. महतले भने।

महतले बिहीबार बिहान आफ्नै निवास बाँसबारीमा पत्रकारहरूसँग कुराकानी गर्दै अद्यावधिक गर्ने कार्यको आफूहरू विरोधी नभएको तर, नवीकरण गरिसकेका सदस्यको स्वतः अद्यावधिक हुनुपर्ने व्यवस्था पार्टी केन्द्रीय कार्यालयबाट गरिनुपर्ने बताए। ‘समयसापेक्ष रूपमा अद्यावधिक गर्नुपर्छ। अद्यावधिक गर्ने कार्यको हामी विरोधी होइनौँ,’ डा. महतले भने, ‘तर, एक पटक नवीकरण गरिसकेको व्यक्ति फेरि अद्यावधिकका लागि आफ्नै वडामा पुग्नुपर्ने नियम अव्यावहारिक भयो। नवीकरण भइसकेकालाई केन्द्रीय कार्यालयले स्वतः अद्यावधिक गरिदेओस्।’
डा. शेखर कोइरालाले केही दिनअगाडि विज्ञप्ति नै जारी गरेर पार्टीको एकता कायम राख्न ५ प्रस्ताव अघि सारेका थिए। त्यो प्रस्तावको पहिलो बुँदामा नै ‘१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने’ भन्ने विषय उल्लेख छ।
गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समिति र सभापतिको असहमतिबीच भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसमा विवाद चर्किएको छ। गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनले चयन गरेको कार्यसमितिले विशेष महाधिवेशन अघिसम्म क्रियाशील सदस्य कायम रहेकाले १५औँ महाधिवेशनका लागि अनिवार्य ‘डिजिटल अद्यावधिक’ गर्नैपर्ने निर्णय गरेपछि त्यसको देउवा र शेखर समूहले प्रतिवाद गर्दै आएका छन्। उनीहरूले अद्यावधिक अनिवार्य नगर्न आग्रह गर्दै अनिवार्य गरिएमा अद्यावधिक नगर्ने बताउँदै राजनीतिक प्रतिष्ठाको विषय बनाएका छन् र अद्यावधिक गरेका छैनन्।
पार्टीका सदस्यको डिजिटल रेकर्ड राख्ने विषय राजनीतिक विषय नभई प्राविधिक विषय भएको भन्दै क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक पौडेलले पार्टीका सदस्यको ‘स्टाटस’ के हो भन्ने विषय एक क्लिकमा हेर्न मिल्ने बनाउनुलाई अन्यथा लिन नहुने बताउँछन्। तर, इतर समूहले भने अप्ठ्यारो पार्नका लागि संस्थापनले यो रणनीति अख्तियार गरेको भन्दै विरोध गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेतीको समयमा मल नपाएको भन्दै एमाले सांसद राईद्वारा सरकारको आलोचना
-
राष्ट्रिय गुप्तचर प्रमुखमा ट्रम्पले गरे जे क्लेटनलाई मनोनयन
-
रियान परागको दायाँ काँधको शल्यक्रिया सफल, केही समय मैदान बाहिर रहने
-
सन् २०२७ को क्रिकेट विश्वकपको मिति तय : १४ टोली भिड्ने, दक्षिण अफ्रिकाले धेरै खेल आयोजना गर्ने
-
लागुऔषधसहित ३३ जना पक्राउ
-
गोदावरी नदीमा बगेर दुई महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण