डेढ लाख ऋण, चार लाख तिरिसक्दा पनि सकिएन अनि त्यागिन् प्राण
सारांश
- विराटनगरकी ५५ वर्षीया शान्तिदेवी महतोले छोरीको उपचारका लागि लिएको १ लाख ५० हजार ऋणको मिटरब्याजका कारण ४ लाख ६५ हजार बुझाउँदा पनि जग्गा फिर्ता नपाएपछि आत्महत्या गरिन् ।
- साहुले जग्गा हडपेपछि न्याय माग्न सरकारी निकायमा निवेदन दिए पनि सुनुवाइ नहुँदा र धम्की पाएपछि उनले ज्यान त्यागेकी हुन् ।
- शान्तिदेवीको मृत्युपछि आफन्त र छिमेकीहरू मिटरब्याजीलाई कारबाही र जग्गा फिर्ताको माग गर्दै आन्दोलनरत छन् ।
विराटनगर । विराटनगर–१४ महतो टोलकी ५५ वर्षीया शान्तिदेवी महतोका सात छोरी छन् । ती सातै छोरीकी आमाको प्राण गएको छ । छोरीहरको भरोसा टुटेको छ । ११ वर्षअघि माइली छोरी सोनीको खुट्टा भाँचिएपछि उपचारका लागि उनले लिएको १ लाख ५० हजार ऋण नै उनको लागि काल बन्यो ।
सो ऋणको ‘मिटरब्याज’ले उनलाई संकटमा धकेल्यो । उनले दुःख जिलो गरेर कमाएको ४ लाख ६५ हजार रुपैयाँ पनि तीनै मिटरब्याजीले खाइदिए । भएको १० धुर जग्गा र फुसको छानो भएको घर पनि खाने भएपछि उनले प्राण त्याग्ने बाटो रोजिन् र उनले आत्महत्या गरिन् ।
शान्तिदेवीको घरमा अहिले सन्नाटा र रुवाबासी छ । ११ वर्षअघि माइली छोरी सोनीको भाँचिएको खुट्टा जोड्न उनले ११ असोज २०७२ मा स्थानीय अम्बिका भनिने अमरिका कुमारी रायसँग ५ प्रतिशत ब्याजमा १ लाख ५० हजार रुपैयाँ ऋण लिइन् । छोरीको उपचारका लागि छटपटिएकी शान्तिदेवीले साहुको सर्त अनुसार आफ्नो नाममा रहेको कित्ता नम्बर ३४४६ को १० धुर जग्गा रायको नाममा पास गरिदिइन् ।
शान्तिदेवीले समयक्रममा रायलाई ९० हजार रुपैयाँ ब्याज मात्र बुझाइसकेकी थिइन् । तर, रायले जग्गा फिर्ता गर्नुको साटो १४ असार २०७३ मा विराटनगर–१४ कै श्री नारायण गुप्ताकी पत्नी सुन्दरी गुप्ताको नाममा १ लाख ५० हजारमै सो जग्गा बिक्री गरिदिइन् ।
आफ्नो एकमात्र जायजेथा अरूकै नाममा पुगेको थाहा पाएपछि शान्तिदेवी झन् आत्तिइन् । उनले विभिन्न सहकारीबाट ऋण खोजेर नारायण गुप्तालाई पैसा बुझाउन थालिन् । यस अवधिमा उनले ४ लाख ६५ हजार रुपैयाँ बुझाइसकेकी थिइन् । ‘हामीले दुःखजिलो गरेर पटक–पटक गरी साढे ४ लाखभन्दा बढी तिरिसक्यौँ,’ शान्तिदेवीकी छोरी सोनीले भनिन्, ‘तर पैसा बुझिसक्दा पनि नारायणले जग्गा फिर्ता गर्न मानेनन्, उल्टै हामीविरुद्ध अदालतमा मुद्दा हालेर दुःख दिए ।’
शान्तिदेवीले आफू अन्यायमा परेको भन्दै २०८० साल वैशाख ८ गते अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगमा लिखित निवेदन दिएकी थिइन् । ‘साहुले जग्गा हडप्यो, मलाई न्याय दिनुहोस्’ भनेर उनले राज्यलाई गुहार मागेकी थिइन् । तर गरिबको त्यो निवेदन सरकारी दराजमै थन्कियो । राज्य संयन्त्रले उनको पीडा सुन्नुअघि नै मिटरब्याजीको धम्की उनको घरसम्म आइपुग्यो ।
गत जेठ ६ गते दिउँसो ३ बजेतिर नारायण गुप्ता, उनकी पत्नी सुन्दरी र छोरा अमन गुप्ता शान्तिदेवीको घरैमा पुगे । उनीहरूले तत्काल जग्गा खाली गर्न र नगरे जे पनि हुनसक्ने भन्दै ज्यान मार्ने धम्की दिए । साहुको त्यो निर्मम व्यवहारले आफ्नो परिवारको उठीबास लाग्ने निश्चित भएपछि विक्षिप्त बनेकी शान्तिदेवीले भोलिपल्टै जेठ ७ गते बिहान ३ बजेतिर आफ्नै घरमा झुन्डिएर देहत्याग गरिन् । छोरी सोनीले आमालाई डोरीमा झुन्डिएको अवस्थामा देखेपछि घरमा कोलाहल मच्चिएको थियो । ‘उनीहरू दिउँसो आएर हामीलाई काट्छु मार्छु भन्दै धाक धम्की दिए । घर जग्गा खाली नगरे जे पनि हुन्छ भने,’ शान्तिदेवीकी छोरी सोनीले भनिन्, ‘त्यसपछिको राति त ममीले त्यस्तो गर्नुभयो ।’
छिमेकी बिन्धु महतो भन्छन्, ‘१ लाख ५० हजारको साढे ४ लाख तिरिसक्दा पनि जग्गा फिर्ता नपाउनु कुन न्याय हो ? मृतकका ७ मध्ये ३ छोरी अझै अविवाहित छन्, उनीहरूको पठनपाठन र भविष्य अब कसले हेर्ने ?’
विराटनगर–१४ का वडाअध्यक्ष सूर्य नारायण महतो पनि यो घटनाबाट मर्माहत छन् । ‘‘हामीले कति भन्यौँ, गरिबमाथि यसरी अत्याचार गर्नुहुँदैन भनेर । तर श्रीनारायणले हाम्रो कुरै सुन्दैन । अहिले आएर विपन्न नागरिकले यसरी ज्यान गुमाउनुपर्यो,’ उनले भने ।
शान्तिदेवीको मृत्युपछि आफन्त र छिमेकीहरू असार ८ देखि निरन्तर आन्दोलनमा छन् । जिल्ला प्रशासन कार्यालय मोरङको मूलगेटमा धर्ना दिँदै उनीहरूले मिटरब्याजीलाई कडा कारबाही र हडपिएको जग्गा फिर्ताको माग गरेका छन् ।
पीडित परिवारले दिएको आत्महत्या दुरुत्साहन मुद्दाको जाहेरीका आधारमा प्रहरीले नारायण गुप्ता र उनका छोरा अमनलाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी कविता कटुवालका अनुसार असार ८ मा मोरङ अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
सुन्दरीदेवीलाई भने स्वास्थ्य अवस्थाको कारण हाजिर जमानतमा छोडिएको छ । यद्यपि उनलाई पनि प्रतिवादी बनाइने प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले मिटरब्याजी सुन्दरी गुप्ताकै पक्षमा फैसला गरेको कारण केही गर्न नसकेको बताउँछन् ।
मिटरब्याज पीडित अभियान्ताहरुले यस घटनाका दोषी गुप्ता परिवारलाई कारबाही हुनुपर्ने, शान्तिदेवीको जग्गा फिर्ता हुनुपर्ने र उनका छोरीहरुको आधारभूत आवश्यकता पूरा हुने गरी क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन अभियानका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले जिल्ला प्रशासन कार्यालयले बेलैमा निवेदनको छानबिन नगरिदिएको कारण शान्तिदेवीको ज्यान गएको बताए । सरकार फेरिए पनि अवस्था उस्तै रहेको भन्दै पीडितहरूले दिलाउन दबाब दिनुपर्नेमा जोड दिए ।
_eyblRhoFR7.jpg)
_PFK2d5lUBa.jpg)
_3msOGj8zxb.jpg)
_l3THS2UHvq.jpg)
_VceKIJbi1y.jpg)
_Symy8X67OU.jpg)
_b2F0AewXyW.jpg)
_dwc8B6ZKNc.jpg)
_j4lS1EizvO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण