सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राष्ट्रियसभा बैठक

‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’

सोमबार, १५ असार २०८३, १९ : ४५
सोमबार, १५ असार २०८३

सारांश

  • नेकपाका सांसद नरबहादुर विष्टले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भएको बताएका छन् ।
  • उनले प्रधानमन्त्री कार्यालयमा संवैधानिक अङ्गका प्रमुखहरूलाई बोलाएर गाली गर्ने, मानवअधिकारवादी आयोगलाई धम्क्याउने र थर्काउने काम भइरहेको आरोप लगाए ।
  • सांसद विष्टले सरकार सुशासन, जनजीविका, सहकारी ठगी, बालबालिकाको पार्टी सदस्यता, राहदानी प्रकरण र महँगी नियन्त्रणमा असफल भएको दाबी गरे ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भएको बताएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै नेकपाका सांसद नरबहादुर विष्टले प्रधानमन्त्री कार्यालयको कार्यशैलीलाई ‘हिटलरको ग्यास च्याम्बर’ सँग तुलना गरेका हुन् ।

‘प्रधानमन्त्री कार्यालय एउटा जर्मन हिटलरको ग्यास च्याम्बर जस्तै बनेर त्यहाँ संवैधानिक अङ्गका प्रमुखहरूलाई बोलाएर गाली गर्ने, मानवअधिकारवादी आयोगलाई धम्क्याउने र थर्काउने काम भइरहेको छ,’ उनले भने । 

रक्षामन्त्री समेत रहेका प्रधानमन्त्रीलाई भेट्न आएका प्रधानसेनापतिलाई तीन घण्टासम्म कुराएर फर्काइएको घटनाले सरकारको अपरिपक्वता झल्काएको उनको तर्क थियो ।

प्रशासनिक फजुल खर्च र मन्त्रीका सल्लाहकारहरूको नियुक्तिप्रति पनि उनले प्रश्न उठाए । ५७ जनालाई सचिव सरहको सुविधा दिएर मन्त्रीको सचिवालयमा भित्र्याउने तयारी भएको सुनिएको भन्दै राज्यको ढुकुटी सिध्याउने काम भइरहेको बताए । 

सांसद विष्टले सरकार सुशासन र जनजीविकाका सवालमा पूर्णतः असफल भएको दाबी गरे ।  उनले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीका सम्बन्धमा एउटा कवितासमेत सुनाए ।  ‘बनेको छ जालझेलले त्यो तिम्रो पार्टी, बगेको छ गरिबको रगत त्यो तिम्रो अत्याचारले । ठगेको सहकारीले त्यो तिम्रो लाज छोपिने छैन,’ विष्टले भने ।  सहकारी ठगी र गरिबको रगत पसिनामाथि भइरहेको खेलबाडप्रति सरकार उदासीन रहेको उनको आरोप थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै विष्टले १८ वर्ष मुनिका ३५ हजार बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै आपत्ति जनाए । ‘यो कुन पार्टी हो र कुन जातले बनेको पार्टी हो, कसैलाई थाहा छैन,’ उनले भने । रास्वपाको महाधिवेशनमा भएको मतदान प्रक्रिया र आन्तरिक लोकतन्त्रमाथि पनि उहाँले व्यङ्ग्य गरे । 

कूटनीतिक क्षेत्रमा पनि सरकार असफल भएको दाबी गर्दै उनले पासपोर्ट प्रकरणमा जर्मनीले नेपालको दूतावासलाई बोलाएर कडा प्रतिक्रिया दिएको सन्दर्भ उल्लेख गरे । देशमा महँगी बढेको, किसानले मलबीउ नपाएको र विद्यार्थीले पुस्तक नपाएको अवस्थामा सरकार सुशासनको रटानमा मात्र व्यस्त रहेको उनको आरोप थियो ।

सांसद विष्टले २०७२ को संविधानलाई निकम्मा बनाउने षड्यन्त्र भइरहेको भन्दै त्यसको रक्षाका लागि सबै नेपाली सतर्क हुनुपर्नेमा जोड दिए । सरकारले फेसबुकमा स्टाटस लेखेर र अरूलाई गाली गरेर मात्र देश नबन्ने भन्दै राजनीतिक र कूटनीतिक संवादमार्फत समस्याको समाधान खोज्न सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप