सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
सारांश
- इंग्ल्याण्डले फिफा विश्वकप २०२६ को अन्तिम ३२ को प्रतिस्पर्धामा कंगोलाई २-१ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।
- खेलको सातौँ मिनेटमा कंगोका ब्रायन सिपेङ्गाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
- कप्तान ह्यारी केनले ७५औँ र ८६औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाए।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्याण्ड अर्को चरणमा प्रवेश गरेको छ। यस हारसँगै कंगो प्रतियोगिताबाट बाहिरिएको छ ।
एटलान्टा स्टेडियममा भएको खेलको ७ औँ मिनेटमै डीआर कंगोका ब्रायन सिपेङ्गाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । चान्सल म्बेम्बाको पासलाई सदुपयोग गर्दै सिपेङ्गाले बक्सको देब्रेतर्फबाट प्रहार गरेको बल इङ्गल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डलाई जिल्याउँदै पोष्टको नजिकैबाट गोलमा परिणत भएको थियो । सिपेङ्गाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
त्यसपछि खेलमा फर्कन इङ्गल्याण्डले निकै संघर्ष गर्नुपऱ्यो। पहिलो हाफमा जुड बेलिङ्घमका दुई उत्कृष्ट हेडर र ह्यारी केनको प्रहारलाई कंगोका गोलकिपर लियोनेल म्पासीले बचाए। यसैबीच, नोनी माडुएकेको पासमा मार्कस रासफोर्डले प्रहार गरेको बललाई आरोन वान-बिसाकाले गोललाइनबाट क्लियर गरिदिए। अर्कोतर्फ, कंगोका योआन विसाको प्रहार पोष्टमा लागेर फर्किएपछि कंगोले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो ।
प्रशिक्षक थोमस टुचेलले विङ्गरहरूमा गरेको परिवर्तनपछि इङ्गल्याण्ड खेलमा फर्किएको थियो । ७५औँ मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी गोर्डनको क्रसमा कप्तान ह्यारी केनले हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
खेलको ८६औँ मिनेटमा केनले पुनः व्यक्तिगत दोस्रो तथा निर्णायक गोल गरे । डिफेन्डरलाई छक्याउँदै उनले बक्स भित्रबाट गरेको प्रहार सिधै पोष्टमा छिरेको थियो । यो केनको विश्वकप इतिहासको १३औँ गोल हो ।
यस जितसँगै इङ्गल्याण्डले विश्वकपमा अफ्रिकी देशहरूविरुद्ध अपराजित रहने आफ्नो कीर्तिमानलाई १० खेलसम्म कायम राखेको छ। अब इङ्गल्याण्डले आगामी जुलाई ६ मा मेक्सिको सिटी स्टेडियममा सह-आयोजक मेक्सिकोसँग अन्तिम १६ को खेल खेल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण