बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

लगातार तेस्रो दिन पनि घट्यो तेलको मूल्य

बिहीबार, १८ असार २०८३, १४ : ३२
बिहीबार, १८ असार २०८३

काठमाडौँ । विश्व बजारमा कच्चा तेलको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । 

अमेरिका र इरानबिच कतारको दोहामा भएको अप्रत्यक्ष वार्तामा केही प्रगति भएको समाचारपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार तेस्रो दिन घटेको हो ।

बिहीबार कारोबारका क्रममा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य करिब १ दशमलव १ प्रतिशतले घटेर प्रतिब्यारेल ७० डलर ७८ सेन्टमा आएको थियो। 

त्यस्तै अमेरिकी बेच्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई)को मूल्य पनि १ दशमलव २ प्रतिशतको कमी सहित प्रति ब्यारेल ६७ डलर ७४ सेन्टमा ओर्लिएको थियो । अघिल्लो दिन पनि दुवै सूचकमा एक प्रतिशतभन्दा बढीले घटेका थिए ।

कतारको विदेश मन्त्रालयका अनुसार अमेरिका र इरानबिचको वार्तामा स्ट्रेट अफ हर्मुजसँग सम्बन्धित विषयमा सकारात्मक प्रगति भएको छ ।

यद्यपि, दीर्घकालीन शान्ति स्थापनातर्फ भने कुनै ठोस सहमति भएको सङ्केत देखिएको छैन । विश्लेषकहरूका अनुसार हर्मुज जलमार्ग खुला रहेर तेल आपूर्ति निरन्तर भइरहेकाले बजारमा आपूर्ति बढ्ने अपेक्षा बलियो बनेको छ। 

यसले तेलको मूल्यमा दबाब परेको छ । यसैबिच, पेट्रोलियम निर्यातकर्ता देशहरूको समूह ओपेक र समूह बाहिरका प्रमुख तेल उत्पादकहरूको संयुक्त समूह ओपेक प्लसका सदस्य राष्ट्रहरूले आगामी अगस्टदेखि तेल उत्पादन थप बढाउने सम्भावना रहेको स्रोतहरूले जनाएका छन् । यसले पनि मूल्य घट्न थप सहयोग गरेको विश्लेषण गरिएको छ ।

विश्वव्यापी लगानी बैंक यूबीएसले पनि अमेरिका–इरान समझदारी र हर्मुज जलमार्गबाट तेल ढुवानी बढेको अवस्थालाई ध्यानमा राख्दै ब्रेन्ट कच्चा तेलको मूल्यसम्बन्धी आफ्नो पूर्वानुमान घटाएको छ। 

बैंकका अनुसार सेप्टेम्बर त्रैमासिकको लागि ब्रेन्टको औसत मूल्य पूर्वानुमान २५ डलर र डिसेम्बर त्रैमासिकको लागि १० डलरले घटाएको छ । बैंकले अब वर्षको दोस्रो अर्धवार्षिक अवधिमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल औसत ८० डलर र २०२७ मा ७५ डलर हुने अपेक्षा गरेको छ।

यद्यपि यूबीएसले फारसी खाडीमा जाने तेल ट्याङ्करहरूको संख्या अझै पूर्ण रूपमा सामान्य भइनसकेको उल्लेख गर्दै भविष्यमा मूल्य पुनः बढ्न सक्ने जोखिम कायमै रहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप