शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
कांग्रेस राजनीति

देउवा समूहको निष्कर्ष : संस्थापन पार्टी एकतामा गम्भीर छैन

‘एकताको सम्भावना क्षीण’
शुक्रबार, १९ असार २०८३, २० : ३३
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्ष पार्टी एकता कायम गर्ने विषयमा गम्भीर(सिरियस) नदेखिएको निष्कर्ष निकालेको छ। 

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शुक्रबार दिउँसो बसेको समूहका शीर्ष नेताहरूको बैठकले संस्थापनले पार्टीमा एकता गर्ने खालका गतिविधि नगरेको निष्कर्ष निकालेको हो।

बैठकमा सहभागी नेता डा.प्रकाश शरण महतले बैठकमा बोल्ने नेताहरूले संस्थापन पक्ष पार्टी एकताका लागि सिरियस नभएको निष्कर्ष निकालेको बताए। 

उनले भने, ‘धारणा राख्ने सबै साथीहरूले संस्थापन एकताका लागि सिरियस नभएको बताउनुभयो । कसरी अगाडि बढ्ने भन्ने विषयमा असार २२ गते सुनदेवीमा खोल्न लागिएको पन्ध्रौँ महाधिवेशनका लागि सम्पर्क कार्यालय उद्घाटनपछि त्यही बैठक बसेर तय गरिन्छ।’

शेखर कोइराला समूह पनि संस्थापन एकताका लागि सिरियस नदेखिएको आफूहरूसँगको कुराकानीमा बताउने गरेको नेता महतले बताए । आजको बैठकको निष्कर्षबारे डाक्टर कोइरालासँग पनि कुराकानी गरिने उनको भनाइ छ ।

अर्का नेता मीन विश्वकर्माले पनि पार्टीमा एकताको सम्भावना क्षीण बन्दै गएको तर प्रयास भने जारी रहेको बताए । ‘संस्थापनका गतिविधि हेर्दा एकताको सम्भावना क्षीण भएको जस्तै देखिन्छ तर प्रयास भने अहिलेसम्म जारी छ,’नेता विश्वकर्माले भने ।

निवर्तमान कार्यवाहक सभापति खड्काको सभापतित्वमा बसेको बैठकमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला,डाक्टर शशांक कोइराला, महालक्ष्मी उपाध्याय(डिना), रमेश लेखक, एनपी साउद, आनन्द ढुङ्गानासहितका नेताहरू सहभागी थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप